किशोर बुढाथोकी
सिन्धुपाल्चोक, १८ असार । भुईचालोका कारण जिल्लाका अधिकांश गाउँमा पानीको मुहान सुकेपछि सिन्धपाल्चोकमा खानेपानीको समस्याले सताएको छ। भुईचालोले जमिन हल्लाएपछि सुकेका मुहानमा पानी नपलाउँदा जिल्लैभर खानेपानीको चरम अभाव भएको हो।
६८ गाविस र दुई नगरपालिका रहेको जिल्लाका सबैजसो ठाउँमा अहिले पानीको समस्या छ। सफा खानेपानी नपाउँदा जिल्लाका केही भेगका बासिन्दा विमारीसमेत पर्न थालेका छन्। पाखोबाट बगेर जम्मा भएको धमिलो पानी पिउन बाध्य भएकाले गाउँमा स्वास्थ्य समस्या परेको हो।
सदरमुकाम चौतारामासमेत पानीको समस्या छ। विशेषगरि हिमाली गाउँवासी खनेपानी अभाव भोगिरहेका छन्। मुहानबाट पानी ल्याउने अधिकांश ठाउँमा पहिरो गएकाले सहज आपुर्ती गर्न सकिएको छैन। जिल्लाको सेलाङ, बराम्ची, पाङताङ, बरुवा, बाँसखर्क, सिम्पालकाभ्रे, स्याउले, तौंथलीलगायत गाउँमा चरम समस्या भएको स्थानीयले बताएका छन्।
पाङताङवासी खोलाको धमिलो पानी पिउन बाध्य छन्। पाङताङ–१ मा बसोबास गरिरहेकाहरु अहिले पानीको सहज ब्यवस्थ्ाा मिलाउन विभिन्न निकायमा धाइरहेका छन्। पाइपको माग गर्दै शुक्रबार चौतारा आइपुगेको पाङताङवासीले सञ्चारकर्मीसमक्ष पानीको जोहो गराइदिन आग्रह गरे। उनीहरु गाविसको सिफारिससहित पाइपका लागि सहयोग माग्दै सदरमुकाम आएका थिए। ‘भुईंचालोबाट जोगिएको ज्यान राम्रो पानी खान नपाएर जालाजस्तो छ,’ पाङताङ–१ का खड्गबहादुर गुरुङले भने, ‘हामी पाँच घण्टा लगाएर पानीको लागि पाइप पाइन्छ कि भनेर आएका छौं।’
पाङताङवासीेले पहिले पानी ल्याउने गरेको मुहान सुकेको छ। ‘अहिले बाढी आएको धमिलो पानी खाएर बाँच्नुपर्ने अवस्था छ,’ उनले गाउँको समस्या सुनाए, ‘मान्छेहरु बिरामी पर्न लागिसकेका छन्।’ अहिले भएको पानीको मुहानबाट बस्तीसम्म ल्याउन १५ सय मिटर पाइपको आवश्यकता रहेको उनले बताए। उनीहरुलाई स्थानीय सुनखानी उत्तीसघारीबाट पानी ल्याउनु पर्दछ। त्यहाँबाट पानी ल्याउने व्यवस्था भए पाङताङ घुंगावेशीका बासिन्दा ढुक्कसँग बस्न सक्ने उनको भनाई छ।
पानी ल्याउन ठाउँमा पहिरोको जोखिम भएकाले पनि गाउँवासीलाई समस्या परेको छ। अर्काेतिर सँधै खाइरहेको मुहानबाट ल्याइएको पानीको पाइप पहिरोले बगाएकाले पनि थप समस्या परेको हो। अहिले गाउँबासीसँग पाइप खरिद गरेर आफैले व्यवस्था गर्न आर्थिक अभाव छ।
प्रतिक्रिया