धर्म र संविधान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ श्रावण २०७२, शुक्रबार १६:१४

06_09_2012-dharmpकाशीनाथ खनाल ।  जनताले आफ्नो संविधान आफैं लेख्ने करिब ६ दशक भन्दा अगाडि देखिको चाहना पूरा होला कि जस्तो अवस्था सृजना भएकोे थियो १६ बुँदे समझदारी पछि । यद्यपी १६ बुँदे सम्म प¥ुयाउनका लागि भूकम्प २०७२ को ठूलो भूमिका छ भन्नेहरूको जमात पनि सानो छैन । जनताको संविधान जनताले नै लेख्ने प्रकृया अनुरुप दुई दुई पटक संविधान सभाको निर्वाचन पनि सम्पन्न भयो । तर चुनिएको संविधान सभाले संविधान लेख्ने प्रकृयाको थालनी सम्म पनि गर्न सकेको थिएन विगत ७ बर्षमा । तर संविधानसँग जनताले बढी नै अपेक्षा गरेको जस्तो पनि देखियो । जस्तो किः संविधान बनेपछि गाउँ मै रोजगारी पाइन्छ, संविधान बनेपछि किसानले खेतबारीमा काम नै नगरी भकारी अन्नले भरिन्छ, गाई भैसीलाई घाँस नै नकाटी कुँडेमा दुध भरिन्छ, विद्यार्थीले पढ्दै नपढी डिग्री हात पर्छ, आदि ।
तर निमुखा नेपाली जनतालाई यो थाहा छैन कि संविधानले मात्र जनताले राखेका यी कुनैपनि अपेक्षा पूरा गर्न सक्तैन । मानिसको जिम्मेवारीलाई स्वयं परमात्मा नै सहायक भएर आएपनि मानिस आफैंले पूरा गर्नु पर्दछ । मानिसले पूरा गर्नुपर्ने जिम्मेवारी मानिसले दुःख पाओस् भनेर दिएको होइन बरु यो त बरदान हो । जुन जिम्मेवारीले नै मान्छे मान्छे भएको हो ।
संविधानको उद्देश्य जनतालाई शन्ति, सुरक्षा, अमनचयन आदि उपलब्ध गराउँदै जनताका आवश्यकताहरू सजिलोसँग पूर्ति हुने वातावरण सृजना गर्नु, जनतालाई अन्यायमा पर्नबाट बचाउनु, असल काम गर्नेलाइ पुरस्कृत गर्नु र खराब काम गर्नेलाई दण्डित गर्नु हो । वास्तवमा भन्ने हो भने कुनै पनि मुलुकको संविधानले राम्रोसँग काम गर्नका लागि त्यहाँका जनता पूर्ण रुपमा असल भएको खण्डमा मात्र सम्भव हुन्छ । समग्रमा संविधानको उद्देश्य भनेकै जनतालाई असल बनाउनु हो ।
अमेरिकाका दोस्रा उपराष्ट्रपति बेन्जामिन फ्रान्क्लिनले “हाम्रो संविधान असल र नैतिकवान व्यक्तिहरूका लागि मात्र हो” भनेका थिए । संविधानकोे उद्देश्य भनेको असल राज्य स्थापना गर्नु नै हो । लोकतन्त्र वा प्रजातन्त्र आजका दिन सम्मको उत्कृष्ठ शासन पद्धति हो भनेर मान्ने गरिन्छ । यसमा मात्र जनताका अधिकार र हकको कुरा गरिन्छ । अन्य शासन व्यवस्थाहरूले जनताका हक र अधिकारको कुरा गरेनन् । यस अघिका शासन पद्धतिहरुमा आदिम साम्यवाद, कुल समाज, जातिय समाज, सामन्तवाद, राजतन्त्र पर्दछन् भने साम्यवाद झण्डैं झण्डैं प्रजातनत्रकै समकालीन शासन पद्धति हो, तर प्रजातन्त्र वा डेमोक्रेसी बाहेक माथि उल्लेखित कुनैपनि शासन पद्धतिले जनताका अधिकार र मौलिक हकका बारेमा काम त परै जाओस् कुरै गरेनन् । तसर्थ, अहिले सम्म अभ्यास भएका शासन पद्धतिहरूमा प्रजातन्त्र नै उत्कृष्ठ पद्धति नै मानिन्छ ।
