कैदीबन्दीको गुनासो, भने -‘हामीले चाँहि सुझाब राख्न नपाउने ?’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ श्रावण २०७२, बुधबार १५:२६

चितवन, ६ साउन । संविधानको मस्यौदामाथि देशभर सुझाव सङ्कलन भइरहँदा आफूहरुले सुझाव दिन नपाएको भन्दै जिल्ला कारागार भरतपुरका कैदीबन्दीले दुखेसो पोखेका छन् । आफ्ना मागपत्र तयार गरेर बसेका कैदीबन्दीले दुई दिनसम्म जिल्लाका १० ठाउँमा सुझाव सङ्कलन गरिएको भए पनि आफूहरुकोमा कुनै पनि सभासद् नआउँदा दुःख लागेको जनाएका छन् । बन्दी घनश्याम पौडेलले आफूहरुले देशमा नयाँ संविधान बन्ने हुँदा पुराना कानुनअनुसार कैदीबन्दी जीवन बिताइरहेकालाई आममाफी दिने व्यवस्था संविधानमा हुनुपर्ने माग रहेको बताए ।

कारागारका चौकीदार राजेन्द्र चौधरीले कैदीबन्दीले संविधानमा समावेश गर्नका लागि तयार पारेको मागपत्रमा कैदीबन्दीका परिवारलाई राहत प्याकेज हुनुपर्ने, कारागार सुधार हुनुपर्ने, महँगीअनुसार सिदा रकम बढ्नु पर्ने, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी हुनुपर्ने, खुला कारागार बन्नुपर्ने, मानवअधिकारको सुनिश्चितता हुनुपर्ने, जस्तोसुकै मुद्दा भए पनि जमानतमा बाहिर रहेर लड्न पाउनु पर्नेलगायतका माग रहेको बताए । कैदीबन्दीले सभासद्हरुलाई आफ्ना सुझाव लिइदिन खबर पठाएको भए पनि कोही पनि नआएपछि चिन्तित बनेको कारागारका रामबाबु श्रेष्ठले बताए । चितवन जिल्लामा सुझाव सङ्कलनका लागि १३ जना सभासद् जिल्ला आएका थिए। जिल्ला कारागार भरतपुरमा ५७१ जना कैदीबन्दी रहेका छन् जसमध्ये ४९ जना महिला रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१