सन्दिप कुमार बैश्य
बाँके,७ असार । नेपाल पत्रकार महासंघ बाँकेका कोषाध्यक्ष एवम् प्रेस चौतारी नेपालका सदस्य विश्वराज पछल्डङ्ग्यालाई दुब्र्यवहार गर्ने प्रहरी जवानले सार्वजनिक रुपमा माफी मागेका छन् । सशस्त्र प्रहरी गण गुल्म नं. २ हाल नेपालगन्जमा कार्यरत प्रहरी जवान नारायण चौधरी र जितेन्द्र कश्यप (कहार) ले विहीबार साँझ त्रिभुवन चोक नजिकै कोषाध्यक्ष पछल्डङ्ग्यामाथि दुब्र्यवहार गर्नुका साथै आक्रमण प्रयास गरेका थिए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पुगेको पत्रकार टोली र बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुशीलसिंह राठौरको रोहवरमा भएको छलफलमा चौधरी र कहारले आगामी दिनमा कसैमाथि दुब्र्यवहार नगर्ने र ट्राफिक नियमको पालना गरेर सवारी साधन चलाउने प्रतिवद्धता जनाएका छन् ।
उनीहरुले आफूहरुबाट गल्ती भएको स्वीकार गर्दै प्रहरीको दम्भ त्याग्ने जनाएका छन् । ‘एक आपसमा भएको कुरालाई लिएर प्रतिवाद गर्नु हाम्रो गल्ती हो,’ दुब्र्यवहार गर्ने प्रहरी जवानद्वयले प्रतिवद्धता जनाउँदै भनेका छन्, ‘अति ब्यस्त सडकमा ठूलो हर्न र तिव्र गतिमा सवारी साधन नचलाउने प्रतिवद्धता जनाउँछौँ ।’ प्रहरी नायव उपरीक्षक राठौरले उनीहरुलाई भारतिय नम्बरको मोटरसाइकल नचलाउन निर्देशन समेत दिनुभएको छ । चलाएको पाइएमा कारवाही गर्ने चेतावनीसहित सम्झाई बुझाई पठाएको राठौरले बताउनु भयो । आफ्नो नियमित काम सकेर निवासतर्फ जाने क्रममा यूपी ४० क्यू ८५०४ भारतिय नम्बरको मोटरसाइकलमा सवार चौधरी र कहारले कोषाध्यक्ष पछल्डङ्ग्यामाथि आक्रमण प्रयास गरेका थिए । घटनाको करिव ३६ घण्टा पछि प्रहरीले उनीहरुलाई फेला पारको थियो ।
प्रतिक्रिया