‘पर्यटन विकासका लागि एकीकृत योजना’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ असार २०७२, बुधबार १०:३९

२०२२ साल माघ १७ गते बर्दियाको सानोश्री ताराताल नगरपालिका–४ मा जन्मिएका भीम केसी सानैदेखि कम्यूनिष्ट विचारबाट प्रभावित हुनुहुन्थ्यो । नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा अध्ययनका क्रममा एमाले निकट अनेरास्ववियुमा आवद्ध भई राजनीतिमा प्रवेश गर्नुभएको हो । अनेरास्ववियु बाँकेको अध्यक्ष हुँदै आठौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । केही समयपछि उनी युवा संघ नेपालमा दुई कार्यकालसम्म केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पुरा गर्नुभयो । एमाले भेरी अञ्चल कमिटी सदस्य, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, एमाले केन्द्रीय कार्यालयमा उपसचिव, केन्द्रीय स्थानीय विकास तथा भौतिक संरचना विभागको सचिव लगायतका जिम्मेवारी बहन गरिसक्नु भएका केसीलाई नेपाल सरकार पर्यटन मन्त्रालय अन्तरतको चिसापानी पर्यटन प्रवर्धन विकास समितिमा अध्यक्षको जिम्मेवारी दिइएको छ । प्रस्तुत छ उहाँसँग काशी पोख्रेलले गरेको कुराकानी :

naa१.पर्यटन व्यवसायलाई कसरी हेर्नु भएको छ ।
नेपाल पर्यटनको हिसाबले धनी छ । संसारको सर्वाेच्च शिखर सगरमाथा लगायत ८ वटा ठुला हिमशिखरहरु नेपालमा छन् । २ हजार माइल लामो हिमाल रेन्जमध्ये ८ हजार माइल नेपालको उत्तरी सीमा नजिक पर्दछ । अन्नपूर्ण, सगरमाथा, लाङटाङ र मेचीदेखि महाकालीसम्मको ट्रेल हिमालजस्ता ख्यातिप्राप्त पदमार्गहरु छन् । भोटेकोशी, त्रिशुली, भेरी कर्णाली लगायतका धेरै नदीमा जलबिहार गर्न सकिन्छ । दर्जनाँै संख्यामा नेशनलपार्क र संरक्षण क्षेत्रहरु छन् । रारा, सेफोक्सुन्डो, फेवाताल आर्कषण केन्द्र छन् । बैद्यनाथ, पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्धारी, बडीमालिका जस्ता प्रसिद्ध धार्मिकस्थल छन् । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनी सम्पूर्ण बुद्धमार्गिहरुको आस्थाको केन्द्र रहेको छ । हाम्रो देश धार्मिक पर्यटन, पर्यापर्यटन, साँस्कृतिक पर्यटन, साहसिक पर्यटन लगायतका सबै क्षेत्रमा राम्रो सम्भावना रहेको छ । स्पष्ट लक्ष्य, योजना र भिजनका साथ अघि बढ्ने हो भने पर्यटन क्षेत्रमा धेरै काम गर्न सकिन्छ । जल पर्यटन र जनशक्ति हाम्रा महत्वपूर्ण निधि हुन् । जल बगेर खेर गएको छ । जनशक्ति युक्त गर्ने वातावरण भएकोले देश बाहिर पलायनको अवस्था छ । पर्यटनको क्षेत्रमा केही काम भएको छ तर धेरै काम गर्न बाँकी नै छ । विगत २ दशकदेखि देश अस्थिरताको चपेटामा छ । अस्थिर वातावरणमा धेरै काम गर्न गाह्रो हुन्छ । संविधान निर्माण गरी स्थिर सरकार बनाएर पर्यटन क्षेत्रको विकासमा सम्पूर्ण देशवासी एक ढिक्का भएर लाग्ने वातावरण बनान सके मुलुकको पर्यटन व्यवसायको भविष्य उज्यालो छ ।

