काँग्रेस बाँकेमा नेतृत्व दावी गर्नेको होडबाजी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० असार २०७२, आईतवार १०:०७

काशी पोख्रेल
बाँके, २० असार । नेपाली काँग्रेस बाँकेको अधिवेशन नजिकिदै गर्दा नेतृत्व दावी गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । उम्मेदवारी घोषणा गरेका मध्ये केहीले सामाजिक सञ्चाल मार्फत प्रचार अभियान थालिसकेका छन् भने केहीले उम्मेदवारी घोषणा नगरे पनि भित्रभित्रै चुनावी अभियानमा जुटेका छन् ।
नेपाली काँग्रेस बाँकेका निवर्तमान सभापति स्वर्गिय डा. अरुण कोइरालाका श्रीमति एवम् नेपाल महिला संघ बाँकेका निवर्तमान अध्यक्ष किरण कोइराला, महासमिति सदस्य लक्ष्मी नारायण शाह, निरञ्जन सिंह सिजापति, नारायण प्रसाद गौडेलले सभापतिका लागि भिड्ने भएका छन् । वर्तमान कार्यवहाक सभापति लाहुराम थारुले पनि उम्मेदवारी दिने चर्चा चलेको छ । कोहलपुर क्षेत्रका नाम चलेका काँग्रेस नेता नारायण प्रसाद सिग्दलले पनि उम्मेदवारी दिनसक्ने संकेत गरेका छन् ।
kangressउम्मेदवारी दिने घोषणा गरेका मध्ये धेरैले आफूलाई खाँटी काँग्रेस, पार्टीमा ठूलो योगदान, पार्टी सञ्चालनको अनुभव र क्रियाशीलतालाई आड बनाएका छन् । नेपाल महिला संघ बाँकेका निवर्तमान अध्यक्ष किरण कोइरालाले विपी कोइराला, गिरिजा प्रसाद कोइराला, सुशील कोइराला लगायत काँग्रेसका चर्चित नेतासँगको संगत र प्रशिक्षणले आफू पार्टी चलाउन सक्षम भएको बताउँछिन् ।
‘राज नेताहरुसँगको संगत र पार्टीभित्र लामो समय काम गरेको अनुभव बटुलिसकेकोले पार्टी राम्रोसँग चलाउन सक्छ भन्ने मलाई पूर्ण विश्वास छ,’ उनले भनिन्, ‘सवैको समस्या समाधान गर्न सक्ने अनुभव र क्षमता म सँग छ ।’
यूवा नभए पार्टी नचल्ने भए पनि यूवाले मात्र पार्टी सुदृढ नहुने बताउँदै उनले यूवाभन्दा आफू पनि कम नभएको दावी गरिन् । उनले भनिन्, ‘म उमेरले पाको भए पनि यूवाभन्दा सक्रिय छु, यूवाले भन्दा म बढी खटिन र काम गर्न सक्छु ।’ उनले सहमतिको सम्भावना नरहेकोसमेत बताइन् । ठूलो पार्टीमा आकांक्षि धेरै हुनु स्वभाविक भएको बताइन् । ‘अहिले सहमतिमा नेतृत्व चयन हुने सम्भावना एकदमै कम छ ।’
नेपाली काँग्रेस क्षेत्र नंं. १ का निवर्तमान सभापति नारायण प्रसाद गौडेलले पनि अनुभव र पार्टीलाई दिएको अनुभवको आधारमा यसपाली आफूले सभापति पाउने पर्ने दावी गरेका छन् । सहमतिको पक्षमा आफू भए पनि आफू पछाडी हटेर नेतृत्वमा सहमति गर्न नसकिने गौडेलले स्पष्ट पारेका छन् । विद्यार्थी राजनीति हुँदै एक कार्यकाल पार्टीको जिल्ला सह–सचिव, २ कार्यकाल जिल्ला सदस्य, महासमिति सदस्य र हाल नेपाली काँग्रेस संगठन विभागको केन्द्रीय सदस्य भइसकेकोले सभापतिको दावी गर्नु स्वभाविक भएको उनले बताए ।
‘पूर्व राजा ज्ञानेन्द्रले ‘कु’ गरेको बेला २ पटक गरी ६ महिना जेल, आजिवन पार्टीमा क्रियाशील, लामो योगदान र अनुभवको आधारमा मैले सभापतिमा दावी गरेको हुँ,’ उनले भने, ‘दावी गर्ने बेला अहिले नै हो ।’ २०२१ सालमा जन्मिएका गौडेलले २०४७ सालमा नेपाली काँग्रेसको क्रियाशील सदस्यता पाए । उनले कुनै हालतमा यसपाली सभापतिमा उम्मेदवारी दिने प्रष्ट्याएका छन् ।
सभापतिमा सवैभन्दा पहिले उम्मेदवारी दिने घोषणा गरेका नेपाली काँग्रेसका अर्का नेता लक्ष्मी नारायण शाहले पनि यसपाली सभापतिमा उम्मेदवारी दिएरै छाड्ने बताएका छन् । टेलिफोनमा कुरा गर्दै शाहले बाँकेको पार्टी संगठन बलियो बनाउन आफूले उम्मेदवारी दिन लागेको जानकारी दिए । ‘अहिले काँग्रेस बाँके एकदमै कमजोर भएको छ, पार्टीलाई सवल र सुदृढ बनाउन यूवाले मात्र सक्छ भन्ने मेरो दावी हो,’ उनले भने, ‘राजनीतिमा यूवाको भविष्य सुनिश्चितताका लागि मैले उम्मेदवारी दिन लागेको हुँ ।’
आफू जन्मजात काँग्रेस भएको र अहिलेसम्म कहिँकतै विचलित नभएर निरन्तर पार्टीको काममा अग्रसर भइरहेको उनले दावी गरे । २०५५ सालदेखि नेपाली काँग्रेसको विद्यार्थी राजनीतिमा लागेको बताउँदै उनले नेपाल विद्यार्थी संघको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको सचिव, काँग्रेस बाँकेको कोषाध्यक्ष, महासमिति सदस्यको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
उनले भने, ‘म जन्मजात काँग्रेस हुँ भने मेरो परिवारमा नेपाली काँग्रेस बाहेक अन्य दलमा कोही आवद्ध छैनन् । ३ पुस्ता नेपाली काँग्रेसको अनुभव म सँग छ ।’
उनले योगदान र अनुभवको आधारमा मात्र पार्टी नचल्ने बताउँदै जनआन्दोलनलाई संस्थागत गर्न र भावनाको कदर गर्न यूवालाई नेतृत्व हस्तान्तरण आवश्यक भएको औँल्याए । सभापतिका अर्का दावेदार निरन्जन सिंह सिजापतिले पनि आपूmलाई नेपाली काँग्रेसको अनुभवी र अब्बल नेता भएको दावी गरेका छन् । उनले पनि कुनै पनि हालतमा आफूले सभापतिमा उम्मेदवारी दिने स्पष्ट पारे । हाल काठमाडौँमा रहेका सिजापतिले टेलिफोनमा भने, ‘२०४० सालदेखिको योगदान र क्रियाशीलताको उपयोग गर्न मैले यसपाली सभापतिमा उम्मेदवारी दिँदैछु ।’
विद्यार्थी कालमा समेत काँग्रेसको राजनीति गरेको दावी गर्दै सिजापतिले लामो अनुभव र क्रियाशीलताले आफूलाई सक्षम नेता बनाएको स्पष्ट पारे । कमजोर नेतृत्वका कारण बाँके काँग्रेस कम्जोर भएको औँल्याउँदै उनले पार्टीलाई सशक्त बनाउन आफ्नो नेतृत्व सफल हुने दावी गरे । उनले भने, ‘सभापतिको जिल्लामा ३ सिट गुमाउनुले पार्टी संगठन कमजोर छ भन्ने प्रष्ट हुन्छ । पार्टीलाई बलियो बनाउन म सक्षम भएकोले उम्मेदवारी दिने घोषणा गरेको छु ।’
काँग्रेस बाँकेका कार्यवहाक सभापति लाहुराम थारुले पनि सभापतिको स्वतः दावेदार भएको बताएका छन् । ‘उप–सभापतिपछि स्वतः सभापतिमा जानुपर्ने भएकोले सभापतिमा मेरो दावी हुनु स्वभाविक हो,’ कार्यवाहक सभापति थारुले भने, ‘उप–सभापति पछि जाने ठाउँ नै कहाँ छ र ?’ सर्वसम्मत नेतृत्व चयन भए पूर्व सभापति कृष्णमान श्रेष्ठले पनि इच्छा देखाएको काँग्रेस बृत्तमा चर्चा छ । त्यसैगरी कोहलपुरका चर्चित काँग्रेस नेता एवम् संविधानसभा निर्वाचनमा बाँके क्षेत्र नं. १ का उम्मेदवार नारायण प्रसाद सिग्देलले पनि इच्छा देखाएका छन् । ‘पहिले क्षेत्रीय अधिवेशनबाट प्रतिनिधि बनौँ अनि सोँचौला,’ सिग्देलले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१