तिहारको मुखैमा यसपटक अमेरिकाको न्युयोर्क जाँदा एकजना परिचित बहिनीको सामान लगिदिएकी थिएँ । उनी सहरभन्दा टाढा बस्ने भएकीले अरू कसैलाई सामान लिन पठाइन् । राति ९ बजे सामान लिन आएका ती भाइ निकै थकित देखिन्थे, होटलको लबीमा बसेर हामीले केहीक्षण कुराकानी ग-यौँ । भने, ‘दिदी पहिला–पहिला हाम्रो घरमा डेरामा बस्ने मान्छेहरू एउटै कोठामा धेरैजना कोचिएर बस्दा अचम्म लाग्थ्यो । तिनीहरू बिहान बाहिर निस्कन्थे र साँझ जम्मा भएर घारघुर खाना बनाएर खान्थे अनि सुत्थे । उनीहरूलाई देख्दा हरे… यस्तो पनि जिन्दगी ? जस्तो लाग्थ्यो । अहिले आफूमा सोही कुरा दोहोरिएको छ । बिहान उठ्यो काममा हिँड्यो, बेलुका थाकेर आयो, घारघुर खाना पकायो खायो सुत्यो । कहिलेकाहीँ त यति थाकिन्छ कि खाना नखाई सुते पनि भुसुक्कै निदाइन्छ । अचम्म लाग्छ, जिन्दगीमा खै के–के भोग्नुपर्दो रहेछ ।’ काठमाडौं डिल्लीबजारका स्थायी बासिन्दा रहेछन्, सुखमा हुर्किएका, काठमाडांैको राम्रो स्कुल र भारतको राम्रो कलेजमा पढेका । अमेरिकाको सपना देख्दै तीन वर्षअघि न्युयोर्क पुगेका उनले भने, ‘त्यतिबेला देखेको सपना र अहिले भोगेको विपनाबीच धेरै अन्तर छ ।’ हुनत अमेरिकामा बस्नेको जीवन धेरैको त्यस्तै नै हो, तर उनको हुर्काइका कारण अहिलेको जीवन निकै कठिन लागेको हुँदो हो । खानलाउनै समस्या पर्ने परिवारमा हुर्र्किएका भए जिन्दगीले अहिले भोग्दै गरेको कुरालाई ठूलै सफलता पनि मान्न सक्थ्यो होला । ‘खै यो अमेरिकामा आएपछि के हुन्छ के हुन्छ, त्यसै फसिन्छ, दुःख जति भए पनि फर्किएर जान भने नसकिने रहेछ,’ उनले भने । विदेशको सपना र वास्तविकता कति फरक हुन्छ भन्ने कुरा मान्छेले भोगेपछि मात्र थाहा पाउँछ । अमेरिकामा के छ के छ त्यसै फसिन्छ भन्नेहरूको सङ्ख्या भने धेरै छ । जो जहाँ बसे पनि नेपालीले आफ्नो दुःखसुख गरिरहेका छन् । त्यसो त, आफ्नो गुजाराका लागि विदेशमा अनेक दुःख गरिरहेकाहरूले नेपालमा यो भएन त्यो भएन, यस्तो उस्तो भनेर अनेक टिप्पणीहरू गरेको पनि सुनिन्छ । जसले त्यसप्रकारका टिप्पणी गर्छन् उनीहरूले देशमै आएर केही गरौँ न त भनेर सोचेकोचाहिँ पाइँदैन ।
अमेरिकाका बारेमा मानिसहरूले देख्ने सपना र त्यहाँ गएर भोग्ने वास्तविकता फरक छ । त्यहीँ पढेर काम पाउनेहरूका निम्ति भने जीवन त्यति असहज छैन । सिस्टमले काम गरेको मुलुकमा सोचेभन्दा धेरै कुरा प्राप्त गर्ने सम्भावनाहरू पनि त्यत्तिकै छन् । विश्वका धेरै देशका नागरिकका लागि मात्र नभएर अमेरिकीहरूकै निम्ति पनि सपनाको सहर हो न्युयोर्क । हलिउड सिनेमाका लागि न्युयोर्क प्रमुख केन्द्र थियो र छ । अनेक प्रवृत्ति र प्रकृतिका विश्वभरिका मानिस त्यहाँ देखिन्छन्, भेटिन्छन् । बिहान हतारहतार बाटोमा खाँदै दौडिनु न्युयोर्कवासीका लागि नयाँ कुरा होइन । न्युयोर्कमा मानिसहरू हिँड्दैनन्, दौडिन्छन् । ट्रेन स्टेसनहरूमा होस् या सडकमा जताततै मानिसको दौडादौड नै देखिन्छ । बाटोमा खाँदै हिँडे पनि हुने, लाउँदै हिँडे पनि हुने, गीत गाउँदै, कराउँदै जे गर्दै हिँडे पनि कसैलाई कसैको मतलब छैन । ‘मेरो शरीर मेरो अधिकार’ भन्ने नारा त सुनिएको हो, तर यसपटक टाइम्स स्क्वायरमा ‘मेरो शरीर तिम्रो चाहना, हेर्न पाउँछौ छुन पाउँदैनौ’ भन्ने स्लोगन लेखेर शरीरभरि पेन्ट गरी नाङ्गै केटा–केटीहरू बसेको पनि देखियो । त्यसरी बस्नेहरूले फोटो खिचाएबापत पैसा लिने रहेछन् । बाहिरबाट गएका होइनन्, त्यसो गर्नेहरूमा धेरैजसो स्थानीय नै हुँदा रहेछन् । विश्वका कुनाकुनाबाट मानिसहरू पैसा कमाउन अमेरिका पुग्छन्, तर त्यहीँका कतिपय मानिसले भने दुई–चार पैसाका लागि यसप्रकारका अनेक हर्कत गरेको देखिन्छ ।
