शिक्षक पेसा नै छाडेर गाउँमै गाईपालन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ श्रावण २०७२, सोमबार १८:१७


दैलेख । पुर्खौंदेखि भैँसी पालेका बेलपाटा–३ का दीपक पराजुलीले बेचेर अहिले उन्नत जातका गाईपालन गर्नुभएको छ । उहाँले भैँसीपालेर आम्दानी लिन नसकेपछि गाईपालन गर्नुभएको हो । दीपकले प्राथमिक तहको शिक्षक पेसा नै छाडेर गाउँमै दुई जर्सीगाई पालेर व्यवसाय सुरु गर्नुभएको हो ।
भैँसी पालेका उहाँले दुःख बढी हुने तर आम्दानी कम हुने भएकाले परिवार पाल्न निकै समस्या हुने गरेको बताउनुभयो । गाईले भैँसीले भन्दा बढी दूध दिन थालेपछि आफूले यो व्यवसाय नै रोजेको उहाँको भनाइ छ । “सहकारीमार्फत दूध खपत हुन लागेपछि खर्च छाडेर मासिक रु १० हजार बचत गर्ने गरेको छु” पराजुलीले भन्नुभयो । यहाँ परम्परागत रुपमा पालिँदै आएको स्थानीय जातको भैंसीको ठाउँमा  उन्नत जातको गाई जिल्लामा भित्रिन थालेपछि भैँसीपालनतर्फ किसान कम आकर्षण भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।
गोबर र गहुँतका लागि स्थानीय जातका गाई र भैँसी पाल्दै आएका तर, दुःख बढी आम्दानी कम हुने भएको हुँदा यहाँका किसान उन्नत गाईपालन व्यवसायमा आकर्षित भएका हुन् । नारायण नगरपालिकालगायत विभिन्न गाविसमा किसानले केही वर्षअघि चितवनबाट जर्सी र कामधेनु जातका गाई भित्रयाएका थिए । बेलापाटाका किसानले सहकारीमार्फत आफूले उत्पादन गरेको डेरीबाट दूध दैलेख बजारमा खपत हुने किसानले बताएका छन् । गाउँमा प्रायःजसो घरमा जर्सी गाई पालेकाले चुप्रा बजार नजिकको बजारको नाम नै ‘जर्सी चोक’ राखिएको छ ।
जिल्लामा पहिलोपटक नारायण नगरपालिकासहित बेलपाटा र डाँडापराजुलका १७ किसानको घरमा जर्सीगाई भित्रिएपछि व्यवसायका रुपमा दैलेखका अन्य गाविस र नगरपालिकामा फैलिएको हो । सदरमुकाममा दूधको अभाव भइरहेका बेला उन्नत जातका गाई भित्रिएपछि अभाव कम भएको छ । गाईपालन गर्न जिविस, पशुसेवा कार्यालयको अनुदान र कृषि विकास बैंकको ऋण सहयोगमा इच्छुक किसानले चितवनबाट जर्सी र कामधेनु जातका गाई २०६८ सालमा भित्रयाएका थिए ।
परम्परागत पशुपालन व्यवसायबाट जीवनस्तरमा सुधार नभएपछि उन्नत जातको पशुपालनतर्फ किसानको आकर्षण बढेको पशुसेवा कार्यालयको भनाइ छ । दैलेखका अग्ला  लेकमा भैँसी पाल्ने र प्रशस्त मात्रामा दूध दही पाइने भएकाले जिल्लाको नाम दैलेख रहेको समेत किंवदन्तीमा उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१