राष्ट्र निर्माणका लागि युवा परिचालन गर्नुपर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ असार २०७२, मंगलवार १२:०२

बिर्तामोड, १५ असार । महाविपत्तिपछि अहिलेको अवस्थामा ठोस् नीति बनाएर राष्ट्र निर्माणका लागि युवा परिचालन गर्नुपर्नेमा झापाका युवा नेताले जोड दिएका छन् । राष्ट्र निर्माणमा दीर्घकालीन रुपमा युवा परिचालन गर्न संविधानको प्रस्तावनामै युवाको शिक्षा, रोजगार, स्वास्थ्यका विषय समेटिनुपर्नेमा समेत उनीहरुको जोड थियो । संवाद समूहको सचिवालय झापाको संयोजनमा आज सोमबार बिर्तामोडमा भएको छलफलमा जिल्लाका विभिन्न संगठन र संस्थामा आवद्ध युवा नेताहरुले यस्तो बताएका हुन् ।
‘विपत्तिपछि राष्ट्रनिर्माणमा युवाको भूमिका र संविधानमा समेटिनुपर्ने युवाका सवाल’ विषयमा भएको छलफलमा सहभागी युवनेताहरुले विदेश जाने युवालाई रोकेर स्वदेशमै पुनः निर्माणमा परिचालन गर्न सुझाव दिए । अहिले सरकारले विभिन्न छ मुलुकमा भीषा र टिकट फ्रीको व्यवस्था गरी नेपाली युवालाई विदेशिन बाध्य पारेको तर विपत्तिको घडीमा पुनः निर्माणमा जनशक्ति अभाव देखिएको भन्दै उनीहरुले सरकारको आलोचना गरे ।
पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्वाङ, संघीय लिम्बुवान पार्टी झापाका अध्यक्ष धनबहादुर पन्धाक सुब्बा, झापा उद्योग वाणिज्य संघ बिर्तामोडका प्रशान्त भण्डारी, खेलकुद महासंघ झापाका अध्यक्ष धर्म शिवाकोटी, वीरता जेसीजका अध्यक्ष भक्तराज भारतीले रोजगारीको ग्यारेण्टीसहित युवालाई राष्ट्र निर्माणमा लगाउनुपर्ने बताए । नेविसंघका जिल्ला सचिव सन्तोष उप्रेती, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य महेन्द्र भट्टराई, बीरता लेडी जेसीजकी अध्यक्ष पार्वता विमली, गोमेन्द्र महाविद्यालयकी शिक्षक सरु भूर्तेल खनाल, राप्रपा नेपालका योगेन्द्र मैनाली, राजु अधिकारीले अबको संविधानमा युवा लक्षित कार्यक्रम ल्याउन सुझाव दिए । युवालाई दलीय स्वार्थमा प्रयोग गर्न छाडेर राष्ट्रिय स्वार्थमा परिचालन गर्नु पर्ने र युवाले पनि राजनीतिक तहबाट माथि उठेर राष्ट्र निर्माणमा जुट्नुपर्ने सो अवसरमा बताइयो । संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले छलफलको सहजीकरण गरेका थिए ।
निर्वाचनका बेला म्यादी प्रहरी खटाइएझैं राष्ट्र पुनः निर्माणका लागि युवाको साझा फोर्स बनाई निश्चित समयको लागि खटाउनु पर्ने उनीहरुको सुझाव थियो । विदेशमा भएका नेपाली युवालाई पनि स्वदेश फर्काएर उनीहरुको क्षमताको उपयोग गर्नुपर्ने सो अवसरमा बताइयो । राष्ट्रिय युवा नीति २०६४ लाई अबको संविधान समेट्नु पर्नेमा पनि जोड दिइयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१