राष्ट्रिय स्तरबाट कूटनीतिक पहल र अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन’ अत्यावश्यक : शिव अधिकारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ असार २०७२, शनिबार ०७:५७

10357246_1560348714227461_3438850965396838207_nवैशाख १२ को विनाशकारी भूकम्पका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पर्यटन क्षेत्र पनि एक हो । लामो कालखण्डदेखिको अन्योलता र अस्थिरतालाई चिर्दै भर्खर बामे सर्न लागेको पर्यटन क्षेत्रका लागि यो विनाशकारी भूकम्प निकै अफापसिद्ध ठहरियो । मानवीय क्षतिसँगै महत्वपूर्ण राष्ट्रिय सम्पदाहरू, पर्यटन रुटलगायत विभिन्न व्यवसायमा पुगेको अपूरणीय क्षतिले हाम्रो पर्यटन विकास केही समयका लागि पछाडि परेको छ । तर, पछिल्लो समय पर्यटन प्रवद्र्धनका लागि विविध कार्य सरकारी तथा निजी क्षेत्रको पहलमा थालनी भएका छन् । यसबीचमा भूकम्पको भय पूर्णरूपमा नहटिसकेको अवस्थामा सरकारले विभिन्न सम्पदामा पर्यटकका लागि प्रवेश खुला गर्नेलगायत कार्यक्रम गरिसकेको छ । योबाहेक पर्यटन विकासका लागि बजेटलगायत कुरामा प्राथमिकताका साथ सरकारले आंशिक रूपमा ध्यान दिएको देखिएको छ । तर, पर्यटन प्रवद्र्धनको प्रमुख पाटो सकारात्मक सन्देश प्रभाव गर्नमा सरकार चुकिरहेको देखिन्छ । सरकारको खास दायित्व नै मूल रूपमा नेपालको पर्यटन प्रवद्र्धनार्थ सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने अवस्थामा निरीहता प्रदर्शन गर्दै आइरहेको छ । भूकम्पपछाडि विश्व समुदायमा एउटा सन्देश जबर्जस्त रूपमा गएको छ– नेपालका सबै सम्पदा रित्तिए, पर्यटन क्षेत्र सबै डामाडोल भए, परकम्पहरू निरन्तर गइरहेका छन्, तसर्थ अब नेपाल जानु सुरक्षित छैन । यस्ता नकारात्मक र भ्रामक सन्देश अद्यापि फैलिरहेका छन् । तर, यस्ता भ्रमको निवारण गरी पर्यटकलाई निस्फिक्री नेपाल आउन प्रेरित गर्नेजस्ता काम गर्न सरकार चुकेको छ । भूकम्पपछाडि पर्यटक आगमन ह्वात्तै घटेको छ । मुख्य पर्यटकीय सिजनमा नै विपक्ति आउनु यसको मुख्य कारण हो । तर, यसका बाबजुद पनि पर्यटक आगमन थारै नै भए पनि वृद्धि गर्न सकिन्थ्यो, जो देखिएन । आपत्कालीन राहतका कारण पर्यटन प्रवद्र्धनमा सरकारको ध्यान साबिकको भन्दा कम जानु जायजै हो । तर, विपक्तिपछि दुई महिना बढी बितिसकेको छ । जनजीवन सामान्यतर्फ उन्मुख हुँदै छ । यस्तो अवस्थामा पर्यटकहरू लगभग शून्यको स्थितिमा झर्नु लाजमर्दो अवस्था हो । निकै द्रूत गतिमा पर्यटन विकासमा लाग्नुपर्ने बेला देखिएको निरीहता भावी पर्यटन विकासमा प्रतिउत्पादक बन्ने निश्चित छ । पर्यटन क्षेत्रमा आशा जगाउने कुरा त परै जाओस् बरु केही समयअगाडि मात्र सरकारले राजधानीलगायत उपत्यकाका तीन जिल्लालाई संकट क्षेत्र घोषणा गरेको छ । मुख्य पर्यटकीय क्षेत्र राजधानीलाई नै संकटग्रस्त घोषणा गरेर पर्यटन विकास कसरी हुन सक्छ ? पर्यटन प्रवद्र्धनमा सार्थक बन्नुपर्ने सरकार आफैँ बाधक भएको घटना खोज्न बाहिर जानुनपर्ने यो एउटा दशी हो । यसलगायत विभिन्न १४ जिल्लालाई भूकम्पीय हिसाबले जोखिमपूर्ण जिल्ला भनी घोषणा गरेको छ । यो अर्को अपरिपक्व निर्णय हो । यो तत्काल फिर्ता हुनुपर्छ । भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भए पनि भूकम्प मुलुकका लागि एउटा अवसर पनि बन्न सक्छ– यो आवाज ठूलै जमातबाट आएको सुनिन्छ । यसमा केही हदसम्म सत्यता पनि झल्किन्छ । जस्तो, यसभन्दा अगाडि नै पनि विभिन्न मुलुकमा गएका भूकम्पका उदाहरणलाई हेर्दा के देखिन्छ भने तिनले चुनौतीलाई अवसरको साँचोमा ढालेर समृद्धि हासिल