२.मध्य र सुदूरपश्चिमको पर्यटन विकासको सम्भावना कस्तो छ ?
हाम्रो देशको विकास समतामुलक छैन् । जे जती विकास र पूर्वाधार पूर्वी नेपाल र राजधानी वरपर छ । तर मध्य र पश्चिम क्षेत्रको विकासको रफ्तार कम छ । राज्यको दृष्टि समान ढंगको देखिएको छैन । यस क्षेत्रका बासिन्दा र अगुवाहरुको आफ्नो क्षेत्रको विकासको लागि जति प्रयत्न र तत्परता हुनुपर्ने हो त्यो पनि हामीले देखाउन सकेका छैनौँ । अब हामीले पनि हाम्रो क्षेत्रको समग्र विकास गर्न अघि बढ्नु र पहलकदमी लिनु आवश्यक छ । यस क्षेत्रमा धार्मिक पर्यटन विकासको प्रचुर सम्भावना छ । यस क्षेत्रमा स्वर्गद्वारी, बागेश्वरी, बडीमालिका, पन्चकोशी, काँक्रेबिहार, पाँचतले गुफा लगायतका प्रसिद्ध धार्मिक स्थलहरु छन् । राराताल, फोक्सुण्डो ताल, घोडाघोडी ताल र बढैया ताल यस क्षेत्रका अत्यन्त महत्वपूर्ण तालहरु हुन् । पर्यापर्यटन र वन्यजन्तुप्रति रुची राख्ने पर्यटकहरुलाई यो क्षेत्र अत्यन्त उर्वर छ । पहाडमा से–फोक्सुण्डो, रारा राष्ट्रिय निकुञ्ज, खप्तड मैदानी भाग, शुक्लाफाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज रहेका छन् । प्रशस्त संरक्षण क्षेत्र र सिमसार क्षेत्र यसक्षेत्रभित्र पर्दछन् । राप्ती, भेरी, कर्णाली, बबई, महाकाली नदिमा बिहार गर्न सकिन्छ । थोरै दूरीमा हावापानीमा फेरबदल छ । हिमाल, पहाड र तराईको उत्कृष्ट संयोजन छ । वन्यजन्तु र जडीबुटीका अनगिन्ति सम्भावनाहरु यस क्षेत्रमा छन् । अपी र शैपाल हिमाल पनि छन् । नेपालगन्ज सिमिकोट हिल्सा हुँदै मानसरोवर जाने बाटो पनि यही क्षेत्रमा पर्दछ । हामीले आन्तरिक पर्यटनको विकास गर्ने बाह्य पर्यटनमा दिल्ली र लखनउका पर्यटकहरुलाई सिधँै नेपालगन्ज भित्रायाउन सके धेरै लाभा लिन सकिन्छ । यी क्षेत्रको प्रचारप्रसार, प्रबद्र्धन र वकालत गर्न हामीले आजैबाट शुरु गर्नु पर्छ भन्ने मलाई लागेको छ ।

३.चिसापानी क्षेत्रको पर्यटनको अवस्था र पर्यटकीय गन्तव्यको बारेमा तपाईँका योजना केके छन् ?
चिसापानी क्षेत्रको मुख्य पर्यटन भनेको पर्यापर्यटन वन्यजन्तुमा आधारित पर्यटन हो । बाँके राष्ट्रिय निकुञ्ज बाघको बासस्थानको रुपमा ख्यातिप्राप्त छ । बर्दिया राष्ट्रिय निकुञ्जमा एकै ठाउँमा एकैपटक बाघ, हात्ती, गैँडा, घडियाल र चित्तल लगायत जनावरहरु देख्न सकिन्छ । सबै खालका जनावरहरुको यो खालको बसाई यस निकुञ्जको विशेषता हो । यस्तो गरी सबै खालका जनावर संसारका अन्य कुनै पनि निकुञ्जमा देख्न सकिँदैन ।
शुक्लाफाँटा वन्यजन्तु आरक्षमा बाह्रसिंगे मृगहरुको बासस्थानको रुपमा परिचित छ । बर्दियामा कृष्णसार संरक्षण गरिएको छ, यो विश्वकै दुर्लभ मानिएको छ । बडैया ताल, सतखलुवा ताल, घोडाघोडी ताल, लौकाही, भौकाही, झिलमीला ताल यसक्षेत्रका प्रमुख तालहरु हुन् । चिसापानी नमुना पुल, कोठियाघाटको सबैभन्दा लामो पुल, दोधारा चाँदनीको लामो दुरीको झोलुङ्गे पुल पर्यटकीय आर्कषणका केन्द्र हुन् । बाँकेको गाईलेक, बबई उपत्यका गाभर भ्याली सुन्दर ठाउँको रुपमा परिचित छन् । भुवार भवानी, बागेश्वरी, कमलशा बाबा, कोटही, ठाकुरजी, बेडहाबाबा, विष्णु मन्दिर (शक्ति धाम) जस्ता प्रशिद्ध मन्दिरहरु यसै क्षेत्रमा पर्दछन् । महेन्द्र पार्क, टीकापुर पार्क पनि यो क्षेत्रको शोभा बढाउने प्रशिद्ध स्थान हुन् ।
चिसापानी क्षेत्र भनेको मध्य र सुदूर पश्चिमको मैदानी भागको पर्यटन हो । यो बाँके, बर्दिया, कैलाली र कन्चनपुर यस क्षेत्रभित्र पर्दछ । यो क्षेत्रलाई पर्यटकहरुको महत्वपूर्ण गन्तव्यको रुपमा विकास गर्न सकिन्छ भन्ने मलाई लागेको छ । तराईको मैदानी भागमा घुम्न आएका पर्यटकहरुलाई पहाडमा सुन्दर रमणीय ठाउँमा लैजाने, पहाडमा घुम्न आएका पर्यटकहरुलाई मैदानी भागमा ल्याएर घुमफिर गराउँने व्यवस्था गर्न जरुरी छ । पर्यटकीय पूर्वाधारहरु विकास गरी पर्यटकहरुलाई सहज पहुँचको व्यवस्था मिलाउनुपर्दछ । यस क्षेत्रको पर्यटनको प्रचारप्रसार र पूर्वाधारको विकास गर्न सकेमा चिसापानी क्षेत्रको पर्यटनलाई नेपालकै महत्वपूर्ण गन्तव्यका रुपमा विकास गर्न सकिन्छ ।

