काठमाडौं,११ साउन । नेपाल भ्रमणका लागि असुरक्षित रहेको प्रतिक्रिया दिने दुई जना जिम्मेवार पर्यटन व्यवसायीलाई सरकारले स्पष्टिकरण सोधेको छ । नेपाल ट्रेकिङ एजेन्टस एशोसियशन(टान)का अध्यक्ष रमेश धमला र नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ छिरिङ शेर्पामाथि राष्ट्रलाई हानी हुने गरी अभिव्यक्ति दिएको भन्दै पर्यटन मन्त्रालयले स्पष्टिकरण सोधेको हो । उनीहरुको अभिव्यक्ति बिबिसी विश्व सेवाको बुलेटिनमा प्रकाशति छ । बिबिसीका वर्यावरण रिपोटर पत्रकार नवीन सिंह खड्काले तयार पारेको समाचारमा उनीहरुले नेपालका प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण ट्रेकिङ रुट सुरक्षित नरहेको भन्दै नेपालमा पर्यटक आउन निरुत्साहित हुने गरी प्रतिक्रिया दिएका छन् । पर्यटन मन्त्रालयले उनीहरुको प्रतिक्रियालाई आपत्तिजनक र राष्ट्रिय हित विपरित भनेको छ । निजी क्षेत्रका पर्यटन व्यवसायीहरुले समेत यसलाई निन्दनीय र गम्भीर प्रतिक्रिया भनेका छन् मन्त्रालयले उनीहरुलाई किन त्यसप्रकारको राष्ट्रिय हित प्रतिकुल हुने गरी अभिव्यक्ति दिएको भन्दै लिखित स्पष्टिकरण सोधेको छ । मन्त्रालयले सोमबार उनीहरुका नाममा चिठ्ठी काटेको छ । । पर्यटन मन्त्रालय अन्तरगतको पर्यटन विभागले पत्रमा–यस खालको अभिव्यक्ति निजी हो कि संस्थागत नै भनेर २४ घण्टाभित्र स्पष्टिकरण मागेको छ । टानकै पूर्व महासचिव राजेन्द्र बजगाईँंले हचुवाका भरमा यस्तो प्रतिक्रिया दिनु अत्यन्तै आपत्तिजनक र गैर जिम्मेवार भएको बताए । राष्ट्रिय हितमा गम्भीर खेलवार्ड हुने गरी प्रतिक्रिया दिएका छन् । यस्ता अभिव्यक्तिले भोलिका दिनमा समेत सार्वजनिक मंचबाट उनीहरुले के बोल्ने हुन् भन्ने शंका पैदा गर्छ । ’ राष्ट्र भुकम्पको क्षतिबाट गुज्रिरहेको समयमा पुनर्निर्माणमा साथ दिएर देश बनाउने कि जथाभावी बोलेर देशलाई थप संकटमा पार्ने भन्ने सबैले सोच्नु पर्ने उनको धारणा छ । सरकारले भुकम्पपछि अन्नपूर्ण क्षेत्रको भौगोलिक अवस्थावारे अन्तराष्ट्रिय रुपमा चर्चित संस्थाको सहयोगमा अध्ययन गरेको थियो । न्यूजिल्याण्डको मियामोटो नामक संस्थाले गहिरो अध्ययन गरेर सो क्षेत्र पदयात्राका लागि सुरक्षित रहेको प्रतिवेदन बुझाएको छ । मियामोटोले हाइटीमा समेत यस्तै अध्ययन गरेको थियो । त्यो संस्थाको व्यवसायिक विज्ञता र विश्वसनीयता उच्च छ । यही विश्वासका आधारमा विश्वका प्रतिष्ठित विमा कम्पनीहरुले उसले गरेको अध्ययन रिपोर्टका आधारमा बिमा गर्न सहज मान्छन् । टान अध्यक्ष धमलाले आफूहरु समेतको सहभागिता बिना यस्ता अध्ययन विश्वसनीय र पूर्ण हुन नसकने प्रतिक्रिया दिएका छन् । उनले विश्वसनीय भौगोलिक अध्ययन रिपोर्ट बिना जोखिम लिएर पर्यटक पठाउन नसक्ने पनि बताएका छन् । पर्वतारोहण संघका अध्यक्ष शेर्पाले प्रतिवेदन अपूर्ण र अविश्सनीय रहेको बताएका छन् । अर्का एव पर्यटन व्यवसायीले भने–व्यक्तिगत विषयलाई राष्ट्रिय स्वार्थको विषयसँंग जोडेर गम्भीर त्रुटी र बेइमानी भएको छ । यस्ता अभिव्यक्तिले कसैको पनि हित हुँंदैन । ’ धमला र शेर्पाले यो रिर्पाटमाथि प्रश्न उठाउँंदै प्रतिक्रिया दिएका छन् । कतिपय व्यवसायीले बिबिसी जस्तो प्रतिष्ठित र लोकप्रिया संञ्चार माध्यमले व्यक्तिगत र गैर जिम्मेवार अभिव्यक्तिलाई प्रमुखता दिएकोमा आश्चर्य प्रकट गरेका छन् । एक जना वरिष्ठ पर्यटन व्यवसायीले भने–नेपाली पत्रकारले यसरी नेपालकै हितमा आघात पर्ने गरी गैर जिम्मेवार प्रतिक्रिया बटुलेको देखेर आश्चर्य लाग्यो । पक्कै पनि बिबिसी जस्तो संस्थाले नेपालको हानी गर्ने चाहना राख्न सक्दैन । ’ टानका पूर्व अध्यक्ष एवं वरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डेले अन्तराष्ट्रिय मान्यता प्राप्त संस्थाको रिपोर्टलाई विवादमा ल्याउन खोज्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण भएको बताए । उनले भने– अन्तराष्ट्रिय संस्थाले दिएको रिपोर्ट हामी सबै पर्यटन व्यवसायीका लागि हर्षित तुल्याउने खालको छ । यसको विरोध गर्नु भनेको व्यक्तिगत कुण्ठा मात्र हो । यस्ता प्रतिक्रियाले राष्ट्रिय हितमाथि कुठाराघात गरेको ठहर्छ । ’
साभार – चक्रपथ खबर
प्रतिक्रिया