९९ प्रतिशत पुस्तक पठाइसकेको जनक शिक्षाको दाबी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ असार २०७२, सोमबार १०:३२

काठमाडौं, १४ असार । विभिन्न जिल्लाबाट पाठ्यपुस्तक नपाइएको गुनासो आए पनि पुस्तक छाप्ने जिम्मा पाएका निकायले भने पर्याप्त मात्रा छापेर जिल्लामा पठाएको दाबी गरेका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आइतबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा सम्बन्धित निकायका पदाधिकारीले आफूलाई जिम्मा दिइएको सङ्ख्याका पाठ्यपुस्तक जिल्लामा पठाइसकेको बताए । पर्सा, काठमाडौँ, ताप्लेजुङ, म्याग्दी, उदयपुर, खोटाङ, रामेछाप, धादिङलगायतका जिल्लाबाट अझै पुस्तक नपुगेको गुनासो आइरहेको अन्तरक्रियामा बताइएको थियो । यसपटक जनक शिक्षा सामग्री केन्द्रले एक लाख ४५ हजार थान पुस्तक र निजी क्षेत्रले एक लाख ८५ हजार थान पुस्तक छाप्ने जिम्मा पाएको थियो । जनक शिक्षाले कक्षा ६ देखि १० सम्मको र निजी क्षेत्रले कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छाप्ने गर्छ ।

booksशिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्सालले पुस्तक नपुगेको भन्ने गुनासोका सम्बन्धमा मन्त्रालयले छानबिन थाल्ने र यस्ता कार्यमा संलग्नमाथि कारबाही गर्ने बताए । उनले भूकम्प अति प्रभावित १४ जिल्लामा करिब पाँच लाख पुस्तक अभाव रहेको र त्यहाँ छिट्टै नै पुस्तक पठाइने समेत जानकारी दिए । जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले आवश्यकता भएका जिल्लामा ९९ प्रतिशत पुस्तक पठाइसकेको दाबी गर्दै पसलसम्म पुस्तक किन्न नआउनु आफूहरुको कमजोरी हैन भने । निजी प्रेस प्रतिनिधि दीपक भण्डारीले आफूहरुसँग पुस्तक जगेडामा रहेको बताउँदै माग भइआए पुस्तक जिल्लामा पठाउन सकिने जानकारी दिए । अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले पाठ्यपुस्तक समयमै नपठाई बदमासी गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी सङ्घका उपाध्यक्ष प्रभा सुवेदीले आफूहरुले पाएको जम्मेवारीअनुसार जिल्लामा पुस्तक पुर्याउने काम भइसकेको जिकिर गरे । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, जेष्ठ ९, २०८१