लोकप्रिय सांगीतिक समूह कन्दरा व्यान्डले ‘चन्द्र कोटकी नानी’ बोलको नयाँ गीतको ज्याम अप भर्सन युट्युबमा अपलोड गरेको छ। गीत रेकर्ड हुनु अगावै यसलाई सार्वजनिक गर्ने योजना अनुसार यसअघि नै कन्दराले ‘भेडीगोठैमा’ बोलको गीत यूट्यूबमा हालेको थियो। स्टेरियो रेकर्डले कन्दराको गीतलाई बजारमा ल्याउने तयारी समेत गरेको छ। स्टेरियो रेकर्ड्सका प्रबन्ध निर्देशक आशिष पराजुलीका अनुसार एल्बम असोजको पहिलो साता राजधानीमा सार्वजनिक गरिनेछ। ‘एल्बम सार्वजनिक भए लगत्तै कन्दराले देशका प्रमुख सहरमा लाइभ कन्सर्ट गर्दैछ,’ पराजुलीले भने, ‘कन्दराले दसैंअघि काठमाडौंमा अर्केस्ट्रासहितको एउटा विशेष सांगीतिक कार्यक्रम आयोजना गर्नेछ।’ २१ वर्षअघि पोखरामा स्थापित व्यान्डले पप संगीतको आकाशमा ‘लेककी हे माया’, ‘हङकङ पोखरा’, ‘तिमी पारी’, ‘डाँडा पारी’, ‘तगारोमा रुमाल राखी’, ‘चञ्चले कान्छी’ जस्ता सदावहार गीत दिइसकको छ।
प्रतिक्रिया