नवीन लोचनमगर
रोल्पा,४ साउन । रोल्पाको सदरमुकाम लिबाङमा भइरहेको सुझाव संकलन कार्यक्रममा नाराबाजी गर्दै प्रवेश गर्न खोजिरहेका नेकपा माओवादीका कार्यकर्ताहरुलाई प्रहरीले रोकेको छ । विभिन्न नाराबाजीसहित आएका उनीहरुलाई प्रहरीले कार्यक्रमस्थलमा प्रवेश गर्न नदिएपछि आक्रोशित भई बीच सडकमै मस्यौदा च्यात्ने र जलाउने गरेका छन् । नयाँ संविधानको प्रारम्भिक मस्यौदा खारेज गर, लिपुलेक हाम्रो हो, बैदेशिक हस्तक्षेप बन्द गरजस्ता नारा लगाउँदै कार्यक्रमस्थलतर्फ आएको माओवादी कार्यकर्ताहरुलाई प्रहरीले बीच बाटोमै रोकेको हो । शान्तिपूर्ण तरिकाले गर्न खोजेको विरोधमा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाउँदै नेकपा माओवादीका जिल्ला सेक्रेटरी केशबहादुर बाँठा सुवासले आक्रोश व्यक्त गरे ।
चार दलका केही व्यक्तिहरुले गरेको कथित १६ बुँदेको भरमा बन्न लागेको संविधान जनयुद्ध र जनआन्दोलनको मर्म विपरित भएको सुवासले आरोप लगाए । सेक्रेटरी सुवासले केन्द्रीय कार्यक्रम अनुसार नै यस्तो गरिएको स्पष्ट पारे । त्यस्तै राप्रपा नेपालले पनि मस्यौदामा विरोध जनाएको छ । यो मस्यौदा जनताको पक्षमा नभएको भन्दै राप्रपा नेपालका केन्द्रीय सदस्य दलवीर पुनमगरले सुझाव संकलनको नाटक बजेट सक्ने उपाय मात्र भएको आरोप लगाए । सुझाव संकलनको कार्य भने जारी छ । सोमबार र मंगलबार गरिने सुझाव संकलनमा रोल्पाका सभासदहरु कृष्णबहादुर महरा, ओनसरी घर्तीमगर, अमर पुनमगर र गोकुल घर्तीमगर उपस्थित छन् ।
प्रतिक्रिया