सर्पले टोकेमा के गर्ने/के नगर्ने ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० श्रावण २०७२, आईतवार १४:२५

 नुवाकोट भद्रटार–७ का केदार गिरी दिनभरी खेतमा काम गरी घर फर्किंदै हुनुहुन्थ्यो । रात परिसकेको थियो । काम गर्दाको थकान, त्यसमाथि रातको समय भएकाले उहाँलाई कतिबेला घर पुगौं भैरहेको थियो । छिटो पुगिने भएकाले उहाँ साघुरो गल्लीको बाटो हुँदै घरतर्फ लाग्नुभयोे । बीच बाटो पुग्दा नपुग्दै माथीबाट सर्प झर्‍यो । भाग्न खोज्दा खोज्दै पनि उहाँ भाग्न सक्नुभएन, सर्पले देब्रे खुट्टामा टोक्यो । सर्पले टोकेको पीडाले उहाँले पिसाव समेत रोक्न सक्नुभएन । पिसावले भिजेको माटोले टोकेको ठाउँमा दल्नुभयो । हातमा कोदाली थियो, त्यसैले सर्पलाई हिर्काउनुभयो । सर्प मारेपछि बल्लतल्ल घर पुग्नुभयो । घर पुगेर नजिकैको स्वास्थ्य केन्द्र भद्रटारमा औषधीका लागि सम्पर्क गर्नुभयो । तर स्वास्थ्यकर्मीले कुकुर, सर्प लगायतले टोकेको औषधी यहाँ छैन राजधानी जानुस् भन्ने जवाफ दिए । दुई दिनपछि मात्र उहाँ उपचारका लागि काठमाडौं आउनुभयो । सर्पदंशको बिगबिगी अहिले बढ्दो गर्मी र बर्षातको समय भएकाले सर्पदंशको बिगबिगी छ । किसान खेतीपातीमा व्यस्त हुन्छन् भने यो बेला सर्पको प्रजनन हुने भएकाले पनि सर्पले टोकेका विरामी बढ्ने गर्छन् । विशेष गरी तराईका जिल्लामा गर्मी र बर्षात्को समय सर्पको टोकाइबाट धेरैजना प्रभावित हुँदै आएका छन् । त्यसमाथि यसपटक भूकम्पका कारण अन्य क्षेत्रमा समेत सर्पदंश बढेको छ । भूकम्पका कारण कतिपय अस्थाई टहरामा बस्नुपर्ने अवस्था छ । यसले पनि जोखिम बढाएको छ । अधिकांश ठाउँमा औषधी अभाव भएकाले विरामीहरु उपचारका लागि काठमाडौं नै आउनुपर्ने बाध्यता छ । दैनिक ७/८ जना सर्पदंशका विरामी आउने गरेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको तथ्याँक छ । अस्पतालका निर्देशक डाक्टर केदार प्रसाद सेन्चुरीका अनुसार सर्पदंशका विरामीहरु पहिले पनि आउँथे र भूकम्प पछि पनि आएका छन् । तर तुलनात्मक रुपमा भूकम्प पछि बिरामी बढेका छन् । सर्पले पनि सुरक्षा खोज्छ सर्पको बासस्थान जमिन भित्रको प्वाल हो । सर्पले पनि सुरक्षा खोज्छन् । कम्पनका कारण सर्प बाहिर निस्किन्छन् । त्यो क्रममा उनिहरुमा पनि कसैले आक्रमण गर्छन् कि भन्ने भान हुन्छ । यसले गर्दा सर्पले मानिस तथा जनावरलाई टोक्ने संभावना बढि हुन्छ । काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा कम विष भएका सर्प पाइन्छ भने तराईमा विषालु सर्प भेटिन्छन् । गोमन, कोब्रा, करेत र भाइपर बढि विषालु हुने डाक्टर सेन्चुरीले जानकारी दिनुभयो । पूर्वी नेपालमा गोमन र पश्चिमी नेपालमा करेतले टोकेका विरामी बढी भेटिन्छन् । यि सर्पले टोक्दा विषको असरले समयमै उपचार नपाए ज्यान समेत जान सक्छ । टेकु अस्पतालमा सर्पको टोकाइका कारण उपचार गर्दा गर्दै ज्यान गुमाएको बिरामी भने छैनन् । तर डराएर आत्तिएर प्राथमिक उपचार गर्दा ध्यान नदिंदा अपाङ्ग हुने संभावना बढि हुन्छ । टोकेको ठाउँमा जे पायो त्यहि लगाउने, कपडाले बढि कस्ने अनि धारिलो हतियारले काट्ने गर्दा समस्या आउँछ । नेपालमा वर्षेनी झण्डै १० हजार सर्पदंशको घटना हुने गरेको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यसमध्ये झण्डै ३० प्रतिशत विषालु सर्पको टोकाइका विरामी हुन्छन् । ६ सय प्रजातिका विषालु सर्पमध्ये नेपालमा झण्डै ८९ प्रजातिका सर्प पाइएको तथ्याँक छ । यसमध्ये पनि १७ प्रजातिका सर्प खतरनाक मानिन्छ । विषालु सर्पले टोकेपछि उपयुक्त एन्टिभेनम र चिकित्सासेवा आवश्यक पर्छ । तर अहिले सर्पल टोकेमा लगाउनुपनृ औषधी एन्टी स्नेक भेनमको देशभरी अभाव छ । कसरी अपनाउने सावधानी
१) रातको समयमा नहिँड्ने, हिँड्नै परेमा टर्च बालेर हिँड्ने २)
सुत्ने ठाउँ, खाट राम्ररी हेरेर सुत्ने सकभर झुल टाँगेर सुत्ने
३) घर वरपर सरसफाई गर्ने, झाडी तथा परालमा काम गर्दा सावधानी अपनाउने
४) हिँड्दा जुत्ता लगाउने, हातखुट्टा राम्ररी छोपिने गरी कपडा लगाउने
५) दुलो, प्वाल भित्र हात नहाल्ने,

घर वरपर भए पुर्ने सर्पले टोकेमा के गर्ने/के नगर्ने ?
१) सम्भव भए कुन सर्पले टोकेको हो जात पहिचान गर्नुस्, यसले गर्दा उपचारमा सजिलो हुन्छ
२) टोकेको ठाउँमा गोबर, माटो दल्ने तथा झारपातको रस हाल्ने नगर्नुस्
३) धारिलो हतियारले काट्ने, रगत निकाल्ने र चुस्ने नगर्नुस्
४) सर्पले टोकेको अंगमा कसेर बाँध्दा थप समस्या आउन सक्छ
५) उपचारमा ढिलाई नगर्नुस्, जतिसक्दो छिटो अस्पताल जानुस्

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१