तर प्रजातन्त्रका पनि सीमाहरू नभएका पक्कै होइनन् । प्रजातन्त्रकी जननी भनेर चिनिएको बेलायत र बेलायतकै उपनिबेशको रुपमा हुर्केर ३३८ बर्ष अघि स्वतन्त्र प्रजातान्त्रिक मुलुक बनेको संयुक्त राज्य अमेरिका तेस्रो सहस्राब्दीका प्रजातान्त्रिक अभ्यासका अगुवा हुन् । स्मरण रहोेस् अमेरिका स्वतन्त्र प्रजातान्त्रिक मुलुक बनाइनुको कारण चाहिँ स्वतन्त्र धार्मिक अभ्यासका लागि थियो । त्यसका अगुवाहरुले आफ्नो संविधानको प्रश्तावनामै ‘असल र धार्मिक व्यक्तिहरूका लागि बनेको’ संविधान भनेर उल्लेख गरेका थिए । इतिहासकार एवं दार्शनिक एलेक्स ताकुभिलले भनेका थिए कि, ‘अमेरिका असल छ त्यसैले अमेरिका महान छ जुन दिन यसबाट असलता हराउँछ, त्यसैदिनबाट यसको महानता पनि हराउनेछ (अमेरिका इज ग्रेट विकज अमेरिका इज गुड, एण्ड ह्वेन अमेरिका सिजेज टु वी गुड सी विल् लाइकवाइज सिज टु वी ग्रेट)।’ आज आएर यो करिब करिब चरितार्थ र सिद्ध भइसकेको छ ।
यसबाट यो सिद्ध हुन्छ कि जहाँ राजनीतिक पार्टीका अगुवा जनताप्रति जिम्मेवार हुदैनन् र जहाँ सत्ताका लागि बार्गेनिंग हुन्छ, जहाँ शब्दसँग खेलिन्छ र शब्द शब्द तौलिएर खेलाइन्छ, त्यस्तो मुलुकमा जस्तोसुकै संविधान बनेपनि त्यसको कुनै अस्तित्व र मूल्य भने रहँदैन । कुनै पनि मुलुकमा अन्यत्रबाट आयात गरिएको आयातित पद्धतिले कुनैपनि हालतमा राम्ररी काम गर्न सक्तैन । हाम्रो जस्तो मुलुक जहाँ गुण्डाहरूको राज चल्छ त्यहाँ पद्धतिको शासन चल्ने भन्ने कुरा कल्पनामा पनि हुन सक्तैन । जहाँ व्यवस्थापिका, न्यायपालिका, कार्यपालिका र त्यसका अंगहरू जागिर खान र खुवाउनका लागि चलाइन्छन् त्यहाँ जनता नै बुर्जुवा कहलाइन्छन् ।
प्रजातन्त्र र संविधान भनेको मानिसको हृदयबाट मुखरित भएको हुनुपर्दछ । यहाँ हामीकहाँ आफ्नो स्वार्थ सिद्ध गर्न पर्याप्त स्थान भएको संविधान बनाउन सकिन्छ कि सकिँदैन भनेर बार्गेनिंग चलिरहेको छ । यस्तोमा कसरी असल र लोकोपकारी संविधान लेखिन सक्छ र ?
संसार सापेक्षतावादबाट निरपेक्षतावाद तर्फ अघि बढिरहेको छ । संसारमा अहिले सम्म अस्तित्वमा रहेका संविधान सापेक्ष संविधान हुन् । संविधान पनि निरपेक्ष हुनुपर्दछ र हुन्छ ।

संसार र ब्रह्माण्ड चल्ने र चलाउने निरपेक्ष सिद्धान्त छ । मानिसको शरीर भित्र रहेका विविध प्रणालीहरू चल्ने निरपेक्ष सिद्धान्त छ । त्यसलाई कुनै कुनै नेतृत्वहरूको सभाले परिवर्तन गर्न सक्तैन । त्यसैगरी, राज्यका प्रणालीहरू चल्ने पनि निरपेक्ष सिद्धान्त पक्कै हुन्छ र हुनुपर्दछ । तर त्यस खाले सिद्धान्त ‘म्यान मेड’ वा मान्छेद्वारा निर्मित पक्कै हुँदैन । त्यो प्राकृतिक वा ईश्वरबाट नै सृजित भएको हुन्छ ।
मान्छेले बनाउने संविधान संझौताको दस्तावेज बाहेक केही होइन । जननेता बाबुराम भट्टराईले पनि अहिले बन्न लागेको संविधानलाई सम्झौंताको दस्तावेज (कान्तिपुर अनलाइन) भनेका छन् । यसले बहुसंख्यक जनताको भावना त परै जाओस् राष्ट्रिय चिन्तनलाई पनि प्रतिबिम्बित गर्न सकेको छैन ।

