काठमाडौं, ३ साउन । आइतबारबाट संविधानको मस्यौदामाथि देशव्यापी रुपमा जनस्तरबाट सुझाव संकलन थालिएको छ । सुझाव संकलनका लागि सभासद्हरू जिल्लाजिल्ला गएका छन् भने संविधानसभा सचिवालयका कर्मचारी पनि सुझाव संकलनमा क्रियाशील भएका छन् । संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव संकलन गर्न मोरङका नौ निर्वाचन क्षेत्रका २२ स्थान मा छलफल गरिने भएको छ । ९ वटा निर्वाचन क्षेत्र नम्वर रहेको मोरङ अन्तर्गत क्षेत्र नम्वर ७ र ८ मा आजवाट जनताको राय सुझाव लिन कार्य थालिएको हो ।
राय सुझाव संकलनका लागि तय गरिएका केन्द्रका सहभागीहरुले हिन्दू धर्म कायमा गर्नुपर्ने मुख्य सुझाव दिएका छन । मोरङ क्षेत्र नम्वर ७ अन्तर्गत वरगाछीस्थित सुझाव संकलन केन्द्रमा स्थानीयले लिखित र मौखिक रुपमा सुझाव दिएका हुन् । तर सभासद र कर्मचारीहरु संविधानको मस्यौदामा सुझाव माग्न गाउँगाउँमा पुगे पनि नागरिकले अझै मस्यौदा नपाएको गुनासो गरेका छन् ।
शहर र बजार क्षेत्रमा मस्यौदा पुगेको तर गाउँमा मस्यौदा नपुगेकाले पढ्न नपाएको अधिकांसको गुनासो छ । आज कर्मचारीहरुले नागरिकको अन्तिम सूझाव संकलन गर्ने संसद सचिवालयले जनाएको छ । आज सामुहिक र व्यक्तिगत सुझाव संकलन सक्ने र भोलि र पर्सी सार्वजनिक सुनुवाईमार्फत सुझाव संकलन गरिने संविधानसभा सचिवालयका सचिव मुकुन्द शर्माले जानकारी दिए । उनका अनुसार मस्यौदा नपुगेका ठाउँमा अन्य माध्यमबाट पनि सुझाव संकलन गर्न सकिनेछ ।
मस्यौदामा सुझाव दिन संविधानसभाको सिफारिसमा सरकारले भोलि र पर्सी दुई दिन सार्वजनिक बिदा दिइसकेको छ । संविधान मस्यौदा समितिले तयार पारेको मस्यौदामा साउन ७ गतेभित्र जनताको राय सुझाव संकलन गरी प्रतिवेदन संविधानसभामा पेश हुनेछ ।
प्रतिक्रिया