गरेका प्रमाण प्रशस्तै छन् । हाम्रोभन्दा बढी क्षति व्यहोरेर पनि तिनीहरू बौरिएका छन् । यो हाम्रो चलाखीमा भर पर्ने कुरा हो, चुनौतीलाई समस्यामात्र देख्ने कि त्यसभित्रको अवसरलाई पनि चिन्ने । भूकम्पको क्षतिलाई अवसरमा परिणत गर्ने थुप्रै विकल्पहरू हामीमाझ हाजिर छन् । जस्तो, अहिले भूकम्पबाट अत्यधिक क्षतिग्रस्त केही जिल्लालाई ‘विपत् पर्यटन’ को कायक्रम ल्याएर पर्यटक आगमन बढाउन सकिन्छ । विभिन्न प्राकृतिक तथा कृत्रिम संकटका कारण विश्वमा हाम्रोभन्दा भयावह नियति भोगेका इन्डोनेसिया, भियतनाम, फिलिपिन्सदेखि हाम्रै छिमेकी चीन र भारतले पनि विपत्को राम्रो उपयोग गरेका छन् । अब यो विपत्को व्यवस्थापनका मामिलामा हाम्रो दक्षता देखाउने बेला आएको छ । यस्तो अवस्थामा एउटा विकल्प हामीमाझ उपस्थित छ– भूकम्पबाट बढी प्रभावित केही निश्चित जिल्लालाई ‘डिजास्टर टुरिजम’ अर्थात् विपत् पर्यटनको रुपमा विकसित गर्ने । यो भनेको भूकम्पले तुलनात्मक रुपमा बढी क्षति पु¥याएका केही जिल्लाको क्षतिको स्वरुपलाई जस्ताको तस्तै कायम राखेर ‘भूकम्पले यस्तो क्षति निम्त्याएको छ है’ भन्दै पर्यटकलाई आकर्षित गर्ने विधि । यस्तो विधि विभिन्न मुलुकहरूमा पनि प्रयोगमा आइसकेको समेत छ । गोर्खा, सिन्धुपाल्चोक, दोलखा, धादिङ, रसुवा क्षेत्रमा यो अवधारणा ल्याउन सकिन्छ । सरकारले यसमा सोच्न सक्छ । यो पर्यटन प्रवद्र्धनको एउटा गतिलो माध्यम बन्न सक्नेमा शंकै छैन । तर, सरकार तदारुकताका साथ अघि बढ्न आवश्यक छ । विपत्तिपछिको लामो समय व्यतित भइसक्दा पनि सरकारले पर्यटन प्रवद्र्धनका लागि औपचारिक रूपमा सकारात्मक सन्देश प्रचार गर्नमा आनाकानी गरिरहेको छ । खासगरी अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक प्रचार फैलिएका कारण पर्यटक आगमन झन्डै शून्यमा झरेको हो । यसलाई हटाएर सकारात्मक सन्देशमात्र प्रवाह गर्ने हो भने पनि पर्यटकको ओइरो लाग्न सक्छ । होइन भने आउँदो पर्यटकीय सिजनमा पनि पर्यटन आगमन निराशाजनक हुनेमा दुईमत नहोला । हुँदै नभएको ठूलो क्षति प्रस्तुत गरेर विदेशीहरूबाट मोटो रकम कुम्ल्याउने धन्दा पछिल्लो समय मौलाएको छ । यसमा विभिन्न एनजिओ/आईएनजिओदेखि विभिन्न खराब नियतका व्यक्ति नै संलग्न देखिएका छन् । यसलाई चिर्नु जरुरी छ । अन्तर्राष्ट्रिय रूपमा सकारात्मक सन्देश प्रवाह गरी पर्यटक आगमनमा बढोत्तरी ल्याउने हो भने तत्काल एउटा ‘अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन’ अत्यावश्यक छ । ‘अन्तर्राष्ट्रिय सहयोग सम्मेलन’ जो केही समयअघि मात्र सम्पन्न भयो । यही स्वरुपमा अन्तर्राष्ट्रिय मिडिया, विभिन्न मुलुकका कूटनीतिक नियोग, दातृ निकायका प्रतिनिधिसहित, पर्यटनसँग सम्बन्धित अन्तर्राष्ट्रिय ट्राभल, ट्रेक्स र टुर अपरेटरलाई समेत समाहित गरेर सकारात्मक सन्देश प्रवाह गर्न सकिन्छ । यसो गर्न सकियो भने भूकम्पबाट तहसनहस भएको पर्यटक आगमनमा वृद्धि हुन सक्छ । मुलुकको पर्यटनलाई पुनोरुत्थान गर्ने तत्कालीन एक रणनीति हुन सक्छ, यो विधि । यसका साथै अर्को तत्काल गर्नुपर्ने काम भनेको  ‘ट्राभल एड्भाइजरी’ मा नेपालबारे समेटिएको नकारात्मक सामग्री हटाउने । सरकारले राष्ट्रिय स्तरबाट कूटनीतिक हिसाबले पहल गर्ने हो भने यो कुनै असम्भव कुरा होइन । तसर्थ सरकारले अनर्गल प्रचारप्रसार मात्र रोक्न सक्ने हो भने पनि शून्यमा झरेको पर्यटक आगमनलाई वृद्धि गर्न सकिन्छ । (लेखक राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) का अध्यक्ष हुन् ।)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१