४.तपाईँको कार्यकालमा चिसापानी क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण कार्यहरु के–के हुनेछन् ?
मैले अघि पनि भने पर्यटन कृषिपछिको दोस्रो ठुलो उद्योग हो । राष्ट्रको मेरुदण्ड पनि हो । यसले राष्ट्रको अपार रोजगारीमा महत्वपूर्ण भूमिका खेलेको छ । वैशाख १२ गते आएको महाभूकम्पले हाम्रो पर्यटनलाई अलि असजिलो अवस्था सृजना गर्ने हो की भन्ने चिन्ता छ । तर राज्यले यसलाई चिरेर अघि बढ्नु आवश्यक छ । चिसापानी क्षेत्र पर्यटनको लागि सुरक्षित र भरपर्दो छ । नेपालगन्ज विमानस्थललाई क्षेत्रीयस्तरको बनाइ सिँधै विदेशी पर्यटकलाई आउने व्यवस्था मिलाउनु पर्दछ । भारतीय धार्मिक पर्यटकलाई हामीले यसक्षेत्रमा घुमाएर कैलासको दर्शन गराउने व्यवस्था मिलाउन सके यसक्षेत्रमा धेरै प्रगति गर्न सकिन्छ ।
समिति गठन भएको ६ वर्ष पुगेछ । आजसम्मका कामलाई सरसर्ती हेर्दा मठमन्दिर, पाटीपौवा, पिकनिक सेट, मुर्दा जलाउने ठाउँ निर्माण गरेका छन् । यस्ता काम र शैलीको पर्यटन क्षेत्रको विकास विस्तार हुन्छ भन्ने विश्वसा मलाई लागेको छ । मेरो नेतृत्वमा नयाँ समिति गठन भएपछि जिल्ला विकास समितिहरुसँग समन्वय गरी ४ वटै जिल्लामा जिल्ला स्तरिय पर्यटन गुरुयोजना बनाई चिसापानी क्षेत्रको समग्र पर्यटनको गुरुयोजना बनाइने छ । त्यसैगरी मध्य र सुदूरपश्चिमका सबै ठाउँलाई समावेश गरी क्षेत्रीयस्तरको पर्यटन कार्यशाला गरेर यहाँको पर्यटनका बारेमा कसरी अघि बढ्ने भन्ने योजना बनाई कामको शुरुवात गरिनेछ । बजेट छरेर होइन एकीकृत खालको काम गरी दीगो पर्यटनलाई टेवा दिने खालको काम गर्ने समितिको योजना छ । समितिसँग केही गरौँ भन्ने सोच र भावना छ । हामी सरकारको गम्भीर ढंगले ध्यानाकर्षण गराउँछौँ । यसक्षेत्रका नागरिक व्यवसायी सबैको हामीलाई साथ र सहयोग चाहिएको छ । हामीले आशा र अपेक्षा गरेका छौँ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१