पोखरा । पोखराका पर्यटन व्यवसायीहरुले पोखरा पर्यटकहरुका लागि हरेक हिसाबले सुरक्षित रहेको बताएका छन् । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) पोखरा च्याप्टरको घोषणा तथा पोखराको पर्यटनको गति र दिशा विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी व्यवसायीहरुले यस्तो बताएका हुन् ।
भूकम्पपछि राष्ट्रिय रुपमा मात्रै नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपालको पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको आशयका गलत प्रचारले गर्दा सुरक्षित रहेको पर्यटन क्षेत्रमा समेत नकारात्मक प्रभाव परेको भन्दै व्यवसायीले सिंगो नेपाल र विशेष गरी पर्यटनको केन्द्र मानिने पोखरा पर्यटकहरुका लागि हरेक हिसाबले सुरक्षित रहेको बताएका छन् ।
पोखरा पर्यटन पुनर्जागरण समितिका संयोजक गणेश भट्टराईले भूकम्पपछि सरकारको भूमिका प्रभावकारी हुन नसक्दा पर्यटन ध्वस्त भएको गलत सन्देश स्वदेशी तथा विदेशी पर्यटकहरुमा परेको भन्दै सरकारी तथा निजी क्षेत्रले संयुक्त रुपमा यस्तो गलत धारणा चिर्दै पर्यटन क्षेत्र सुरक्षित भएको सन्देश दिनसक्नु पर्ने बताए । भट्टराईले पर्यटकीय क्षेत्र सुरक्षित हुँदा हुँदै पनि पर्यटकहरुका लागि उपयुत्त वातावरण पनि हुनुपर्ने भन्दै सुरक्षित वातावरणका हिसाबले पोखरा सुरक्षित रहेको बताए । भूकम्प पीडितका लागि समेत पोखराका व्यवसायीले आठदेखि १० करोडसम्मको आर्थिक सहयोग तथा सामग्री सहयोग गरेको भन्दै पोखरामा पर्यटकहरुको स्वागतका लागि पनि पोखराका पर्यटक व्यवसायीहरु सबै किसिमको वातावरण बनाउन तयार रहेको बताए ।
पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटाले सञ्चारमाध्यमले भूकम्पले क्षति पुगको क्षेत्रको मात्र बढी प्रचार प्रसार गरेको भन्दै ९० प्रतिशत सुरक्षित क्षेत्रको कुनै प्रचार नभएको बताए । उनले भूकम्पपछि नेपालको अवस्था सामान्य बन्दै गएको भन्दै आउँदो वर्ष पर्यटन क्षेत्र साविककै अवस्थामा आउने बताए ।
त्यस्तै राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिका सदस्य गोविन्दराज पहाडीले राष्ट्रिय सम्पदा तथा ऐतिहासिक क्षेत्रहरुमा समेत भूकम्पले नोक्सानी पु¥याएको भन्दै यसलाई सामान्यकरण गर्दै नेपाल सुरक्षित र पर्यटकहरुका लागि उपयुक्त रहेको सन्देशको प्रचारको आवश्यकता रहेको बताए । उनले अन्तराष्ट्रिय स्तरमा भूकम्पले नेपाल नै ध्वस्त भएजस्तो भ्रामक सन्देशको प्रचार हुँदा पर्यटकहरुको आवागमनमा ठूलो असर परेको भन्दै यस्तो भ्रमलाई चिर्दै पर्यटकहरु आवागमनको वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले भूकम्पपछि भत्किएका र ध्वस्त भएका क्षेत्रहरुको मात्र बढी प्रचार प्रसार गरेर सरकारले दातालाई आकर्षित गर्न खोजेको आरोप लगाए ।
उनले भने ‘नोक्सानी भएको क्षेत्रलाई मात्र बढी प्रचार प्रसार गरियो, सरकारले दातालाई आकर्षित गर्नका लागि योजनाबद्ध रुपमै यस्तो गरेजस्तो देखियो ।’ उनले दाताहरुबाट आर्थिक सहयोग लिनु भन्दा उनीहरुलाई नेपाल भ्रमणका लागि पर्यटक पठाउनका आग्रह गर्नुपर्ने बताए ।
नाटोजका केन्द्रिय अध्यक्ष शिव अधिकारीले भ्रामक प्रचारका कारण नकारात्मक सन्देश प्रवाह भएको प्रति चिन्ता व्यक्त गरे । उनले यसलाई चिरी सकारात्मक सन्देश दिन पोखराका सम्बन्धित निकाय र सञ्चारमाध्यमहरुले सजगताका साथ काम गर्नुपर्ने धारणा व्यक्त गरे । ‘पोखरा सम्पूर्ण रुपले सुरक्षित छ, यहाँ आउन कुनै पनि डर मान्नुपर्ने अवस्था छैन् ।’ अधिकारीले भने, ‘सकारात्मक सन्देश प्रवाह गरी पर्यटक आगमनमा सहयोग गर्न म यहाँस्थित सञ्चारमाध्यमलगायत सबै सरोकारवाला निकायलाई आग्रह गर्छु ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघका कास्की अध्यक्षलगायतका बत्ताहरुलेसमेत स्वदेशी र विदेशी पर्यटकहरुमाझ सकारात्मक सन्देश दिन सरकार र पर्यटन व्यवसायीहरुले संयुक्त रुपमा पहल गर्नुपर्ने बताएका थिए । कार्यक्रममा पर्यटन पत्रकारहरुको छाता संगठन राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को पोखरा च्याप्टर गठन घोषणा गरिएको थियो । पोखराको लेकसाइडमा आयोजित विशष भेलाबाट ऋषिराम भण्डारीको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति घोषणा गरिएको छ ।
प्रतिक्रिया