जतिबेला मुलुक दशवर्षे जनयुद्धको उत्कर्षमा थियो, मुलुकका सबै अवयवहरु लगभग शून्यप्रायः थिए । आर्थिक, सामाजिक, राजनीतिकलगायतका यावत् पक्षहरु काम गर्ने अवस्थामा थिएनन् । अझ भनौँ, मुलुकमा बढ्दै गइरहेको अशान्ति र अव्यवस्थाका बीच त्रासदीको स्थितिमा कोही पनि ढुक्कसँग बस्न सक्ने स्थिति थिएन, बन्द व्यापार र व्यवसायको कुरा त परै जाओस् । माओवादी आन्दोलनले निम्त्याएको संकट थियो, यो ।
यस्तो विषद् चुनौतीको मझधारमा गन्तव्य नेपाल पाक्षिक नामक पत्रिकाको स्थापना गरेर ‘भुङ्ग्रोमा फाल हाल्ने’ चेष्टा गर्नुभएको थियो– शिव अधिकारीले । एकातिर मुलुकको विगँ्रदो हालत छँदैछ त्यसमा पनि मूलधारका मानिने मिडियाबाटै कभरेज पाउँदै नपाएकासमेत भन्न मिल्ने अवस्थामा पर्यटनलाई मुलुकको विकास र समृद्धिको वाहक बनाउन सकिन्छ भन्ने ठानेर अधिकारीले ‘गन्तव्य नेपाल पत्रिकाको माध्यमबाट पर्यटन जगाउने चेष्टा गर्नुभएको थियो ।
एक दशकको अन्तरालबीच गन्तव्य नेपाल पर्यटन क्षेत्रको नामी पत्रिकाको रुपमा आफुलाई परिचित गराइसकेको छ । एक दशक पुगेको अवसरमा पाक्षिकबाट साप्ताहिकमा अपग्रेड गर्नु पत्रिकाको अर्को ठूलो उपलब्धि हो ।
यो समयसम्म आइसक्दा पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको एउटा खम्बा बनिसकेको कुरा जगजाहेरै छ । विकास र समृद्धिको छोटो बाटोको रुपमा पर्यटनलाई लगाउन सकिन्छ भन्नेमा सरकारलगायत सबैमा चेतना जागृत भइसकेको छ, जसको श्रेय धेरथोर गन्तव्य नेपाल र यसका अध्यक्ष शिव अधिकारीलाई जान्छ ।
शिव अधिकारी वि.सं. २०३९ साल कात्तिकमा नुवाकोट जिल्लाको तारुका गाविसमा जन्मनु भएको हो । कक्षा सातसम्मको अध्ययन तारुकाको श्रीकृष्ण माध्यमिक विद्यालयबाट पाए भने बाँकी विद्यालय तहको अध्ययन उहाँले राजधानीबाट गर्नुभएको हो । यसका लागि विसं २०५० सालमा नै काठमाडौं प्रवेश गरेका थिए । मनोहरा माध्यामिक विद्यालय सामाखुसीबाट उहाँले वि. स. २०५४ सालमा एसएलसी उत्तीर्ण गर्नुृभएको हो ।
विद्यालय तहको अध्ययनपश्चात अधिकारी कानुन विषयको अध्ययनका लागि प्रदर्शनीमार्गमा रहेको नेपाल ल क्याम्पसमा भर्ना हुनुभयो । ल क्याम्पसमा आइइएलसम्मको अध्ययन पूरा गरेपछि उहाँले अध्ययनको विषयलाई परिवर्तन गरेर व्यवस्थापन संकायमा स्नातक गर्ने उद्देश्यले सरस्वती क्याम्पसमा भर्ना हुनुभयो र उहाँले विविएस अध्ययन पूरा गर्नुभयो ।
लामो समयदेखि पर्यटन क्षेत्रसँग निकट रहेर काम गरिरहनुभएका अधिकारीको प्रत्येकजसो पर्यटकीय संघसंस्था र व्यवसायीसँग राम्रो सम्बन्ध छ । अधिकारी राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)का अध्यक्ष तथा रसुवा नुवाकोट पर्यटन समाजका महासचिव हुनुहुन्छ ।
