रत्ननगर, १० असार । चितवनको पहाडी गाविस लोथरको पनि विकट क्षेत्रमा बस्ने स्थानीयवासीमा पहिरोको जोखिम बढेको छ । दिनदिनै माथि डाँडाबाट ढुङ्गा झर्ने गरेकाले ज्यान नै जोखिममा राखेर बस्नु परेको स्थानीय चन्द्रबहादुर चेपाङले बताए । हावाहुरी र पानी दैनिक आइरहेकाले दुई स्थानबाट पहिरो खसेको भन्दै उनले आफूहरुलाई सार्न माग गरेका छन् । ‘गाविसमा पनि भनेको, सचिवलाई पनि फोन गरेको, वास्तै भएन’, चन्द्रबहादुरले दुःखेसो गर्दै भने, ‘हामी सर्न पाए हुन्थ्यो ।’
लोथरको वाखराङ, तापाङलगायतका गाउँमा जोखिम बढेको स्थानीयवासीले बताएका छन् । सो क्षेत्रका १२ घरधुरी पहिरोको जोखिममा परेको स्थानीयवासीले बताए । चन्द्रबहादुरका अनुसार पाँच घर भूकम्पले पूर्णक्षति बनाएको वाखराङ गाउँमाथि डाँडो खस्ने जोखिमसमेत बढेको छ । त्यहाँ उनकोसँगै प्रेमबहादुर, भीमबहादुर, दलबहादुर चेपाङ र अर्का एकजनाको घर छ ।
सधैँ ढुङ्गा खसिरहेको र पहिरो पनि आउन थालेकाले आफूहरु समस्यामा परेको उनीहरुले बताए । लोथर गाविसका सचिव कुलप्रसाद आचार्य गाउँलेले गरेको गुनासो सही भएको बताउँछन् ।
यहाँको ब्रोसवाङ डाँडाबाट पहिरो खस्न थालेको छ । भूकम्पले असर गरेका डाँडामा पानी पर्न थालेपछि पहिरो आउन थालेको आचार्यको भनाइ छ । यहाँको तापाङ पर्खाल र वासवाङ क्षेत्रमा दुईवटा पहिरो जान थालेको र ढुङ्गासमेत खस्न थालेकाले बस्ती जोखिममा भएको गाविस सचिव आचार्यले बताए । बाह्र घरको नाम टिपेर ल्याएको छु, उनीहरुलाई अन्यत्र सार्नका लागि जिल्ला विपद् व्यवस्थापन समितिमा कुरा राख्छु, आचार्यले भने । यसअघि, सोही गाविसको एसिकाइ भन्ने गाउँका बासिन्दालाई लोथरको यौरालीटारमा स्थानान्तरण गर्ने निर्णय भइसकेको छ । यस्तै, चितवनको काउले गोछिवाङ गाउँका २५ घरलाई चितवनको जुटपानी चौरमा सारिँदैछ । मुख्यगरी चितवनको पहाडी क्षेत्रमा भूकम्पले असर गरेर यहाँको पहाड धेरै स्थानमा धाँजा फाटेकाले जोखिम बढ्दो छ । रासस
प्रतिक्रिया