बलिउडका चर्चित तर असफल जोडीहरु….

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ असार २०७२, मंगलवार १६:३९

amitabफिल्ममा झै लभअफेयर र धोकाको मामिलामा पनि बलिउड अगाडि छ । अहिलेका मात्र होइन, पहिलेका सुपरस्टार पनि प्रेमका मामिलामा अब्बल थिए । एकजनासँग प्रेम, बिहे अर्कैसँग, विवाहितले पनि गुपचुपमा परस्त्री/पुरुषसँग सम्बन्ध गाँस्ने तथा बहुविवाह गर्ने स्टार निकै छन् । पुराना स्टार राजकपुर, देव आनन्द, राजेश खन्ना, नर्गिस, रेखा, श्रीदेवी मात्र होइनन्, अहिले पनि उत्तिकै चल्तीमा रहेका अमिताभ बच्चनसम्मका सेलिब्रेटीको बहुप्रेमकहानीको वेलाबखतमा चर्चा हुने गरेको छ । यहाँ बलिउडका ती चर्चित सलिब्रेटीको प्रेमकहानी प्रस्तुत गरिँदै छ, जुन अधुरै रह्यो ।

दिलीप कुमार र मधुवाला
औधी राम्री हिरोइन मधुवालाको बलिउडका लिजेन्ड दिलीप कुमारसँग गहिरो प्रेम थियो । आफ्नो समयमा उनीहरूले अरू कलाकारले जस्तो आफूहरूको सम्बन्ध लुकाउने/छिपाउने गरेनन् । उनीहरू इन्सानियत फिल्मको प्रिमियरमा एक–अर्काको हात समातेर खुलेआम हिँडेका थिए । त्यसपछि उनीहरूबीचको सम्बन्धबारे कसैले सवाल उठाउने कुरै भएन । उनीहरूको सम्बन्ध ओपन सेक्रेट नै थियो । तर, पनि यो कुराको जरो पत्ता लागेन कि उनीहरूले बिहेचाहिँ किन गरेनन् ? उनीहरूका कैयौँ फ्यान आज पनि यसको रहस्य जान्न चाहन्छन् । बलिउडका अरू प्रेमजोडीको झँै मधुवालाका बाबु अताउल्लाह खान पनि दिलीप कुमारसँगको सम्बन्धको विरुद्धमा थिए । मुधवालाका बाबुले उनलाई दिलीप कुमारसँग बिहे गर्न दिएनन् । मधुवाला पनि बाबुको इच्छाविपरीत गइनन् ।
नयाँ दौर फिल्मको अदालतको एउटा सिनमा दिलीप कुमारले मधुवालालाई आफूले औधी माया गर्ने कुरा बताए । उनले सबैका अगाडि यो पनि भने– म मधुलाई मेरो अन्तिम सास रहुन्जेल माया गरिरहन्छु । बलिउडमा कुनै रियल ट्रयाजिक लभको कुरा गर्दा मधुवाला र दिलीप कुमारको कहानी अघि आउने गर्छ ।

सञ्जीव कुमार र हेमा मालिनी
बलिउडमा सबै स्टारको ब्रेकअप मात्र भएको छैन । केही समय अफेयर चलेर पछि ब्रेकअप हुने र दुवैले आ–आफ्नो व्यवस्था गरेको त देखिएको छ । तर, एउटा यस्तो प्रेमकहानी पनि छ, जहाँ केटीले अर्कैसँग बिहे गरिन् । केटाले प्रेममा त्याग गरे र आजीवन बिहे नगरी बसे । उनी हुन् बलिउडका सदाबहार अभिनेता सञ्जीवकुमार । र, उनकी प्रेमिका हुन्, ड्रिम गर्ल हेमा मालिनी । उनीहरूको प्रेमकहानी पनि अधुरै रह्यो । हिरोहरूबीच सञ्जीवकुमारको बेग्लै विशेषता नभए पनि उनलाई महिलाले भने निकै मन पराउँथे । तर, उनले भने हेमा मालिनीलाई आफ्नो दिलमा सजाएका थिए । उनीहरूबीच प्रेम थियो । त्यही आधारमा उनले हेमालाई बिहेको प्रस्ताव राखे । तर, हेमाको मन कसरी परिवर्तन भयो, उनले सञ्जीवको प्रस्ताव अस्वीकार गरिन् र धर्मेन्द्रसँग बिहे गरिन् । त्यसबाट उनी निकै बिरक्तिए । हेमाका कारण उनले आजीवन बिहे नगरेको तर्क पनि गरिन्छ ।