त्यत्तिमात्रै नभएर नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए) र प्राइभेट पर्यटक यातायात व्यवसायी संघका प्रेस सल्लाहकार, टुरिष्ट गाइड एसोसिएन अफ नेपाल (टुर्गान)का प्रमुख कार्यकारी अधिकृत भएर जिम्मेवारी सम्हालिरहनुभएका अधिकारी पर्यटकीय क्षेत्र वौद्धमा रहेको गोल्डेन आइ रुफ टप रेष्टुरेन्टसमेत सञ्चालन गरिरहनुभएको छ ।
यसविचमा विभिन्न्न संघसंस्थाहरुबाट व्यवसायीक सफलता र कुशल नेतृत्वदायी भूमिका निर्वाह गरेवापत उहाँले अहिलेसम्म डा. हर्क गुरुङ मेमोरियल अवार्ड, दावानोर्वु पर्यतीय पर्यटन पत्रकारिता पुरस्कार, हिरो अफ दि टुरिजम जर्नालिष्ट, टान पर्यटन पत्रकारिता पुरस्कारलगायत विभिन्न पर्यटकीय तथा सामाजिक संघसंस्थाबाट सात दर्जन भन्दा बढि अवार्ड र उत्कृष्टताको अभिनन्दन तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।
अधिकारीले गन्तव्य नेपालद्धारा हरेक वर्ष पर्यटन क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तित्वलाई ‘टुरिजम म्यान अफ दी ईयर’ अवार्ड प्रदान गरिरहनुभएको छ ।
अधिकारीले पर्यटन फुटवल कप, पर्यटन पत्रकार सम्मान, सांगीतिक पर्यटनको विकासका लागि पर्यटन दोहोरी साँझलगायत विभिन्न अवार्ड तथा सम्मानको सुरुवात गर्नुभएको छ । सरकारले पर्यटन प्रवद्धनार्थ घोषणा गरेको ‘पर्यटन वर्ष २०११’ लाई सफल बनाउन तथा पर्यटन क्षेत्रमा जनचेतना फैलाउने उद्देश्यले ‘सफल पारौ पर्यटन वर्ष’ र गन्तव्य नेपाल नामक सांगितिक एल्वमसमेत निकाल्नुभएको छ ।
त्यस्तै, मुलुकभरका पर्यटन पत्रकारहरुलाई एकीकृत गरि पर्यटन पत्रकारीतालाई थप व्यवस्थित र सशक्त बनाउन विभिन्न कार्यशाला गोष्ठी, क्षमता अभिवृद्धिलगायतका थुप्रै प्रशिक्षण तथा अभियान चलाउँदै आउनुभएको छ ।
नुवाकोटको तारुकामा प्रत्येक वर्ष हुने बुलफाइट कार्यक्रमलाई संयोजन तथा प्रवद्र्धनमासमेत अधिकारीको ठूलो हात रहेको छ ।
लामो समयदेखि पर्यटन पत्रकारिताको माध्यमबाट मुलुकको पर्यटन प्रवद्र्धनार्थ विभिन्न कार्य गर्दै आउनुभएको अधिकारीले पर्यटनमा आफ्नो अमूल्य समय र उर्जा खर्चिनुभएको छ ।
पर्यटनको प्रवद्र्धनार्थ नयाँ–नयाँ अवधारणाका साथ अगाडि बढ्न सक्ने अधिकारीले हरसमय पर्यटन विकासमै आफ्नो समय खर्चिरहनुभएको छ ।
यीबाहेक गाउँगाउँमा पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्ने, बाटोघाटो निर्माण तथा विद्यालय निर्माण गर्नेदेखि महाविनाशकारी भूकम्पको विपत्तिबाट पीडित गरिब, असहाय र दिन दुःखीहरुको सहयोगार्थ अहोरात्र खटिरहनुभएको छ अधिकारी । उहाँले हालसम्म भूकम्पपीडितहरुको लागि करिब २ करोड बराबर सहयोग गरिसक्नुभएको छ ।
प्रतिक्रिया