काठमाडौं, ३ असार । निजामती कर्मचारीका तर्फबाट भूकम्पपीडितलाई सहयोग गर्न आज प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३६ करोड ६ लाख ५२ हजार ८६७ हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री सुशील कोइरालालाई निजामती कर्मचारीका तर्फबाट सङ्कलित सो रकम सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले हस्तान्तरण गरे ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले मुलुकको हितमा अहोरात्र खटिरहेका राष्ट्रसेवक कर्मचारीबाट भएको सहयोगको प्रशंसा गर्दै रकमको सही सदुपयोग हुने विश्वास दिलए। अर्थमन्त्री डा रामशरण महत, मुख्य सचिव लीलामणि पौड्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरुलगायतको उपस्थितिमा प्रधानमन्त्री कोइरालाले हाल वितरण भइरहेको जस्तापाता कमसल खालको देखिएको भन्ने सूचना आएकाले त्यसको यथार्थ जाँच गर्न निर्देशनसमेत दिए । कार्यक्रममा मन्त्री पण्डितले भूकम्पबाट घरबारविहीन भएका सबैलाई सरकारबाट प्रदान गरिने १५ हजार समयमै छिटोछरितो उपलब्ध गराउनुपर्ने र अझै केही स्थानमा जस्तापाता नपुगेको भन्ने सूचना आएकाले तत्काल उपलब्ध गराउनुपर्ने बताए ।
मुख्य सचिव पौड्यालले ७५ जिल्लामा कार्यरत विशिष्ट श्रेणीका निजामती कर्मचारीबाट १५ दिनको, राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारीबाट १० दिनको र अन्य सबै कर्मचारीबाट पाँच दिनबराबरको तलबबाट सो रकम सङ्कलन गरिएको जानकारी गराए । भूकम्पबाट पीडित निजामती कर्मचारीको तलबबाट समेत सो रकम सङ्कलन गरिएको अवगत गराउँदै मुख्य सचिव पौड्यालले त्यस्ता कर्मचारीका लागि छुट्टै सहयोगको व्यवस्था गरिने बताए । रासस
प्रतिक्रिया