नेपालका सनकी राजाहरु, नरभूपालले तरुनी केटी लिएर वनतिर डुल्थे….

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ असार २०७२, बुधबार १२:२७

इतिहासमा नेपाल एकीकरण अभियानका नायकका रूपमा चिनिएका राजा पृथ्वीनारायण शाहको अर्को रूप धेरैलाई थाहा छैन । उनी एकदमै क्रुर स्वभावका थिए । आफूले भनेको काम पूरा नभए घनघोर रिसाउँथे । राज्य चलाउन कुशल र निडर व्यक्तित्वको धनी भए पनि उनी रिस उठेको वेला कसैलाई बाँकी राख्दैनथे । आफ्ना नातागोतालाई त तथानाम भन्ने नै भए, रिसाएको वेला सेनापति कालु पाण्डेलाई समेत ‘काले’ भनेर बोलाउँथे, उनी । रिस उठेका वेला उनी अदब/बेअदब केही पनि जान्दैनथे । कीर्तिपुरसित तीनपटक हारेका उनले अन्ततः कीर्तिपुर जितिछाडे । र, कीर्तिपुरवासीका नाक र चुल्ठो काटेर आफ्नो क्रोध र सनकको अद्भूत उदाहरण दिएका थिए ।

rajaपृथ्वीनारायणका पिता नरभूपाल शाहले पहिलोपटक नुवाकोट आक्रमण गर्दा दुईजना सेनापति खटाएका थिए, जयन्त राना र अमर पन्त । काठमाडौं राज्यअन्तर्गत पर्ने नुवाकोटको लडाइँमा हार भएपछि नरभूपालले अमरलाई आफ्नो पि्रयपात्र बनाए । उता, जयन्तलाई भने वास्तै गर्न छाडिदिए । यसले जयन्तको चित्त दुख्यो । उनले काठमाडौंका राजा जयप्रकाश मल्ललाई साथ दिए । जयप्रकाशले उनलाई सेनापतिकै जिम्मा दिए । पृथ्वीनारायण शाहले अर्कोपटक नुवाकोट हमला गर्दा जयन्तलाई गोर्खाली फौजमा र्फकन चिठी पठाए । जयन्तले आफूले जयप्रकाशको नुन खाएकाले फिर्ता नहुने जवाफ दिए । यसले गर्दा पृथ्वीनारायण शाहलाई निकै रिस उठाएको थियो- गोर्खाली फौजको कमान्डर नै दुस्मन फौजतिर लागेको भनेर ।
पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट जिते । त्यसपछि बेलकोटमा बसेको जयन्तलाई जित्न लडाइँको तयारी गरेँ । कालु पाण्डेले फौज तयारी अवस्थामा नभएकाले लडाइँ नगर्ने सल्लाह दिए । पृथ्वीनारायण शाहले जँगिँदै ‘काले, लडाइँ कति वेला लड्ने भनेर तिमीले सिकाउने होइन । फौज ठीक पार’ भने भन्ने केही इतिहासकारले उल्लेख गरेका छन् । लडाइँमा गोर्खाली सेनातर्फ निकै क्षति पुगे पनि अन्त्यमा जित गोर्खाकै भयो । त्यसपछि उनले जयन्तलाई नियन्त्रणमा लिएर छाला काढेर मारे भने जयन्तका छोरा शंखमणिलाई पनि काटे ।
उनको सनकसँग जोडिएको अर्को पनि रोचक प्रसंग छ । उनले भक्तपुरकी नेवार्नीसित बिहे गरेका थिए । कम उमेरमै उनी क्षयरोगले थलिइन् । त्यसपछि उनलाई कासी लैजाने सल्लाह भएछ । डोलीमा राखेर कासी पठाइयो । देवघाटको बाटोबाट लैजाँदै गर्दा पाल्पाका राजा त्रिविक्रमले पुथ्वीनारायणकी रानीको घुम्टो खोलेर अनुहार हेरे रे भन्ने सुनेपछि त्रिविक्रमलाई जेल हालेका थिए, पृथ्वीनारायणले ।

उनका पिता नरभूपालको मगजै गडबड् थियो । आफ्नो जीवनको अन्तिम समयमा उनी तरुनी केटी लिएर वनतिर डुल्ने गर्थे । एकहोरो स्वभावका उनी वेला-वेला असाध्यै रिसाउने गर्थे । नुवाकोट र तनहुँसँग पराजय भएपछि उनमा तनाव चुलिएको पाइन्छ । पृथ्वीनारायणका कान्छा छोरा बहादुर शाह भने अरू कसैको सनकको नराम्रो सिकार भए । नेपालको राज्य विस्तारमा ठूलो योगदान पुर्‍याएका उनी दरबारिया षड्यन्त्रमा परे । नायवी रूपमा शासन चलाएका उनको अन्त्य अत्यन्त हृदयविदारक रह्यो । उनलाई तेल खन्याएर मारिएको थियो ।
राजा रणबहादुर शाहलाई बौलाहा राजा भनिन्थ्यो । हुन पनि उनी मानसिक सन्तुलन नभएका राजा थिए । कहाँ, कहिले र कसलाई के गर्थे, केही भन्न सकिन्नथ्यो । स्वेच्छाचारिता उनको व्यक्तित्वको अभिन्न हिस्सा थियो । जे मन लाग्यो त्यही गर्थे । छाडा थिए । उनीमाथि कसैले अंकुश लगाउन सक्दैनथ्यो । क्षणमै रिसाउने, क्षणमै खुसाउने ! ठेगानै नभएको मान्छे थिए, उनी ।
केही वर्षसम्म राजा भएपछि उनले छोरालाई धर्मपत्र गरी राज्य सुम्पिए । त्यसको केही समयपछि फेरि राजा हुने इच्छा जनाए । निर्माणानन्द स्वामी नाम राखेर केही भारदारलाई साथमा लिएर कासीतिर पनि हिँडे । तर, त्यहाँ धेरै दिन टिक्न सकेनन् । यस्तैखाले व्यवहारले उनलाई नोक्सान पुगेको पाइन्छ ।
रणबहादुरले खर्च बढी गरे भन्ने विषयमा हालको रणमुक्तेश्वरको एक घरमा कचहरी चल्दै थियो । सो कचहरीमा सहभागी थिए- भीमसेन थापा, काजी त्रिभुवन प्रधान, शेरबहादुर शाह, बालनरसिंह कुँवर आदि ।  कचहरीमा भनाभन बढ्दै गएपछि रणबहादुरका सहोदर भाइ शेरबहादुरले उनलाई ठाउँको ठाउँ तरबारले दुई टुक्रा पारिदिए । यो कस्तो आक्रोश ? चित्त नबुझे रेटिहाल्ने । सत्ता प्राप्ति र पदमा पुग्न यस्ताखाले घटना त्यतिबेला ख्याल-ख्याल हुन्थे । राजाहरू मात्र होइनन्, सेनापति, चौतरियाजस्ता शक्तिशाली ओहदामा रहेकाहरू पनि आफ्ना विपक्षीलाई तह लगाइछाड्थे । उनीहरूको आवेग र सनक कहाँ कसरी प्रकट हुन्थ्यो, अनुमानै गर्न सकिन्नथ्यो ।

राजेन्द्रविक्रम भलादमी राजा भए पनि कहिलेकाहीँ उनी पनि सनक प्रदर्शन गर्थे । उनको भलादमीपनको फाइदा सुरुमा भीमसेन थापाले उठाए भने, पछि जंगबहादुरले । उनको कमजोर शासकीय शैलीकै कारण कोतपर्व, भण्डारखालजस्ता घटना भए । राणाशासनको जन्म भयो । राजा आफै नजरबन्दमा परे । उनलाई कहिले भक्तपुर त कहिले हनुमानढोकामा राखिएको थियो । नजरबन्दमै उनलाई फकाउन राम्री तरुनी पठाइन्थ्यो । उनले बन्दी अवस्थामै इतिहासमा आफ्ना पुर्खालाई कति ‘श्री’को दर्जा दिने भनेर लेखेका थिए । उनले पृथ्वीनारायण शाहलाई श्री ५२ भनेर लेखेका थिए भने कसैलाई श्री ८ त, कसैलाई श्री ५ ठीक हुने भनेर लेखेका थिए । उनकी रानी राज्यलक्ष्मीलाई देश निकाला गरियो । राजेन्द्रका छोरा देवेन्द्रलाई विष पिलाएको झुटो आरोप भीमसेन थापामाथि लगाइयो । त्यसवेला राजाले केही प्रतिकार गर्न सकेनन् । त्यो झुटो लान्छनाको अपमान सहन नसकेर भीमसेन जेलको झ्यालको सिसाले रेटिए र घाइते भए । त्यसको केही दिनपछि मात्र उनको मृत्यु भयो । लास विष्णुमतीमा फालियो । कसैले वास्ता गरेनन् ।
इतिहासका अर्का सनकी राजा हुन्- सुरेन्द्रविक्रम शाह । वास्तवामा उनलाई सनकीहरूको सरदार नै भनिदिए पनि हुन्छ । रिसाएको वेला बाबुलाई समेत कुट्न पछि नपर्ने ! आफूले चाहेको कुरा हुनैपर्ने, पाउनैपर्ने । वेला-वेला राजगद्धी छाड्दिन्छु भनेर जंगबहादुरलाई धम्क्याउँथे । जंगबहादुर उनलाई फकाउन पिठ्युँमा बोक्ने गर्थे । युवा अवस्थामा एकदमै जोशिला जंगबहादुर सुरेन्द्रले भनेका कुरा सबै पुर्‍याइदिन्थे  ।  सुरेन्द्र उनलाई कहिले जिउँदै हात्ती पक्रन लगाउँथे भने कहिले त्रिशूलीमा हामफाल्न लगाउँथे । धरहराबाट हामफालेर जंगबहादुरले बहादुरी देखाएकै थिए ।  यी सबै काम सुरेन्द्रलाई खुसी पार्न गरेका थिए, जंगबहादुरले ।
त्रैलोक्य विक्रमको कलिलो उमेरमै मृत्यु भएपछि उनका जेठा छोरा पृथ्वीविक्रम राजा भए । उनले चारपटक बिहे गरेका थिए । उनका दुईजना रानी भारतीय थिए भने दुईजनाचाहिँ वीरशमशेरका छोरी थिए । निडर स्वभावका पृथ्वीविक्रम मदिराप्रेमी थिए  । उनकी आमा जंगबहादुरकी छोरी भएकाले सम्बन्ध राणासँग जोडिएको थियो । त्यसैले उनलाई कड्किन र रिस पोख्नबाट कसैले रोक्न सक्दैनथ्यो । उनी तथानाम भन्न कसैलाई बाँकी राख्दैनथे । प्रधानमन्त्रीले मागेजति पैसा दरबार नपठाएको भनेर उनले पठाइएको पैसा जलाइदिएका थिए । पछि मागेजति पैसा पुर्‍याइएको थियो ।

सनकी त राणाहरू पनि थिए । राजाहरूभन्दा कम्ती सनकी थिएनन् । प्रधानमन्त्रीको रोलक्रममा आफ्नो पालो नआउने बनायो भनेर प्रधानमन्त्री रणोद्वीपलाई वीरशमशेर पक्षका राणाहरूले गोली हानेर मारे । भाइ पक्षलाई बाइपास गरेको भन्नेमा वीरलगायत खड्ग, डम्बर, भीम आदि थिए । नेपालको इतिहासमा कार्यकालमै गोल्ाी हानी हत्या गरिएका प्रधानमन्त्री रणोद्वीप नै थिए । यो वि.सं. १९४२ सालको घटना हो ।

राजा त्रिभुवन निकै दूरदर्शी थिए । शाहवंशको गुमेको शक्ति फर्काउनु नै उनको मुख्य धेय थियो । त्यसका लागि भारतमा निर्वासनमा बसेर प्रजातन्त्र ल्याइछाडे । उनको सनक सही कुराका लागि हुने गरेको पाइन्छ । पढेलेखेका भएकाले उनी त्यति घमण्डी थिएनन् ।

पृथ्वीनारायण शाहपछिका शक्तिशाली राजा हुन्, महेन्द्र । उनी एक अर्थमा दम्भी पनि थिए । र, राज्य गर्ने नीति थियो, उनमा । कतिले अधिकारको दुरुपयोग गरेर पञ्चायत लादेको भन्ने पनि गर्छन् । शाहवंश शक्तिशाली भइरहोस् भन्ने ध्येय देखिन्थ्यो उनको । स्वाभवाले त हठी थिए, उनी । आफूले चाहेको पूरा हुनैपर्ने । रत्नसितको बिहे त्रिभुवनले चाहेका थिएनन् । तर, महेन्द्रले रत्नै चाहिन्छ भनेर मरिहत्ते गरेका थिए । इतिहासका अन्तिम राजा ज्ञानेन्द्रलाई धेरैले सनकी भन्छन् । तर, उनका धेरै कुरा अझै बाहिर आइसकेका छैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, मंसिर १३, २०८१