काठमाडौं,३ असार । पूर्वयुवराज्ञी हिमानी शाहले विपत्का बेला एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नुपर्ने बताएकी छन् । हिमानी ट्रष्टले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एकले अर्कोलाई सक्दो सहयोग गर्न आग्रह गरिन् । उनले विगत पाँच वर्षदेखि सञ्चालनमा रहेको आफ्नो संस्थाले ‘जागरुक समाज उज्वल भविष्य’ मूल मान्यतालाई आत्मसात् गर्दै सामाजिक कार्य र गतिविधि गरेको जानकारी दिइन् । हिमानीले राष्ट्रप्रतिको आफ्नो दायित्व र जिम्मेवारी वहन गर्न आवश्यक भएको बताउँदै निरन्तर समाज सेवामा समर्पित हुनुपर्नेमा जोड दिइन् । हिमानी ट्रष्टले भूकम्पपीडित परिवारलाई तत्कालीन राहतस्वरुप राजधानीलगायत प्रभावित जिल्लाका करिब २२ स्थानमा खाद्यान्न, लत्ताकपडा, कम्बल, त्रिपाल, जस्तापाता, ट्यांकी, पानीशुद्धीकरण औषधिलगायत वितरण गरेको पनि उनले जानकारी दिइन् । हिमानीका अनुसार ट्रष्टले बालबालिकालाई मानसिक त्रासबाट मुक्त गराउन बालमैत्री कार्यक्रम तथा शैक्षिक र खेलकुद सामग्री वितरण गरेको बताइन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया