काठमाडौं, १ साउन । देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा परेर आजमात्रै १४ जनाको मृत्यु भएको छ । नवलपरासी, रुपन्देही, धनुषा, मोरङ र सिन्धुलीमा भएको सवारी दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको हो ।
नवलपरासी दुमिक्बास–५ दाउन्ने विश्वकर्मा मन्दिर स्थित पुर्व पश्चिम लोकमार्गमा ना.४ ख ५१४३ नम्वरको बस र युपि ३२ डिएल ०८५४ नम्वरको ट्रक शुक्रबार विहान एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा बसमा सवार ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ पुरुष र ३ महिलाको घटनास्थलमै र १ पुरुष र १ महिलाको उपचारकै क्रममा मृत्यु भएको हो । दुर्घटनामा ट्रक चालक सहित ८ जना घाइते भएका थिए । घाइते मध्ये ६ जनाको पर्वत पोलिक्लिनिक दुम्किबास र २ जनाको भरतपुरमा उपचार भईरहेको छ ।
यसैगरी रुपन्देही बुटवल उपमहानगरपालिका–१५ नयाँगाउ स्थित महेन्द्रराजमार्गमा लु.११ प ९३९१ नम्वरको मोटरसाइकलले सोही ठाउँ बस्ने ७० बर्षीया हिरादेवी गोइरेलाई ठक्कर दिदाँ गम्भीर घाइते भएकोले उपचारको लागि मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता धनुषा जनकपुर उपमहानगरपालिका–२४ बसैया स्थित भित्री कच्ची सडक खण्डमा ज.१ त ३१९७ नम्वरको ट्याक्टर विहिबार अनियन्त्रित भएर दुघृटना हुँदा चालक महोत्तरी भमरपुरा–२ बस्ने ३५ बर्षीय अजय ठाकुरको घटनास्थलमै मृत्यु भएको छ ।
यसैगरी धनुषा जनकपुर उपमहानगरपालिका–२५ स्थित ढल्केबर जनकपुर सडक खण्डमा ज.३ प ३२९६ नम्वरको मोटरसाइकललाई विहिबार नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिदाँ नाम,थर, वतन खुल्न नसकेका अंदाजी ३० बर्षीय मोटरसाइकल चालक गम्भीर घाइते भएकोले उपचारको लागि जनकपुर अंचल अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको छ । फरार सवारी साधन र चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
मोरङ राजघाट–५ स्थित उर्लाबारी–ईटहरा सडक खण्डमा मे.६ प ४८१८ नम्वरको मोटरसाइकललाई को.१ च ७८९४ नम्वरको म्याजिक भ्यानले विहिबार ठक्कर दिदाँ मोटरसाइकल चालक झापा गौरीगंज–६ बस्ने ३५ बर्षीय सन्तोष कुमार यादवको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा भ्यान चालक बिराटनर उपमहानगरपालिका–११ हाटखोला बस्ने २१ बर्षीय दुर्गा लिम्बु समेत घाइते भएकोले उपचारको लागि अरनिको अस्पताल उर्लाबारीमा लगिएको छ ।
यसैगरी सिन्धुली शितलपाटी–४ विपि राजमार्गमा ज.७ प ९९७ नम्वरको मोटरसाइकललाई बा.३ ख ११६३ नम्वरको मिनिट्रकले विहिबार ठक्कर दिदाँ मोटरसाइकल चालक धनुषा जनकपुर उपमहानगरपालिका–११ बस्ने २२ बर्षीय सभाष मण्डल गम्भीर घाइते भएकोले धुलिखेल अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया