गौर, ४ साउन । गौरमा जारी तनावलाई नियन्त्रण गर्न प्रहरीले छ सेल टियरग्यास प्रहार गरेको छ। मस्यौदामाथि छलफल भइरहेकै बेला मधेसी दलहरुले नाराबाजी र तोडफोडमा उत्रिएपछि स्थिति नियन्त्रण गर्न प्रहरीले टियरग्यास प्रहार गरेको जनाएको छ। मधेसी दलका समर्थकहरुले छलफलमा सहभागी एमाले नेता माधवकुमार नेपालको गाडी पनि तोडफोड गरेका छन्। उनी चढ्ने बा१३च १४५१ नम्बरको गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ। प्रदर्शनकारीले अन्य ६ वटा गाडीसमेत तोडफोड गरेका छन्। रौतहट क्षेत्र नं १ अन्तरगत नगरपालिकाको सभाहलमा सोमबार बिहानै सुझाव संकलन कार्यक्रम राखिएको थियो । कार्यक्रममा सभासद माधवकुमार नेपाल, बंशिधर मिश्र, रामकुमार भट्टराई सत्यानारायण भगत, मोहम्मद मुस्ताक आलम लगायतको सहभागिता थियो । सभा हलमा स्थानीयवासीले पनि छिर्न पाउनुपर्ने माग गरिरहेका बेला सदभावना पार्टीकी सभासद डिम्पल झा र नेता अनिल झाले प्रवेश गर्नेबेलामा सर्वसाधारण समेत प्रवेश गर्न खोजेका थिए । सर्वंसाधारणलाई प्रवेशमा रोक लगाइएपछि झडप सुरु भएको थियो ।
विरोध प्रदर्शनमा स्थानीय जनतासँगै मधेसवादी दलका कार्यकर्ताहरु पनि सहभागी छन् । उनीहरुले सुझाव दिने कार्यक्रममा आफूहरुले पनि प्रवेश गर्न पाउनुपर्ने माग गरेका छन् । झडपपछि घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । त्यस्तैं नेकपा एमाले नेता माधव कुमार नेपालमाथि कुर्सी प्रहार पनि भएको छ। रौतहट क्षेत्र नम्बर १ गौरस्थित नगरपालिकाको सभा हलमा मस्यौदामाथि छलफल भइरहेकै बेला नेपाल सद्भावना पार्टीका समर्थकहरुले नेपालमाथि कुर्सी प्रहार गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले बन्द कोठाभित्र, सुरक्षाकर्मी परिचालन गरेर, सीमित जनतामाझ मात्र छलफल गराएको भन्दै नेपाल सद्भावना पार्टीका कार्यकर्ताहरुले नाराबाजी सुरु गरेका थिए। प्रहरीले नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झालाई समेत भवनमा प्रवेश रोक लगाएपछि उनका कार्यकर्ताहरुले नेपालमाथि कुर्सी प्रहार गरेका हुन्। नेपाल भने सुरक्षित रहेको प्रहरीले जनाएको छ। सभा हलअगाडि अहिले चर्को नाराबाजी भइरहेको छ।
प्रतिक्रिया