अस्पताल प्रहरी घेरामा, डाक्टर हडतालमा, बिरामी रूँदै फर्किए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ जेष्ठ २०७१, सोमबार १६:३३

धरान ,१९ जेठ  । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक तथा कर्मचारी सबै काम छाडेर हडतालमा उत्रेपछि बिरामीको विचल्ली भएको छ। सोमबार पनि आकस्मिक सेवाबाहेकका प्रतिष्ठानका सेवाहरू ठप्प भएका छन्। आन्दोलनका कारण प्रतिष्ठानमा उपचार गराउन आएका सयौं बिरामी उपचार नपाएर रूँदै घर फर्किएका छन्।
image.php_41
नेपाल सरकारले वृद्धि गरेको १८ प्रतिशत तलब र एक हजार भत्ता पाउनुपर्ने माग राखेर प्रतिष्ठानका कर्मचारी, नर्सिङ कर्मचारी, हेल्पर, प्राविधिक कर्मचारी एकसाथ प्रतिष्ठान व्यवस्थापनविरुद्ध आन्दोलनमा उत्रिएपछि प्रतिष्ठान सोमबार पनि तनाउग्रस्त बनेको छ। कर्मचारीले काम छाडेर दैनिक प्रतिष्ठानमा नारा जुलुस र प्रर्दशन गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रतिष्ठानमा पहरा दिरहेको छ। वृद्धि गरिएको तलब माग गर्र्दै एक हप्तादेखि प्रतिष्ठानका कर्मचारी आन्दोलनमा उत्रिएका हुन्। शान्तिपूर्ण आन्दोलन गर्दै आएका प्रतिष्ठानका कर्मचारीलाई प्रतिष्ठान व्यवस्थापन पक्षले शुक्रबार प्रहरी लगाएर धरपकड गरेको भन्दै कर्मचारी स्वतस्फूर्तरुपमा काम छाडेर कडा आन्दोलनमा उत्रिएपछि प्रतिष्ठानले उपलब्ध गराउँदै आएका सम्पूर्ण सेवा ठप्प भएका छन्।

कर्मचारीले प्रतिष्ठानमा उपचार गराउन आएका बिरामीलाई टिकट नकाटिदिएपछि चिकित्सकले समेत बिरामी चेक जाँच गर्न छाडेका छन्। प्रतिष्ठानमा उपचार गराउनका लागि पूर्वाञ्चलका सुनसरी, मोरङ, झापा, पाँ‌चथर, इलाम, धनकुटालगायतका जिल्लावाट आएका बिरामी उपचार नपाएपछि घर फर्किएका छन्। झापादेखि प्रतिष्ठानमा उपचार गराउन आएकी मिरा खनालले प्रतिष्ठानको टिकट काउण्टर नै बन्द भएपछि आफ ू उपचार गराउनबाट बञ्चित भएको बताइन्। त्यस्तै मोरङ मधुमल्लाबाट उपचार गराउन आएकी मुना गिरीले पनि प्रतिष्ठानमा उपचार नपाएको गुनासो गरिन्। हामी अस्पतालमा उपचार पाएर निको भएर जाने उद्देश्यले आउँछौ उनले रूंदै भनिन् तर हामीलाई मानवीय व्यवहार समेत गरिएन।

प्रतिष्ठनमा सोमबार आएका करिब एक हजारभन्दा बढी बिरामीको कर्मचारीले टिकट नकाटि दिएपछि बिनाउपचार फर्किएका छन्। प्रतिष्ठानका रेडियोलोजि सेवा भिडियो एक्सरे, उक्सरे, सिटि स्क्यान, एमाराई, रगत परिक्षण लगायतका सेवा समेत ठप्प भएका छन्। आन्दोलनको अगुवा गरिरहेका कर्मचारी राजन कोइरालाले सिकिस्त विरामीहरुको अवस्थालाई मध्यनजर गर्दै आकस्मिक सेवा सुचारु भइरहेको बताए। उनले प्रतिष्ठानका उपकुलपती बलभद्रप्रसाद दासले शान्तिपूर्ण आन्दोलनलार्य प्रहरी लगाएर धरपकड गर्न लगाएका कारण बाध्य भएर काम छाड्नु परेको बताए। अर्का कर्मचारी निरज पोखरेलले वृद्धि गरिएको तलब उपलब्ध नभएसम्म आन्दोलन नरोकिने बताए। प्रतिष्ठानका उपकुलपती बलभद्रप्रसाद दासले आन्दोलनकारी कर्मचारीसँग वार्ता गरी समाधान निकाल्ने पहल भइरहेको बताए।

प्रतिक्रिया