काशी पोख्रेल
बाँके, १४ असार । चिसापानी क्षेत्र पर्यटन प्रवर्धन विकास समितिका अध्यक्ष भीम केसीले मध्य र सुदूरपश्चिम क्षेत्रका पर्यटकीय क्षेत्रको विकासका लागि हातेमालो गर्नुपर्ने बताएका छन् । ‘चिसापानी क्षेत्रको पर्यटन सुरक्षित छ’ भन्ने नारासहित आइतबार कोहलपुरमा आयोजना गरिएको चिसापानी क्षेत्रको पर्यटन, सम्भावना र चुनौति विषयक अन्तरक्रियामा बोल्दै उनले मध्य र सुदूरपश्चिम क्षेत्र पर्यटकीय गन्तव्यका हिसाबले प्रचुर सम्भावना बोकेको क्षेत्र रहेको बताए ।
‘पर्यटन विकासको प्रचुर सम्भावना छन् । सर्बैले पर्यटन विकासका लागि ध्यान केन्द्रित गर्नुपर्छ । यहाँको पर्यटन सुरक्षित र आकर्षक छ,’ अध्यक्ष केसीले बताए । उनले यस क्षेत्रका पर्यटकीय स्थलहरुको अझै प्रचारप्रसार गर्न नसकेको बताए ।
‘भारतको लखनउ, दिल्ली लगायतका क्षेत्रका पर्यटकहरुलाई सिँधै नेपालगन्ज ल्याउन सके यस क्षेत्रको पर्यटनले निकै फड्को मार्ने देखिन्छ,’ अध्यक्ष केसीले भने, ‘धार्मिक, साँस्कृतिक र भौगोलिक हिसाबले पनि मध्य र सुदूरपश्चिम क्षेत्रको पर्यटन निकै सुरक्षित छ ।’
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार जनक नेपालले पर्यटनलाई स्थानीय समुदायसँग जोडेर विकास गर्नुपर्ने बताए । उनले भने, ‘राज्यले भौतिक पूर्वाधारहरुको विकास गर्नुपर्छ । पर्यटन गन्तव्यको विकास पहिचान र भौतिक विकास गर्न सके पर्यटन क्षेत्र सोचेअनुरुप फस्टाउँछ ।’ पत्रकार नेपालले पर्यटकलाई आकर्षित गर्नका लागि स्थानीय समुदायमा विभिन्न सीपहरु प्रदान गर्नुपर्ने औल्याउँदै नीजि क्षेत्रले पनि लगानी गर्नुपर्ने बताए । ‘टुक्रे र सानातिना योजनाभन्दा दीर्घकालिन र महत्वपूर्ण योजनाहरु बनाई पर्यटन क्षेत्रको विकास गर्नुपर्छ,’ पत्रकार नेपालले भने । चिसापानी क्षेत्र पर्यटन प्रवर्धन विकाससमिति कोहलपुरका कार्यालय प्रमूख दिपकबहादुर बुढाथोकीले पर्यटनमा सहकारिता आवश्यक रहेको बताए । उनले यातायात, सञ्चार, होटल व्यवसाय लगायतको विस्तारमा जोड दिनुपर्ने भन्दै आफूहरुसँग जनशक्ति अभाव रहेकाले सोचेअनुरुपको कार्य गर्न नसकिएको बताए ।
उनले भने, ‘पर्यटन विकासका लागि नयाँ गन्तव्यको खोजी गर्दै शिक्षा, स्वास्थ्य र कृषि पर्यटनलाई पनि सँगै लैजानुपर्छ । विभिन्न निकायहरुबीच समन्वयको अभाव हुँदा त्यसले पर्यटन क्षेत्रमा पनि असर पारेको छ । समन्वयलाई कसिलो बनाउँदै लैजानुपर्छ ।’
कार्यक्रममा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर क्षेत्रका होटल व्यवसायी, उद्योग वाणिज्य संघका प्रतिनिधि, पर्यटन व्यवसायी लगायतको सहभागिता थियो । कार्यक्रममा स्वागत मन्तव्य चिसापानी क्षेत्र पर्यटन प्रवर्धन विकास समितिका सदस्य शोभना मिश्र, मात्रिका तिमिल्सिना लगायतले बोलेका थिए ।
प्रतिक्रिया