तेह्रथुम, ३० असार । वर्षा सुरु भएसँगै तेह्रथुमका अधिकांश ग्रामीण सडक अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन् । झन्डै दुई सातायताको निरन्तरको वर्षाका कारण सडक हिलाम्मे बनेपछि जिल्लाका सम्पूर्ण कच्ची सडक अवरुद्ध बनेका हुन् । सडक अवरुद्ध भएपछि सेवाग्राही सर्वसाधारण यात्रु भने मारमा परेका छन् । सडक अवरुद्ध हुँदा गाउँबाट सदरमुकाम आउने सेवाग्राही दिनभर लगाएर हिँडेर आउन बाध्य भएका छन् । वर्षाका कारण जिरीखिम्ती–मोराहाङ सडक, सिधुवा– शुक्रबारे सडक, शुक्रबारे–ओख्रे सडक, म्याङलुङ–पोक्लाबाङ–सक्रान्ति सडकखण्डलगायत झन्डै एक दर्जन बढी सडकखण्ड अवरुद्ध छन् ।
कालोपत्रे गरिएको जिल्लाकै एकमात्र म्याङलुङ–वसन्तपुर सडकखण्डबाहेक अरु दर्जनौँ ग्रामीण सडक वर्षाले क्षतविक्षत बनाएपछि हरेक वर्ष जसो अवरुद्ध बन्ने गरेका छन् । वर्षाले बाटो हिलाम्मे बनाएपछि जिल्लाका ग्रामीण भेगसम्म पुग्ने यातायात सेवा ठप्प बनेको संयुक्त बस व्यवसायी सङ्घका तेह्रथुम काउन्टर प्रमुख डिल्ली रेग्मीले बताए । वर्षाले सडक क्षतविक्षत बनाएकाले वर्षा रोकिए पनि कतिपय ठाउँमा सडक मर्मत नगरी यातायात सञ्चालन गर्न सकिने अवस्था नरहेको उनले बताए ।
प्रतिक्रिया