देवानन्द र सुरैया
सुरिलो आवाजकी धनी सुरैयाको देव आनन्दसँग टिनएजमै भेट भएको थियो । त्यतिवेला सुरैया आफ्नो करिअरको उचाइमा थिइन् । तर, देव आनन्द भने संघर्ष गर्दै थिए । आफू चर्चित भए पनि सुरैयाले संघर्षरत देवलाई औधी माया गर्थिन् । भनिन्छ, नि साँचो प्रेमका अरू सबै कुरा फिक्का हुन्छन्, उनीहरूको प्रेममा यही मान्यता लागू भएको थियो ।
देव र सुरैया गहिरो प्रेममा थिए । तर, सुरैयाको परिवारले उनीहरूको प्रेम स्वीकार गरेन । खासगरी हजुरआमाको चर्काे विरोध र दबाबका कारण उनीहरूको प्रेमको स्याड इन्डिङ भयो । परिवारको आदेशमा आफूसँग सम्बन्ध तोडेकोमा देवले सुरैयालाई कायर भनेर सराप्थे । त्यतिवेला देवले संसारमा सबैभन्दा बढी माया सुरैयालाई गर्थे । उता, सुरैयाले सन् १९७२ मा स्टारडस्टलाई दिएको एउटा अन्तर्वार्तामा आफूले देवसँग बिताएका पल निकै स्मरणीय भएको र आफूलाई सधैँ झस्काइरहने गरेको बताइन् । उक्त अन्तर्वार्तामा उनले देवले प्रेमको वेलामा आफूलाई भनेका सबै कुराको स्मरण गरेकी थिइन् । तर, उनले देवसँग बिहे गर्न भने कसैगरी पनि मानिनन् । उनीहरूको प्रेम अधुरै रह्यो । सुरैयालाई यो कुराको भने जीवनभर नै पछुतो भइरह्यो ।

राज कपुर र नर्गिस
बलिउडका ‘सो म्यान’ राज कपुर अभिनय प्रतिभाका कारण मात्र होइन, हिरोइनहरूसँगको सम्बन्धका कारण पनि चर्चामा छाउने गर्थे । राजप्रति युवती नतमस्तक हुन्थे । तर, उनी नर्गिस भनेपछि हुरुक्कै हुन्थे । नर्गिसप्रति उनको अचम्मको लगाव थियो ।
राज कपुर र नर्गिसले सँगै अभिनय गरेको पहिलो फिल्म आग थियो । वर्षातमा अभिनय गर्दा उनीहरूको प्रेम सुरु भएको थियो । उनीहरूको अफ स्क्रिन अफेयर अन स्क्रिन केमेस्ट्रीमा पनि स्पष्ट देखिन्थ्यो । उनीहरूले थुप्रै ब्लकबस्टर फिल्म दिए ।
तर, उनीहरूको अफेयर धेरै समय टिकेन । कारण थियो– राज विवाहित थिए । नर्गिसले राजलाई उनकी पत्नी कृष्णालाई डिभोर्स दिएर आफूसँग बिहे गर्न दबाब दिएकी थिइन् । तर, राजले नर्गिससँगको प्रेमलाई बिहेमा बदल्न चाहेनन् । राजले आफूलाई बिहे गर्लान् भनेर उनी १० वर्षसम्म पर्खिबसिन् । तर, उनले बिहे गरेनन् । त्यसपछि भने नर्गिस आफ्नै तरिकाले अघि बढिन् । उनले मदर इन्डियाका आफ्ना को–आर्टिस्ट सुनील दत्तसँग बिहे गरिन् । बलिउडका मुन्नाभाइ सञ्जय दत्तकी आमा र राज कपुरको प्रेमकहानी आज पनि उत्तिकै यादगार मानिन्छ ।

मिथुन र श्रीदेवी
बलिउडका डिस्को डान्सर हिरो मिथुन चक्रवर्ती र लाखौँ दिलकी धड्कन श्रीदेवीबीच पनि एक समय गहिरो प्रेम थियो । उनीहरूको प्रेम जाग उठा इन्सान फिल्मको सुटिङबाट सुरु भएको थियो । तर, मिथुनले भने त्यसअघि नै अभिनेत्री योगिता बालीसँग बिहे गरिसकेका थिए । सायद, त्यही कारणले होला, अरूका अगाडि मिथुनले कहिल्यै पनि श्रीदेवीसँगको आफ्नो अफेयर स्वीकार गरेनन् । तर, मिडियाले भने उनीहरूको निकटतालाई नियालिरहेका थिए । उनीहरूको प्रेम जति प्रगाढ बन्दै गइरहेको थियो, बजारमा पनि चर्चा उत्तिकै चुलिइरहेको थियो । त्यतिवेला मिथुन र श्रीदेवीले गुपचुपमा बिहे गरेको हल्ला मात्र फैलिएको थिएन, मिथुनले श्रीदेवीका लागि आफ्नो घर छाडेर हिँडेको कुरा पनि चलेको थियो । यो प्रेमकहानीमा त्यतिवेला ट्विस्ट आयो, जतिवेला श्रीदेवीले मिथुनलाई योगितासँगको सम्बन्ध तोड्ने आदेश दिइन् । मिथुनको श्रीदेवी प्रेमदेखि आजित भएकी योगिताले आत्महत्या गर्ने कोसिससमेत गरिन् । त्यसपछि भने उनीहरू संयमित बने । मिथुन पत्नीकै घरमा फर्किए । त्यसको धेरै दिनपछि खबर आयो– श्रीदेवीले फिल्म निर्देशक बोनी कपुरसँग बिहे गरिन् ।

