रौतहट ४ साउन । रौतहटको मधेसी दलको अवरोधका कारण सुझाव संकलनको काम अवरुद्ध भएको छ । गौरमा संविधानको मस्यौदामाथि सुझाव संकलनस्थल मधेसी दलका कार्यकर्ताले अवरोध गरेपछि दोहोर झडप भएको छ । सुझाव संकलन कार्यक्रममा मधेसवादी दलका कार्यकर्ता र सत्तारुढ दलका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा दुवै तर्फका केही कार्यकर्ता घाइते भएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुथ्यास समेत प्रहार गरेको छ । प्रहरीले प्रदर्शन नियन्त्रणमा लिन हवाई फायर समेत गरेको छ । अहिले कडा सुरक्षाका साथ अवस्था नियन्त्रणमा आइसकेको छ । बिहानै गौर नगरपालिकाको सभा हलमा कार्यक्रम सुरु हुनुअघि नै दुईपक्षबीच झडप भएको थियो । संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको राय सुझाव संकलनका लागि पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी कार्यक्रम बिथोलिएको छ ।
पूर्व प्रधानमन्त्री नेपाल सीमित कार्यकर्ताका साथ बिहान कार्यक्रममा सहभागी भएका थिए । सद्भावना पार्टी लगायतका मधेसवादी दलका नेता तथा कार्यकर्ताहरु सो कार्यक्रममा प्रवेश गर्न खोजेपछि झडप भएको हो । एमाले कार्यकर्ता र मधेसवादी दलका कार्यकर्ताबीच ढुंगा हानाहानसमेत भएको थियो । आक्रोसित मधेसवादी दलका कार्यकर्ताले पूर्व प्रधानमन्त्री नेपालको सवारी साधनसमेत तोडफोड गरेका छन् । उनलाई लक्षित गरी कुर्सी प्रहारसमेत भएको थियो, । तर नेपाललाई चोट भने लागेको छैन । दुई घन्टादेखि हलमा थुनिएका सभासद्हरुलाई प्रहरीले कडा सुरक्षाकाबीच निकालेको छ। कार्यक्रम हलमै झडप भए पनि सभासद्हरुले समय छोट्याएर सुझाव संकलन कार्यक्रम सम्पन्न गरिसकेका छन्। नेपाललाई सुरक्षा सहित गौरबाट बाहिर निकालीएको थियो ।
प्रतिक्रिया