मुस्ताङ, २३ असार । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय अन्तरगत संरक्षण क्षेत्र व्यवस्थापन समिति मुक्तिनाथ गाविस वडा नं.१ लुप्रा गाउँको चरण क्षेत्रमा सोमवार कस्तुरी मृग भेटिएको छ । चरण क्षेत्रमा चरिरहेका भेडा च्याङग्राको बथानसँग मिसिएर गोठसम्म आएको एक महिना उमेरको भाले कस्तुरी भेटिएको हो । भिडबाट छुट्टिएको कस्तुरीलाई जंगलमा छोड्दा माउ फेला पार्न नसक्ने भएकाले राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत सदर चिडियाखाना जावलाखेल ललितपुर लैजाने तयारी गरिएको छ । नेपालमा तीन प्रकारका सुनकण्ठे, सेतोकण्ठे र कालो कस्तूरी मृगहरु पाइन्छन् । यी सबै प्रजातिहरु २५०० देखि ५००० मि सम्मको उचाईमा हिमाली क्षेत्रमा पाइन्छन् । यिनको तौल १० देखि १५ किलो सम्म हुन्छ । भाले–पोथी दुवैको शरीर बाक्ला तथा खस्रा रौँहरुले ढाकेको हुन्छ । यिनको सिङ हुँदैन, कान लामा र पुच्छर छोटो हुन्छ ।
प्रतिक्रिया