अमिताभ र रेखा
इन्डियामा कुनै रोमान्टिक स्टोरीको कुरा चल्छ भने त्यहाँ कतै न कतै अमिताभ बच्चन र रेखाको प्रेमप्रसंग आइहाल्ने गर्छ । उनीहरूको अफेयर दो अन्जाने फिल्मको सेटबाट सुरु भएको थियो । उनीहरूको निकट सम्बन्धको चर्चा बजारमा चल्न थालिहाल्यो । त्यतिवेला उनीहरूले गुपचुपमा बिहे पनि गरिसके भन्ने खबर फैलिएको थियो । तर, बजार हल्ला त्यतिवेला अझै हट भयो, जब रेखाको नाम ऋषि कपुरसँग जोडियो । त्यतिवेला ऋषिको नितुसँग बिहे भइसकेको थियो । अमिताभले रेखाप्रतिको आफ्नो प्रेम कहिल्यै पनि सार्वजनिक गरेनन्, तर रेखाले भने आफूहरू प्रेममा रहेको कुरा स्वीकार गर्दै आइन् । सन् १९८४ मा फिल्मफेयर म्यागजिनलाई दिएको एउटा अन्तर्वार्तामा रेखाले अमिताभ र आफ्नो प्रेमबारे विस्तारमा बोलेकी थिइन् । उनले आफू र अमिताभ गहिरो प्रेममा रहेको बताएकी थिइन् । अमिताभले घरपरिवार, बालबच्चा र आफ्नो इमेज बचाइराख्न खुला रूपमा आफूसँगको सम्बन्धबारे बोल्न नखोजेको उनले बताएकी थिइन् । अमिताभ र रेखाले सँगै काम गरेको अन्तिम फिल्म सिलसिला हो । त्यो फिल्मको सुटिङ समाप्ति सँगै उनीहरूको प्रेम पनि फिक्का हुँदै गयो । रेखा अमिताभसँग बिहे गर्न त चाहन्थिन् । तर, ‘कान्छी’ बनेर बस्न भने चाहँदिनथिन् । तर, अमिताभले पत्नी जयालाई छाड्न चाहेनन् । रेखालाई यो सम्बन्धको सुखद अन्त्य छैन भन्ने पक्का भएपछि उनीसँगको निकटता घटाउँदै लगिन् । अन स्क्रिनका साथसाथै उनीहरूबीच अफ स्क्रिन रोमान्स पनि बन्द भयो । तर, अहिले पनि कहिलेकाहीँ उनीहरूको सम्बन्धको चर्चा हुने गरेको छ ।

अक्षय र रविना
रविना टन्डन ९० को दशकमा लाखौँ पुरुषको दिलकी धड्कन थिइन् । टिपटप वर्षा पानी बोलको गीतमा पानीमा भिज्दै पहँेलो साडीमा नाचेकी ती सुन्दरीलाई कसले भुल्न सक्यो र ? तर, उनी भने त्यतिवेला बलिउडका खेलाडी अक्षय कुमारको प्रेममा लीन थिइन् । उनीहरूको प्रेम सन् १९९४ मा बनेको मोहराको सुटिङका क्रममा सुरु भएको थियो । उनीहरू यति गहिरो प्रेममा डुबेका थिए कि सुटुक्क मन्दिरमा गएर इंगेज्मेन्ट गरेका थिए । उनीहरूको प्रेमको दुनियाँ निकै उदाहरणीय थियो, तर कहानीमा त्यतिखेर गएर ट्विस्ट आयो जतिवेला खिलाडीयोंका खिलाडी फिल्म रिलिज भयो र त्यही क्रममा अक्षय र रेखाको रोमान्सको खबर बाहिरियो । रविना अक्षयको स्त्री मोहप्रति काबु भइसकेकी थिइन् । उनलाई अक्षय–रेखा रोमान्सको खबरले ठूलो मौका मिल्यो । जसबाट उनले अक्षयसँग सम्बन्ध टुटाइदिइन् । १९९९ मा रविनाले एउटा अन्तर्वार्तामा रुँदै भनेकी थिइन्– ‘अक्षयलाई केटी देख्नै हँुदैन । प्रपोज गरिहाल्छ । यस्तो बानीले गर्दा ऊ कुनै दिन एकैचोटि चार/पाँचवटा बच्चाको बाउ बन्नेछ ।’ उनले त्यो अन्तर्वार्तामा यो पनि भनेकी थिइन्– ‘म कोही केटीलाई अक्षयसँग ब्रेकअप गर भन्दिनँ । म यति मात्रै भन्छु, ऊसंग मेरो सम्बन्ध थियो । तर, ऊ मप्रति इमानदार थिएन ।’

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१