भक्तपुर,६ साउन । उद्योगमन्त्री महेश बस्नेतले भूकम्पले भत्काएका मठमन्दिर तथा सम्पदाको पुनःनिर्माणमा सरकारले पहिलो प्राथमिकता दिने बताएका छन्। ‘केदारनाथको शिर’ डोलेश्वर मन्दिरमा सुरु भएको एकमहिने मेलाको पहिलो दिन डोलेश्वर मन्दिरको अवलोकन गर्दै उनले पुनःनिर्माणका लागि सरकारले कुल बजेटको १० प्रतिशत रकम विनियोेजित गरेको र विश्वसम्पदा सूचीमा रहेका सम्पदाको पुनःनिर्माणपछि अन्य संरचनाको पुनःनिर्माण गरिने बताए। उनले डोलेश्वर महादेवको मूल मन्दिरको निर्माण गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
डोलेश्वर मन्दिर निर्माण गर्न केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समिति, त्रिनेत्र आध्यात्म चिन्तन केन्द्र र ओमकार ध्वनिको संयुक्त आयोजनामा मन्दिर परिसरमा एक महिनासम्म देवी भागवत, श्रीमद्भागवत, कृष्णझुलालगायत धार्मिक कार्यक्रम सञ्चालन गरिने समितिका सचिव तथा प्रचारप्रसार समितिका संयोजक मोहन बल्लले बताए। रासस
प्रतिक्रिया