काठमाडौँ ,२१ असार ।
विनाशकारी भुकम्प र लगातारको पराकम्पनले क्षदविक्षत नेपालको पर्वतीय पर्यटनको तेस्रो गन्तव्य लाङटाङ क्षेत्रको स्थलगत अध्ययन भ्रमणको लागि राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपाल (निट नेपाल) को टोली सोमबार बिहान काठमाडौँबाट लाङटाङतर्फ प्रस्थान गरेको छ । अध्यक्ष श्री दीपक महत लगायतले सोमबार बिहान टोलीलाई शुभकामनासहित बिदाई गरेका थिए ।
स्थलगत अध्ययन भ्रमण टोलीमा निट नेपालका सदस्य तथा रसुवा नुवाकाेट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने, मिडिया कोअर्डिनेटर अशोक सिलवाल र केही स्थानीयवासी पनि रहेका छन् । लाङटाङको पुनर्वास, पुनर्निमाण र त्यहाँ पर्यटन गतिविधीलाई सूचारु गर्ने कार्यमा कसरी सहजीकरण गर्न सकिन्छ भन्ने बिषयमा अध्ययन भ्रमण केन्द्रीत रहनेछ ।
सात दिनको यो स्थलगत अध्ययन भ्रमण काठमाडौँबाट धुन्चे, स्याफ्रुबेशी, लाङटाङ हुँदै क्याङजिङग् गुम्बासम्म हुनेछ । फर्केर राजधानी आएपछि त्यहाँको श्रव्यदृश्यसहित अध्ययन रिपोर्ट एक कार्यक्रम गरी सरोकारवालामाझ प्रस्तुत गरिने अध्यक्ष महतले बताए ।
प्रतिक्रिया