अमेरिकाको दक्षिण–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरूका प्रतिनिधिमूलक दुई संगठन नासा र आन्माको एघारौं संयुक्त सम्मेलनको तयारी तीब्रताका साथ भइरहेको छ । नासा र आन्माको एघारौं सम्मेलन आउँदो सेप्टेम्बर ४,५ र ६ मा नर्थ क्यारोलिना राज्यको ग्रिन्सबोरो सिटीको होटल एम्बेसी स्विटमा भब्य रूपमा आयोजना गरिने नासाका पूर्व अध्यक्ष राजा घलेले जानकारी दिए ।
विगत लामो समयदेखि हुँदै आएको यो सम्मेलन यस पटक नेपालको भूकम्पपीडित क्षेत्रमा पुनर्निर्माणमा सहयोग संकलनको मुख्य उद्धेश्यका साथ हुन लागेको मूल आयोजक समितिले जनाएको छ । समितिले निर्वाचनमा सहभागी हुन यही जुलाई ८ सम्म दर्ता र सदस्यता नवीकरण गरिसक्न पनि आह्वान गरेको छ । सम्मेलनबाट नासाको आगामी दुईवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिनेछ । निर्वाचनमा अमेरिकाको दक्षिण पूर्वी राज्यहरूमा रहेका नेपालीहरू सहभागी हुन पाउनेछन् । तर, निर्वाचनमा सहभागी हुन जुलाई ८ सम्म दर्ता र साधारण सदस्यता लिइसकेको हुनुपर्ने बताइएको छ । करिव १५ वटा राज्यमा बस्ने नेपालीहरू सहभागी हुने सम्मेलनमा विभिन्न प्रतियोगितात्मक खेलकुदका साथै फेसन, सांस्कृतिक प्रस्तुती, कन्सर्ट, स्वास्थ्य, शिक्षा, साहित्यलगायत नेपालसम्बन्धी विशेष कार्यक्रमहरू हुने भएका छन् ।
बालशिक्षा तथा खेलकुद, युवा, महिला, कानुनी, समाज तथा कल्याण, सञ्चारलगायतका विषय र क्षेत्रका लागि यो सम्मेलन उपयोगी हुने बताइएको छ । सम्मेलनमा नेपालका ख्यातिप्राप्त र चर्चित कलाकारहरूको उपस्थितिमा विशेष सांगीतिक सन्ध्या हुने भएको छ । जसबाट उठेको रकम नेपालको पुनर्निर्माणका लागि सहयोग गरिने भएको छ । यसअघि नासा र आन्माको छैठौं सम्मेलन सन् २०१० मा केन्टकीमा, सातौं सम्मेलन सन् २०११ मा जर्जियामा, आठौं सम्मेलन सन् २०१२ मा इन्डियानामा, नवौं सम्मेलन सन् २०१३ मा साउथ क्यारोलिनामा र दसौं सम्मेलन २०१४ मा कोलोराडोमा सम्पन्न भएको थियो ।
यसैबीच नासाले यही जुलाई १२ तारिख दिउँसो ३ बजे ग्रिन्सबोरोको होटल एम्बेसी स्विटमा भूकम्पपीडितका लागि संकलित राहत हस्तान्तरण गर्ने भएको छ । संकलित राहत अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको नासाका पूर्व अध्यक्ष राजा घलेले जानकारी दिए । सानाका पहिलो निर्बाचित अध्यक्ष साथैं एनआरएन अमेरिकाका लागि आइसिसी समेत रहेका घलले आउँदो सेप्टेम्बर ४,५ र ६ मा नर्थ क्यारोलिना राज्यको ग्रिन्सबोरो सिटीको होटल एम्बेसी स्विटमा हुने सम्मेलनमा सहभागी हुन पनि आग्रह गरेका छन् ।
प्रतिक्रिया