भरत केसी
बुटवल, ४ असार । बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटन प्रवद्र्धन गरी पर्यटकको आगमन बढाउने प्रमुख उद्देश्यले व्यवस्थित पर्यटकीय योजनासहित पर्यटकको बसाइ लम्ब्याउन टुर प्याकेज योजना थालनी गरिएको छ। बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन विकासका लागि आगामी तीन वर्षमा भैरहवामा गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउनेछ । उक्त विमानस्थल सञ्चालनसँगै लुम्बिनीमा पर्यटक आगमनमा वृद्धि गर्न यस क्षेत्रमा पर्यटन योजनासहित टुर प्याकेज बनाउन सुरु गरिएको हो । लुम्बिनीमा पर्यटक आगमनमा वृद्धि गर्न लुम्बिनी घुम्न आउने पर्यटकलाई लक्षित गरी बुद्ध जन्मस्थल लुम्बिनी र यस क्षेत्र आसपासका पर्यटकीय क्षेत्रलाई समेटेर यसरी पहिलोपटक टुर प्याकेजहरु तयार गर्न थालिएको हो । लुम्बिनी घुम्न आउने अधिकांश पर्यटक भारतीय पर्यटन व्यवसायीले बनाएको टुर प्याकेजमा निर्भर रहने भएकाले लुम्बिनी आएका झन्डै ९५ प्रतिशतभन्दा बढी पर्यटक लुम्बिनी घुमेर उसैदिन फर्किने गरेका छन् ।
एसियाली विकास बैंकको दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजना (साटा) अन्तर्गत लुम्बिनी विकास कोषमार्फत स्थानीय पर्यटन व्यवसायी, सङ्घसंस्था र सरकारी कार्यालयका प्रतिनिधिको समेत सहभागितामा पहिलो पटक टुर प्याकेज तयार पार्ने कामको सुरुवात गरिएको हो । आगामी सन् २०१८ सम्ममा सञ्चालनमा आउने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको शुभारम्भपछि भारतको बाटो हुँदै स्थलमार्गबाट लुम्बिनी आउने पर्यटक सिधै हवाईमार्ग हुँदै लुम्बिनी आउने अपेक्षा सरकारको छ । त्यसरी आउने पर्यटकलाई लुम्बिनी क्षेत्रमा केही दिन भुलाउन आकर्षक र व्यवस्थित टुर प्याकेज तयार गर्न थालिएको हो । टुर प्याकेजमा पर्यटकको बसाइँ अवधि बढाउन लुम्बिनी र यस आसपासका बुद्धसँग सम्बन्धित कपिलवस्तुका तिलौराकोट, कुदानलगायत र नवलपरासीको रामग्राम, रुपन्देहीको देवदह क्षेत्र, भिन्न हावापानी पाइने पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लालाई समेत समावेश गरिएको परियोजना प्रमुख रामचन्द्र सेढाईंले बताए । यो दुई दिनमा तयार गरिएका प्याकेजहरुलाई अन्तिम रुप दिएर सार्वजनिक गरिनेछ । यसरी तयार गरिएका टुर प्याकेज एक दिनदेखि एक हप्तासम्मका हुने परियोजना प्रमुख सेढाईंले बताए। पर्यटकको घुम्ने चाहनाअनुसार प्याकेज बिक्री हुनेछन् । प्याकेजमा लुम्बिनी गुरुयोजना क्षेत्रभित्र पर्यटकलाई भुलाउन अहिले भएका गतिविधि र थप्नुपर्ने गतिविधिसमेत समावेश गरिनेछ ।
पवित्र उद्यान हुँदै विहार क्षेत्र र न्यू लुम्बिनी भिलेज क्षेत्रमा पर्यटकलाई भुलाउन सकिने उपायसँगै लुम्बिनी आसपासका गाउँको अवलोकन, सांस्कृतिक, प्राकृतिक र जैविक विविधताहरुको पहिचानसमेत गरेर प्याकेजमा समावेश गरिनेछ ।
टुर प्याकेजहरुमा लुम्बिनी, तिलौराकोट, देवदह, रामग्रामसहित रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लाका सम्भावित सबै पर्यटकीय क्षेत्रहरुलाई समावेश गरिनेछ । यसअन्तर्गत रुपन्देहीको गैडहवा ताल, भैरहवा, बुटवल, छपिया, मणिमुकुन्दसेन उद्यान, शङ्करनगर वन विहार, रोहिणी नदी, तिनाउ नदी, कपिलवस्तुको जगदीशपुर ताल, अर्घाखाँचीको सुपादेउराली, नरपानी, गुल्मीको रुरु, रेसुङ्गा तथा पाल्पाको श्रीनगर, तानसेन, नुवाकोटलगायतका क्षेत्रलाई समावेश गरिनेछ । आगामी १० वर्षभित्र लुम्बिनीमा वार्षिक ३० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित एडिबीको सहयोगमा लुम्बिनीमा तीनवटा परियोजनाबाट विभिन्न कार्यक्रम सञ्चालित छन् । परियोजनाले टुर प्याकेजभित्र समावेश भएका पर्यटकीय क्षेत्र, सांस्कृतिक गतिविधि, प्राकृतिक सम्पदाहरुको प्रचारप्रसार र संरक्षण र संवद्र्धनका कार्यक्रम सञ्चालनमा छन् । सन् २०१८ मा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदासम्म टुर प्याकेजहरुका सबै काम सम्पन्न गर्ने योजना कोषको छ । परियोजनामार्फत लुम्बिनीमा पर्यटन प्रवद्र्धनको अभियान थालिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ओम अर्यालले बताए। अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनी आउने अधिकांश पर्यटक मायादेवी मन्दिरको दर्शन गरेर उसैदिन फर्किने गरेका कारण लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धन हुन नसकेको ठहर गर्दै पर्यटकको बसाइ लम्ब्याउन र स्थानीय बासिन्दालाई पर्यटन व्यवसायमा अग्रसर गराउन परियोजना सुरु गरिएको हो । रासस
प्रतिक्रिया