काठमाडौँ, २१ असार । पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गौतमले नेपालको पर्यटन क्षेत्रलाई गुणस्तरीय बनाउनको लागि सबै क्षेत्रलाई मर्यादित बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए)ले पर्यटक सवारी चालक र सहचालकको लागि राजधानीमा सञ्चालन गरेको तीन दिने ‘आतिथ्यता अभिमुखीकरण तालिम कार्यक्रम’को उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले पर्यटक यातायात क्षेत्रलाई मर्यादित बनाउनको लागि चालकहरुले मर्यादापूर्वक नेपाली पहिचान र सभ्यता देखाउनुपर्ने बताउनुभएको छ । “तपाँइहरु नेपालको ऐना हो’ कार्यक्रममा उपस्थित पर्यटक सवारी चालकहरुतर्फ इंगित गर्दै महानिर्देशक गौतमले भन्नुभयो–‘पर्यटकले तपाँइहरुलाई भेटेर नेपाल र नेपालीबारे धारणा बनाउछन् । सबै नेपालीलाई भेट्दैनन उनीहरुले उठबसनै तपाइहरुसँग हुन्छ, तपाँइहरु पर्यटकको गाइड पनि हो । त्यसैले तपाइहरुले मर्यादापूर्वक नेपाली पहिचान र सभ्यता देखाउनसक्नुपर्छ ।’
पर्यटन ऐन (२०३५) लाई सबै प्रक्रियालाई समेटेर परिमार्जन गर्ने प्रक्रियामा रहेको र यसमा पर्यटक सवारी चालकका विषयलाई व्यवस्थित गरिने प्रतिवद्धतासमेत उहाँले जनाउनुभयो ।
भूकम्पपछिको पर्यटनलाई पुनरुत्थान गर्न पर्यटकहरुलाई उत्कृष्ठ सेवा दिनका लागि उनीहरुसँग पहिलो साक्षात्कार हुने पर्यटक सवारी चालकहरुलाई कसरी मर्यादित,व्यवासायिक र जिम्मेवार बनाउने भन्ने उद्देश्यले आतिथ्यता अभिमुखिकरण आयोजना गरिएको हो ।
कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले पर्यटनलाई अघि नबढाइकन मुलुकको आर्थिक उन्नती संभव छैन भन्दै सवारी चालकको मापदण्ड र आचार संहिता नहुदाँ यो व्यवसाय अमर्यादित बन्न नसकेको उल्लेख गर्नुभयो । उहाँले पर्यटकलाई स्तरीय सेवा सुविधा दिनका लागि पर्यटक सवारी चालकको महत्वपूर्ण भूमिका हुने भन्दै एउटा चालकमा सम्पूर्ण नेपालको तस्बिर झल्कने भएकाले इमान्दारिता र जिम्मेवारीपूर्वक पर्यटक सवारी चालकले नेपालको पहिचान झल्काउन सक्नुपर्ने बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले पर्यटकको बसाई लम्ब्याउनलाई पहिलो भेट हुने पर्यटक सवारी चालकको प्रस्तुति र व्यवहारले भरपर्ने भन्दै चालकहरुले पर्यटकसँगको व्यवहार र आतिथ्यता संस्कारमा ध्यान दिनुपर्ने खाँचो औंल्याउनुभयो ।
नेपालमा आउने पर्यटकसँग पहिलो भेट पर्यटक सवारी चालकसँग हुने भएकाले उनीहरुलाई आगामी दिनमा उनीहरुलाई कसरी मर्यादित र व्यवसायिक बनाउने भन्ने उद्देश्यले अभिमुखिकरण आयोजना गरिएको सङ्घका अध्यक्ष रामशरण कार्कीले बताउनुभयो ।
राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)का अध्यक्ष शिव अधिकारीले चालक भनेको पर्यटक यातायात क्षेत्रको अक्सिजनको संज्ञा दिदै यस्तो संवेदनशिलतालाई ध्यानमा राख्दै उनीहरुको लागि थप तालिम तथा अन्य सुविधाहरुको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष रमेश धमला र नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट (नाट्टा) का अध्यक्ष डिबी लिम्बु, टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुरगान) का अध्यक्ष हरेराम बराललगायतले पर्यटक सवारी चालक मर्यादित र जिम्मेबार बनेमात्र पर्यटक पाहुनाको स्वागत सत्कार हुने भन्दै चालकप्रतिको सम्मान र उनीहरुको जिम्मेवारिता जरुरी भएको उल्लेख गर्नुभयो ।
दुईसयभन्दा बढि पर्यटक सवारी चालक तथा सहचालकहरुलाई पर्यटनविद दीपक महत, टुरगानका अध्यक्ष हरेराम बराल, प्रहरी निरीक्षक मधुशुधन शिलवाललगायतले प्रशिक्षण दिनुहुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया