काठमाडौं, ३० असार । एमाले उपाध्यक्ष विद्या भण्डारीले वैवाहिक स्वतन्त्रता र नागरिकताको अधिकार फरक फरक विषय भए पनि पश्चिमी संस्कृतिको प्रभावमा बढी अधिकारको माग भइरहेको बताएकी छिन् । अनेरास्ववियु केन्द्रीय महिला विभागले राजधानीमा आयोजना गरेको ‘मस्यौदामा महिला हकसम्बन्धी थप्नुपर्ने विषयबारे छलफल’ मा बोल्दै भण्डारीले नेपालमा जन्मेका नेपाली आमा र बाबुका सन्तानले वंशजको आधारमा नागरिकताको प्रमाणपत्र पाउनुपर्ने धारणा राखिन् ।
मस्यौदा हेर्दा ‘जसले जे खोज्यो त्यही पाइने’ प्रकारको बनेको भन्दै सकारात्मक पक्ष हेर्न उनको आग्रह थियो । ‘हामीले माने पनि नमाने पनि पूर्वीय संस्कार र संस्कृतिमा महिला पुरुषप्रति नै सम्पूर्ण रुपमा समर्पित हुन्छिन्, यो विभेदकारी व्यवस्था भए पनि समाज यसैगरी चलिआएको छ,’ भण्डारीले भनिन्, ‘म पाण्डे भए पनि मदन भण्डारीसँग बिहे भएपछि उहाँले नै फारममा भण्डारी भरिदिनुभएछ । पछि थाहा भयो । मैले पनि सोध्ने कुरा आएन । मेरो थरमात्रै होइन, गोत्र नै बदलियो ।’ नागरिकतामा व्यक्तिगत हकसँगै राष्ट्रिय सार्वभौमिकताको विषय पनि जोडिएकाले संवेदनशील हुन भण्डारीले सबै पक्षलाई आग्रह गरिन् ।
प्रतिक्रिया