नवीन लोचनमगर
रोल्पा,३ साउन । संविधानसभाको प्रारम्भिक मस्यौदामाथि सुझाव संकलनका लागि सभासद् तथा सरकारी कर्मचारीहरु गाउँगाउँ पुगिरहेको बेला संविधानसभाको दोस्रो निर्वाचनमा समेत शुन्य मतदान बनाएको रोल्पाको थबाङले मस्यौदामाथिको छलफललाई समेत अस्विकार गरेको छ । थबाङ गाविस सचिव अधिकार मगरसहितको सुझाव संकलन टोलीलाई थबाङ्गीहरुले कुनै सुझाव नै नदिएर फिर्ता पठाएका हुन् । शनिबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सुझाव संकलनका लागि कर्मचारीहरु थबाङ गाउँमा खटिए पनि कसैले वास्ता नगरेपछि मस्यौदा प्रहरीलाई बुझाएर आइतबार कर्मचारी सदरमुकाम लिबाङ फर्किएका हुन् ।
यस्तै यता रोल्पाकै बुढागाउँ गाविसमा सुझाव संकलनका लागि पुगेको टोलीलाई चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरुले कालो झण्डा देखाएका छन् । सुझाव संकलनका लागि त्यहाँ पुगेका संकलन टोलीलाई विरोध स्वरुप कालो झण्डा देखाइएको नेकपा माओवादी रोल्पाले बताएको छ । संविधानसभाको दोस्रो निर्वाचनलाई समेत वहिष्कार गरेको नेकपा माओवादीले सुझाव संकलनको कार्यलाई सफल हुन नदिन केन्द्रदेखि नै सर्कुलर गरेको बुझिएको छ ।
प्रतिक्रिया