जब आध्यात्मिक ज्ञान र भौतिक ज्ञान (आध्यात्मिक सत्यता र भौतिक सत्यता) पूर्ण हुन्छ त्यस अवस्थामा सत्यतामा आधारित संविधान लेखिने छ । त्यो संविधान मात्र कुनै व्यक्तिको अनुकूल र कुनै व्यक्तिको प्रतिकूल हुनेछैन । त्यो मात्र प्रणाली वा पद्धतिमा आधारित संविधान हुनेछ । त्यस बेला भन्दा अघि आफू अनुकूलको संविधान लेखाउने कुचक्कर चलिनै रहन्छ । अहिलेको संविधान लेखाइ त्यस्तै कित्ताको संविधान लेखाइ हुने त होइन शंक ागर्ने ठाउँ प्रशस्त दिएको छ । लोकोपकारी संविधान लेख्न सकिने अवस्था नै असल र नैतिकवान व्यक्तिहरूको दिन शुरु भएको हुनेछ ।

असल वा लोकोपकारी संविधान आध्यात्मिकतामा गडेको हुनुपर्दछ । प्रजातन्त्रको रुट आध्यात्मिकता वा ग्रेट अवेकिङ्ग थियो । प्रजातन्त्रका अगुवा हस्तीहरूले आध्यात्मिक साधनाबाट नै भिजन पाएको अभिव्यक्ति पनि दिएका थिए । पश्चिमा जगतमा जब आध्यात्मिकता ‘स्यालो’ हुँदै गयो त्यसले राज्य र त्यसका अंगहरूलाई दिशानिर्देश गर्न सकेन । एवं रितले आध्यात्मिकता सेलाउँदै गयो र राज्यका अंगहरु पनि डामाडोल हुँदै गए ।
पश्चिमा ईशाईहरू धार्मिक स्वतन्त्रताका लागि स्थापना गरेको आफ्नै भूमिमा नास्तिकता मौलाएको, गे र लेस्वियन विवाह गरेको अनि परिवार भताभुंग भएको दृश्य निरिहता पूर्वक टुलुटुलु हेरेर बस्न बाहेक केही गर्न त परै जाओस् बोल्न पनि सकेनन् । नास्तिकतामा आधारित स्वतन्त्रता जिम्मेवारी विहीन स्वतन्त्रता बन्यो । र त्यसले राज्य र परिवारका अंगहरूलाई समेत भताभुंग तुल्याइदियो ।
र् प्रजातन्त्रमा धर्म निरपेक्षताको कुनै औचित्य छैन । धार्मिक स्वतन्त्रता नै प्रजातन्त्रको लक्ष्य भएकाले अधार्मिक व्यक्तिहरूबाट सबल प्रजातन्त्र चल्ले कुराको कल्पना समेत पनि हुन सक्तैन । तर यहाँ आध्यात्मिक व्यक्तित्व भनेर कुनै धर्मभिरूलाई औंल्याउन खोजेको किमार्थ पनि होइन । धर्मको खोल ओढ्दैमा कोही मानिस असल हुन्छ भन्ने कुरा पनि होइन । आध्यात्मिकता भनेको साधनाबाट आउने कुरा हो । आफूलाई एक्सप्लोर गर्दा प्राप्त हुने अनुकम्पा हो । मानिसको चरित्र स्वयं पनि आध्यात्मिक र नैतिक भएकाले आध्यात्मिक अभ्यास बिनाको मानिस नितान्त रोगी व्यक्ति हो । जो डाक्टर नै रोगी छ त्यसले अन्य रोगीहरुलाई के निदान गर्न सक्ला ? अहिलेका प्रजातन्त्रका डाक्टर हुँ भन्नेहरू ती रोगीहरू हुन् जो आफू रोगी हुँदाहुँदै अरुको उपचार गर्न खोजिरहेका छन् । स्वस्थ र रोगी व्यक्तिका बीचको भिन्नता के हो भन्ने कुरा नै नबुझ्ने तिनले कस्तो निदान प्रश्तुत गर्लान्, त्यो स्पष्ट नै छ । तसर्थ यो मुलुक धार्मिक स्वतन्त्रता भएको मुलुक बन्नुपर्दछ । धार्मिक गुट, उपगुट र सम्प्रदाय भित्र मानवता समेटिन सक्तैन । धर्म होइन कि धार्मिकता महत्वपूर्ण वस्तु हो । यसैको आडमा मात्र डेमोक्रेसी फूल्न र फल्न सक्तछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१