महिलामा हुने क्यान्सरमा स्तनपछि दोश्रो प्रमुख क्यान्सर – पाठेघरको मुखको क्यान्सर हो । विश्वमा प्रतिवर्ष ५ लाख मानिसलाई पाठेघरको मुखको क्यान्सर हुने गर्दछ । अन्दाजी २ लाख महिलाहरुको यो रोगबाट मृत्यु हुन्छ । नेपालमा प्रतिवर्ष कति महिलालाई यी रोग लाग्छ र कतिको मृत्यु हुन्छ भन्ने सही तथ्यांक छैन । साधारणतया यो रोग ४० वर्ष पछि देखापर्ने भएतापनि नेपाल जस्तो अविकसित देशमा यो रोग ३० वर्ष अथवा सो भन्दा कम उमेरका महिलाहरुमा समेत पाठेघरको मुखमा क्यान्सर हुने गरेको छ ।
पाठेघरको क्यान्सर कसरी हुन्छ ?
कुनै निश्चित कारणले पाठेघरको मुखको क्यान्सर हुन्छ भनेर किटान गर्न नसकिने भएपनि एचपीभी (ह्युमेन पापिलोमा भाइरस) नै यसको मुख्य कारण हो । करिब ७० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचभीपीसँग सम्बन्धित रहेको पाइएको छ । एचपीभी एक साधारण भाइरस हो, जुन यौनसम्पर्क मार्फ एक अर्कामा सर्ने गर्दछ । यौनकार्यमा सक्रिय ५० देखि ८० प्रतिशत महिलालाई जीवनमा कम्तीमा एक पटक उक्त भाइरसले संक्रमित गर्ने गरेको छ । एचपीभी धेरै प्रकारको भए पनि १३ प्रकारको भाइरसले मात्र पाठेघरको मुखको क्यान्सर निम्त्याउँछ । एशियामा ८३ प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभी १६ तथा १८ को संक्रमणले भएको पाइएको छ । एचपीभी शारीरिक सम्पर्कको क्रममा छालाबाट छालामा फैलिन्छ । यस्ता विषाणुले गर्भाशयको मुखको कोषिकाको प्रोटिनसँग एचभीपीको प्रोटिनको रासायानिक प्रक्रिया हुँदा ती कोषिकाहरुमा परिवर्तन ल्याउँछ र जुन वर्षौंपछि क्यान्सरमा परिणत हुन्छ ।
कम उमेरमा विवाह हुनु, कम उमेरमै यौन सम्पर्क स्थापित हुनु, एक भन्दा बढी जना सँग यौनसम्पर्क राख्नु, कम उमेरमा अनि धेरै बच्चा पाउनु, आफ्नो गोप्य अङ्गको उचित सरसफाई नगर्नु, चुरोट खैनी तथा सुर्तीजन्य पदार्थको सेवन गर्नु, यौनरोग एवं गुप्ताङ्ग सम्बन्धी दीर्घरोगी हुनु पाठेघरको मुखको क्यान्सर लाग्नाको प्रमुख कारणहरु हुन् । तर ह्युमेन पापिलोमा भाइरसलाई प्रमुख कारक तत्व मानिएको छ ।
लक्षण
पाठेघरको मुखको क्यान्सरको शुरुवाती अवस्थामा कुनै लक्षण चिन्ह नभए पनि शारीरिक जाँच गर्दा केही चिन्ह भेटिनसक्छ । महिनावारी सुकीसकेकी प्रौढ महिलामा फेरि रगत तथा रगत मिसिएको योनीश्राव देखा पर्न सक्छ । त्यसैगरी यौनसम्पर्क पश्चात् रगत देखापर्ने सिकायत हुनसक्छ । गोप्यअङ्गबाट असामान्य प्रकारको गन्हाउने श्राव बग्न सक्छ । महिनावारी सुकी नसकेकी महिलामा महिनावारीका बेला धेरै दिनसम्म वा बढी मात्रामा रगत बग्न सक्ने हुन सक्छ । यो रोगको प्रारम्भिक स्थितिमा कुनै पीडा हुन्न । दुख्न लाग्दा क्यान्सर पैmलिसकेको हुन्छ । यो रोग निकै फैलिसकेपछि खुट्टा सुन्निने, पेट फुल्ने, पिसाब नहुने, कम्मरको हड्डी दुख्ने आदि पनि हुन्छ ।
निदानको तरिका तथा उपचार
मानव शरीरमा लाग्ने विभिन्न खालका क्यान्सरहरुमा पाठेघरको मुखको क्यान्सर मात्र यस्तो क्यान्सर हो जसको क्यान्सर पूर्वको अवस्था सजिलै पत्ता लगाउन सकिन्छ । केहि मिनेटमा नै सकिने यो परीक्षणको क्रममा नदुख्ने र बेहोश गराउन नपर्ने हुन्छ । प्याप स्मियर नामक साधारण जाँचबाट पाठेघरको मुखको श्राव निकाली क्यान्सर छ छैन थाहा पाउन सकिन्छ । यसको अलावा एसिटिक एसिड वा ल्युगोल आयोडिनको प्रयोगबाट पनि थाहा पाउन सकिन्छ । २५ वर्ष काटिसकेकी विवाहित महिलाले सकिन्छ भने वर्सेनी प्याप स्मियर परीक्षण गराउनु बुद्धिमानी हुन्छ । पाठेघरको मुखको क्यान्सर ठ्याक्कै लागेको छ छैन थाहा पाउन पाठेघरको मुखको सानो टुक्रा मासु निकाली (बायोप्सी) गर्नु पर्दछ भने पाठेघरको मुखको क्यान्सरको थप जानकारीका लागि अथवा अन्यत्र भागमा फैलिएको छ छैन थाहा पाउन भिडियो एक्सरे (अल्ट्रासाउण्ड), सीटी स्क्यान, आईभीयू, एक्सरे गराउनु पर्ने हुन्छ । पाठेघरको मुखको क्यान्सर शुरुको अवस्थामा पत्ता लागे शतप्रतिशत निको पार्न सकिन्छ । पाठेघरको मुख सहित पाठेघर निकाल्ने शल्यक्रिया गरिन्छ । रोग पैmलिसकेको अवस्थामा रेडियोथेरापी वा केमोथेरापी (विशेष औषधि) को प्रयोगद्वारा उपचार गरिन्छ । रेडियोथेरापी योनीमा मात्र वा शरीरको बाह्य भागमा दिइन्छ ।
रोकथाम
कारक तत्वलाई विचार गरेर कलिलै उमेरमा विवाह नगर्ने, बालविवाहलाई निरुत्साह गर्ने, धेरै बच्चा नपाउने, निश्चित अन्तरालमा मात्र बच्चा पाउने, गोप्य अङ्गको सरसफाईमा ध्यान दिने, धेरै जनासँग यौनसम्पर्क नराख्ने, चुरोट खैनी तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, यौनरोग एवं गुप्ताङ्गसम्बन्धी रोगको समयमै आवश्यक उपचार गराएमा यो रोगबाट बच्न सकिन्छ । पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिने रोग हो भन्ने कुरा राम्ररी मनन गर्नुपर्दछ ।
प्रतिक्रिया