संयुक्त राष्ट्रसङ्घको मुख्यालय त्यहीँ भएका कारण विश्वका नीति–निर्माताहरूका लागि पनि न्युयोर्क महत्वपूर्ण स्थान हो । प्रत्येक वर्ष हुने संयुक्त राष्ट्रसङ्घको साधारणसभामा मात्र नभएर विभिन्न समयमा हुने विभिन्न विषयका पुनरावलोकनहरू तथा अन्य बैठकहरूका कारण मानिसहरूको चहलपहल उस्तै हुने गर्छ । यसपटक संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले पारित गरेको महिला, शान्ति र सुरक्षासम्बन्धी प्रस्ताव नं. १३२५ को १४औँ वार्षिकोत्सवका अवसरमा सुरक्षापरिषद्ले खुला बहस गरेको थियो । जुन बहस प्रत्येक वर्ष हुने गर्छ । संयुक्त राष्ट्रसङ्घको शक्तिशाली अङ्ग सुरक्षापरिषद्ले पारित गरेका प्रस्तावहरू सम्बन्धित मुलुकहरूका लागि स्वतः कानुनसरह हुने गर्छन् । हाम्रो मुलुक पनि १० वर्षसम्म सशस्त्र द्वन्द्वबाट गुज्रिएका कारण सो प्रस्ताव हाम्रो सन्दर्भमा पनि निकै महत्वपूर्ण छ । शान्तिप्रक्रियाका चरणहरूमा महिलाको सहभागिता र मुद्दाहरूलाई यो प्रस्तावले समेटेको छ । आफूले काम गरिरहेको विषयमा सुरक्षापरिषद्को ‘ओपन डिबेट’ प्रत्यक्ष रूपमा सुन्न र हेर्न पाउँदा फरक अनुभूति भयो । महिला र शान्ति सुरक्षालाई लिएर अक्टुबरको अन्तिम साता न्युयोर्कमा विभिन्न कार्यक्रम भए । ग्लोबल नेटवर्क फर विमेन एन्ड पिसलगायतका संस्थाहरूले नागरिक समाजका तर्फबाट भएका कामहरूको समीक्षा गरे । संयुक्त राष्ट्रसङ्घमा मात्र नभएर विभिन्न मुलुकका संयुक्त राष्ट्रसङ्घीय मिसनहरूमा पनि मुलुकहरूमा भएका उपलब्धि र हुन नसकेका कुराहरूलाई लिएर समीक्षा गरियो । ती कार्यक्रमहरूमा द्वन्द्वोत्तर र द्वन्द्वरत मुलुकका मिसनका प्रतिनिधिहरूको सहभागिता रहे पनि नेपालको भने देखिएन । विभिन्न देशका मिसन प्रतिनिधिहरूले म यो देशको प्रतिनिधि भन्दै ‘अप डेट’ दिइरहँदा आफ्नो देशको मिसनका प्रतिनिधिहरूले पनि यसैगरी सहभागिता जनाइदिए कति राम्रो हुने थियो भन्ने लाग्यो । आफूलाई प्रत्यक्ष लाभ हुने कुरा नभएपछि ‘आ…के नै हुने हो र ?’ भन्ने नेपालको कर्मचारी मानसिकता हाम्रा प्रतिनिधिहरूसँगै प्लेन चढेर न्युयोर्क पुगेका कारण पनि त्यस्तो भएको हो कि जस्तो पनि लाग्यो । महिला, शान्ति र सुरक्षामा भएका उपलब्धि र हुन नसकेका कुराहरूलाई लिएर आगामी वर्ष विश्वव्यापी रूपमा अनुगमन हुँदै छ । उक्त ग्लोबल मोनिटरिङ रिपोर्टका लागि विभिन्न मुलुकका पाँचजना सल्लाहकार सदस्यमा एसियाबाट सञ्चारकर्मी तथा अधिकारकर्मी बन्दना राणालाई राखिएको छ । यसपटक न्युयोर्कमा भएका प्रायः हरेक उच्चस्तरीय बैठक र भेटघाटहरूमा बन्दनाको परिचयले स्थान पायो । ग्लोबल मोनिटरिङ रिपोर्टमा नेपालको सहभागिता महत्वपूर्ण कुरा हो । अमेरिकाको मात्र नभएर संयुक्त राष्ट्रसङ्घीय क्रियाकलापहरूका पनि सपना र विपना फरक छन् । लाइन, वाक्य र प्याराग्राफमा मात्र होइन एउटा ‘कमा’का लागि समेत त्यहाँ घन्टौँ बहस हुन्छ । मुलुकका लागि मानिसहरूको बौद्धिक लडाइँ हेर्नका लागि राष्ट्रसङ्घ एउटा रमाइलो स्थान पनि हो ।
लेखक -बविता बस्नेत
प्रतिक्रिया