बिर्तामोड, १६ असार । नेपाल पत्रकार महासंघ झापा शाखाको १४ औ वैठक पेशागत हक हितका लागि विभिन्न छ वटा निर्णय गर्दै बिर्तामोडमा सम्पन्न भएको छ । अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको बैठकले २०७१फागुन २५देखि २०७२असार १५ गतेसम्मको कूल आम्दानी १२ लाख २९ हजार ५ सय १० रुपैयाँ तथा खर्च बारे कोषाध्यक्ष प्रेम आचार्यले पेश गरेको प्रतिवेदन उपर समीक्षा गर्यो । चालू आर्थिक बर्षको असार मसान्तसम्मको कूल आयव्यय बारे लेखा परीक्षण गराई लेखा परीक्षण प्रतिवेदन आगामी बैठकमा पेश गरी अनुमोदनका साथ सार्वजनिक गर्ने निर्णय गरेको छ । बिर्तामोडस्थित वी एण्ड सी मेडिकल कलेज तथा टिचिङ हस्पिटलसँग पत्रकार तथा पत्रकारको परिवारको उपचारमा विशेष छुटको व्यवस्था गर्न माग गर्ने र त्यस सम्बन्धी दुई पक्षबीच विस्तृत सम्झौता गर्ने निर्णय गरिएको महासंघका सचिव एकराज गिरीले जानकारी दिए ।
त्यस्तै महासंघ कार्य समिति सदस्य अर्जुन राजवंशी हजुरआमा ललिता राजवंशी गत जेठ ३२ गते गौरीगाईको आक्रमणबाट गम्भीर घाइते भइ उपचाररत् रहेको र उपचारमा आर्थिक समस्या देखिएकोले सम्पूर्ण पत्रकारलाई यथाशक्दो सहयोग जुटाउन आव्हान गर्ने निर्णय गरिएको छ । निर्णयसँगै महासंघ कार्यसमितिका पदाधिकारी तथा सदस्यले व्यक्तिगत रुपमा आर्थिक सहयोग जुटाउन थालेका छन् । जिल्ला विकास समिति झापाको सहयोगमा यही असारको अन्तिम सातामा खोज पत्रकारिता सम्बन्धी दुई दिने प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरिएको छ । महासंघका सदस्यहरुले २०७१ सालको सदस्यता २०७२ साउन मसान्तसम्ममा गरिसक्नुपर्ने, २०७२ भदौबाट नियमानुसार जरिवाना लाग्ने तथा २०७२ सालको सदस्यता चैत मसान्तसम्म नै गर्न सकिने निर्णय समेत महासंघले गरेको छ । त्यसैगरी नारी सञ्चार गृह झापाले यही असार १८ र १९ गते ‘महिला हिंसा न्यूनीकरणका लागि सञ्चारको भूमिका’ विषयमा सञ्चालन गर्ने प्रशिक्षणका लागि महासंघले प्रशिक्षक र प्रशिक्षण हल उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रतिक्रिया