काठमाडौं, १ साउन । साउने संक्रान्तिको दिन लुतो फाल्ने चलन बिस्तारै हराउँदैछ । तर हरियो चुरा र मेहन्दी लगाउनेको संख्या चाहिँ बढ्दैछ । खासगरी महिलाले साउन महिनाभर हातमा हरियो चुरा र मेहन्दी लगाउँछन् । पहिले धर्म संस्कृति मान्ने पाका महिलाहरुमा मात्र सीमित मेहन्दी र चुरा हिजोआज सबैजसो महिला र युवतीको लागि फेसन जस्तो भएको छ । नेपाली महिलाहरूमात्र नभई मुस्लिम महिलाले पनि हरियो चुरा लगाउन थालेका छन्।
नेपालगन्ज एकलैनी बजार निवासी मुस्लिम महिला सबनम हलुवाई भन्छिन्, ‘हामीहरूको साउनमा हरियो चुरा लगाउने चलन छैन तर साउन महिनामा अरू नेपाली महिलाले लगाएको देख्दा लगाउन मन लागेर लगाएँ।’ आफ्नो सौभाग्यका लागी चुरा लगाउने चलन त छदैछ साथमा चुराले महिलाको हातलाई पनि सुन्दर बनाइदिन्छ । पहिरनको रंगसंग मिल्ने काँचका दर्जनौ चुरा लगाउदा हातको सौन्दर्यमा आर्कषण थपिन्छ ।
बिबाहित महिलाहरुका लागि चुरा पोते र टीकाको महत्व बढी नै छ । एक त विवाहित भएपछि हरेक महिला एउटा भएपनि चुरा लगाएर हिड्छन् । यसरी साउनमा हरियो चुरा लगाएमा भगवान् शिव खुसी हुन्छन्, भन्ने एउटा धार्मिक किंवदन्ती छ। हिन्दु समाजमा विवाहित महिलाहरू साउनमा व्रत बस्ने भगवान् शिवको पूजा गर्ने गर्छन्। ‘साउन महिनामा सबैतिर हरियालीले छाउने सबैतिर हरियाली नै हरियाली देखिएको हुन्छ र भगवान् शिव ती हरियो वस्तुमा आएर बस्छन्’ भन्ने मान्यता छ। साउन महिनाभरि चुरा पसलमा हरियो चुरा लगाउने महिलाहरूको भीड लाग्ने गर्छ। चुराको व्यापार पनि फस्टाउने गर्छ। व्यापारीका लागि चुरा बढी बिक्री हुने समय साउन र भदौ हो। साउनमा हरियो चुरा र तीजमा रातो चुरा बढी बिक्री हुने गर्छ।
प्रतिक्रिया