मुस्ताङ, १५ असार । हिमाली जिल्ला मुस्ताङमा भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । भूकम्पका कारण एक महिना ठप्प बनेको यस क्षेत्रमा भारतीय पर्यटकको चहलपहलले पर्यटन व्यवसायी राहतको महसुस गर्न थालेका छन् । बेनी–जोमसोम सडक एक महिना पछि असार ९ गतेदेखि सञ्चालनमा आएपछि सडक र हवाई मार्ग हुँदै यहाँ आउने भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।
पोखरा–जोमसोमको हवाई रुटमा अनुकूल मौसमको समयमा दैनिक ४० देखि ५० जनाको हाराहारीमा भारतीय पर्यटक आइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० जोमसोमका पर्यटन सहायक बेल पुनले जानकारी दिए। उनका अनुसार, ७६ किलोमिटर बेनी–जोमसोम सडक सञ्चालनमा आएदेखि सडक मार्ग हुँदै जाने भारतीय पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।
कालीगण्डकीको किनार कागबेनीमा स्नान र मुक्तिनाथ मन्दिरमा पूजापाठका लागि वैशाखदेखि असोजसम्म भारतीय पर्यटकको चहलपहल बढी हुने एक्यापले जनाएको छ । “पूजापाठका अतिरिक्त घुमघाम, यहाँको कलासंस्कृतिको अध्ययन र प्राकृतिक सुन्दरतामा रमाउन भारतीय पर्यटक आउने गरेका छन्, मुक्तिनाथप्रति उनीहरुको गहिरो विश्वास छ” पर्यटन सहायक पुनले भने। अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मुस्ताङमा भारतीय पछि अमेरिकी र स्विस नागरिक आउने क्रम बढेको छ । उनीहरु खासगरी लोमान्थाङ क्षेत्रको भ्रमणका लागि आउने गरेको एक्यापले जनाएको छ । रासस
प्रतिक्रिया