राष्ट्रपतिमा सुशील कोइराला र पार्टी सभापतिमा रामचन्द्र पौडेल नै किन ? -सुभाष घिमिरे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ असार २०७२, बिहीबार १०:०६

अब त्यस्तो कुनै अनपेक्षित, अप्रत्यासित घटना भएन भने दुई महिना भित्रमा नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान लागु हुनेछ | धेरै लामो समयदेखि अनिश्चय र निराशामा रुमल्लिइरहेको देशमा लोकतन्त्रको जग बस्नेछ | यो गहनतम ऐतिहासिक जिम्मेवारी पूरा गरेर प्रधानमन्त्री सुशील कोइराला इतिहास निर्माण गर्दै हुनुहुन्छ | ऋषिमनका प्रधानमन्त्रीले संविधान बनेको भोलिपल्टै पदबाट राजिनामा दिने घोषणा गरिसक्नुभएको छ | यता राष्ट्रपति रामवरण यादवले पनि संविधान निर्माण हुनासाथ पदमुक्त हुने इच्छा व्यक्त गर्नुभएको धेरै भइसकेको छ | यो ऐतिहासिक दायित्व कुशलतापूर्वक निर्वाह गर्नुभएकोमा कृतज्ञता स्वरुप प्रधानमन्त्री सुशील कोइरालालाई राष्ट्रप्रमुख राष्ट्रपतिको पदको लागि आग्रह गर्नु राष्ट्रको कर्तव्य हो भन्ने मलाई लाग्दछ |

नेपाली कांग्रेसको महाधिवेशनको मिति पनि नजिकिंदैछ | नयाँ रूपले विकसित परिस्थिति अनुसार नेपाली कांग्रेसलाई अगाडि बढाउन एउटा सशक्त र बौद्दिक नेतृत्वको आवश्यकता छ | नेपाली कांग्रेसको आगामी सभापतिका लागि उप-सभापति रामचन्द्र पौडेल नै सबैभन्दा योग्य हुनुहुन्छ भन्ने मलाई लाग्दछ | आफ्नो आस्था र विश्वासको लागि आस्थाको बन्दी भएर करिब पन्ध्र वर्ष जेलजीवन बिताउनुभएका वहाँले तनहुँको विकट सतिस्वरा गाउँमा निम्न मध्यम वर्गीय परिवारमा जन्मिएर पनि जीवनका चुनौतीहरूको सामना गर्दै संस्कृत साहित्यमा शास्त्री र नेपाली साहित्यमा स्नातकोत्तर गर्नुभएको छ | सभामुख, उप-प्रधानमंत्री, संसदीय दलको नेता र गृह लगायत पटक पटक विभिन्न मन्त्रालयका मंत्री भएर पनि वहाँले अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरू र देशको अभिजात्य वर्गसँगको आफ्नो सम्मानजनक दुरी हमेशा कायम राख्नुभएको छ | चरित्रको शुद्दतामा विश्वास गर्ने वहाँले आफ्नो आदर्शमा कसैसँग पनि कहिल्यै कुनै सम्झौता गर्नुभएन |

“गाउँबाट विचलित भएर अस्थिर भएको मनलाई गाउँमा नै आधुनिक सेवा र सुविधा पुर्याई फर्कौं फर्कौं बनाउनको लागि म राजनीतिमा लागेको हुँ |” भन्ने वहाँले आफ्नो उद्देश्य प्राप्तिका लागि विभिन्न राष्ट्रिय अभियान समेत चलाउनुभएको छ | लोकतन्त्रको फल आर्थिक समृद्दीबाट मात्र जनताले चाख्न सक्छन् भन्ने कुरामा विश्वास गर्नुहुने वहाँ लोकतन्त्र र स्वतन्त्रता मान्छेको सांस्कृतिक, सामाजिक, राजनैतिक र आर्थिक जीवनपद्दतिको मार्गनिर्देशक बन्नुपर्दछ भन्ने कुरामा दृढ हुनुहुन्छ | निजी क्षेत्रलाई समेत प्रोत्साहित र आकर्षित गर्ने वातावरण बनाउँदै हाम्रो जस्तो विपन्न र गरिब मुलुकमा सरकारले आधारभूत शिक्षा, भौतिक संरचना, वातावरण संरक्षण, जनसंख्या नियन्त्रण र गरिबी नियन्त्रणको जिम्मेवारी लिनुपर्छ भन्ने कुरामा वहाँ विश्वास गर्नुहुन्छ | वामपन्थी विचारधाराले प्रभाव जमाउन सक्नु हाम्रो गरिबी र पछौटेपन नै हो भन्ने मान्नुहुने वहाँ प्रचूर अधिकार सहितको विकेन्द्रीकरणको माध्यमबाट एउटा आम मान्छेको स्थानीय सरकारमा पूर्ण पहुँच बनाउन नेपाली कांग्रेस लाग्नुपर्दछ भन्ने कुरामा विश्वास गर्नुहुन्छ |

खोज, अध्ययन र अनुसन्धानमा आधारित नीतिलाई महत्व दिने वहाँले “नेपालमा मानवाधिकारको स्थिति” शीर्षकमा “महेन्द्र विक्रम शाह पुरस्कार” लगायत विभिन्न लेख र वादविवादमा धेरै पुरस्कार प्राप्त गर्नुभएको छ | “नेपाली कांग्रेस के भन्छ?”, “सत्याग्रह किन र कसरी?”, “प्रजातान्त्रिक समाजवाद- एक अध्ययन”, “अभिशप्त इतिहास”, “कृषि क्रान्ति र समाजवाद” लगायत अनेकौं रचनाका रचनाकार पनि हुनुहुन्छ वहाँ |

वी पी कोइरालाको लोकप्रिय जननिर्वाचित सरकारलाई अपदस्थ गरेर राजा महेन्द्रद्वारा वि स २०१७ सालमा चालिएको प्रजातन्त्र मास्ने कदमबाट विक्षुब्ध रामचन्द्र पौडेलले १६ वर्षको उमेरमा सुरु गर्नुभएको राजनैतिक यात्रामा कहिल्यै विश्राम लिनुभएन, जस्तोसुकै कठिन परिस्थितिमा पनि कहिल्यै हार खानुभएन | माओवादी हिंसाको उत्कर्षका बेला माओवादीको उदगम स्थलमा नै गएर ललकार्ने हिम्मत राख्नुहुन्थ्यो वहाँ | आँफूमाथि भएका अन्यायलाई सहेरै पनि पार्टी एकताको पक्षमा सतीसाल झैं सदा खडा रहनुभयो वहाँ | अहिले वहाँलाई सभापति निर्वाचित गरेर पार्टीको बागडोर सुम्पने अभिभारा आएको छ नेपाली कांग्रेसका कार्यकर्ताको काँधमा |

(लेखक नेपाली जनसम्पर्क समिति अमेरिका मेरिल्याण्ड च्याप्टरका निवर्तमान सभापति हुन् |)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१