फूल फुल्यो, मैले हेरिरहें ।

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ असार २०७२, बुधबार १७:५२

गमलामा फूल फुल्यो । मैले हेरिरहें ।
रोपेको सानो बीउ, बिस्तारै टुसा पलायो । हुर्कियो । ठुलो भयो । फुल्यो । अनि फक्रियो ।
म एकोहोरो बारदलीमा बसेर हेरिरहेछु । यस्तै कति फूल फुले । हुर्किए । बढे । फक्रिए । ओइलाए । र, मरे ।
मलाई केहि फरक पर्यो ?
अहँ, मलाई केहि फरक परेन ।
फूल फुल्छन् । फक्रन्छन् । भमरा लाग्छन् । फूल हाँस्छन् । भमरा रमाउँछन् । अनि फेरी एक दिन फूल ओइलाउँछ । त्यहीं गमलामा मर्छ । न भमरा लाई केहि फरक पर्छ, न मलाई ।
म फेरी अर्को बिउ रोप्छु । फेरी त्यहीं क्रम चलिरहन्छ । कुनै सुक्ष्म चीज बाट स्थुल चीजको आगमन हुन्छ । म हेरिरहन्छु । एकै छिन हेरेर मुस्कुराउँछु ।
केहि बाट केहि आउँछ । अचम्मको कुरा भएन ।
जसरी आउँछ, त्यसरी नै जान्छ ।
शुन्यताबाट केहि प्रकट भएको भए अचम्म पर्थे होला । अनि भन्थें, हाउ सम्थिंग क्यान कम फ्रम नथिंग ?
***
phoolत्यस्तै म एक दिन यो धर्तीमा आएँ । फूलको बिउ जस्तै । हुर्किएँ । बढें । फक्रिएँ । ठुलो भएँ ।
म फेरी आफैमा हराउँछु । गमलामा फूल फुलिरहेकै छ । केहि दिनमा फेरी ओइलाउने छ, म ढुक्कसंग भन्नु सक्छु । मसंग लामो अनुभव छ यिनीहरुको आवत जावतको ।
यो धर्ती यस्तै थियो । खोला, नाला बगेकै थिए । सुर्य उदाएकै थियो । चन्द्रमाले शितलता बाँडेकै थियो । रुखका पातहरु हल्लिएकै थिए । बोट बिरुवाहरु मौलाएकै थिए ।
अझ भन्नु पर्दा रुख रुख नै थियो । फूल फूल नै थियो ।
हेर्दा हेर्दै फूल फुलेको थियो । ओइलाएको थियो । केहि दिनमा हराएको थियो ।
म आएँ । फूल ओइलाउन रोकिएन । अमर भएन । खोला रोकिएन । हावाको बेग रोकिएन । केहि पनि रोकिएन । सबै आफ्नै गतिमा चलिरहे ।
भोलि, एक दिन, म यो फूल झैं अस्ताउने छु । यो धर्ती यस्तै नै हुनेछ । सबै कुरा आफ्नै गतीमा चलिरहने छ ।
कसैलाई केही फरक पर्ने छैन ।
जसरी मलाई यी फूलहरु ओइलाएर केहि फरक परेन । फरक परे पनि मैले केहि गर्न सकिन । त्यस्तै गरी यो धर्तीलाई केहि फरक पर्ने छैन । कसैले केहि गर्न सक्ने छैन ।
सबै क्षणभंगुर छ । अनित्य छ ।
यो चिसो हावा जुन म अहिले बारदलीमा बसेर स्पर्श गरिरहेछु । मेरो वरिपरिको दृष्टि – फूल, बारदली, अगाडीको पार्क, परको रुख, हल्लिराखेका पातहरु, झुलिराखेका हाँगाहरु, सडकमा गुडिरहेका गाडीहरु, अस्ताउँदै गरेको सुर्य, आफ्नै तालमा बगिरहेको बादल, अगाडी ठडीएको घर । सबै यस्तै रहनेछ । मैले सुनिरहेको आवाज । मैले सुघीरहेको गन्ध । सबै उस्तै रहनेछ ।
मात्र मेरो स्पर्श मर्ने छ । मेरो दृष्टि हराउने छ । मेरो आवाज सुक्ने छ । कर्णशक्ति शुन्य हुने छ । मेरो घ्राण शक्ति ह्रास हुने छ ।
म बिलिन हुनेछु ।
शुन्यतामा या सुक्ष्म्तामा ? कसैले भन्ने छैन किनकि फूल मरेपछि कहाँ गयो न मेरो चासोको विषय रहयो न अरुको !
जसरी फूल ओइलाए पनि गमलाको अस्तित्व रहिरहन्छ त्यसरी यो धर्ती सदा सर्वदा रही रहनेछ । म, फूल, मात्र विलिन हुनेछु ।
थाहा छैन, यदि शुन्यताबाट स्थूलता हुन सक्दैन भने कुनै स्थुल चीज कसरी शुन्यतामा बिलाउन सक्छ ?
यो पनि थाहा छैन मान्छेले भन्ने गरेको सुक्ष्म आत्मा यदि छ भने किन लुकेर हिड्छ ? जिन्दगीमा गल्ति गरेको भए पो डराउनु ! नत्र त छाती खोलेर हिड्नु !
हुनसक्छ, मैले बुझेको सुक्ष्म वास्तविक सुक्ष्म होइन र मैले बुझेको स्थुल सच्चा स्थुल होइन । आज सम्म मैले जे देखें त्यो भ्रम हो । र, आज मैले जे देखिरहेको छु त्यो पनि भ्रम हो ।
म जुन यो बारदलीमा बसेर सोचिरहेछु, त्यो पनि भ्रम हो । जुन फूल म देखिरहेछु, त्यो पनि भ्रम हो । जुन कुरा म लेखिरहेछु, त्यो पनि भ्रम हो ।
एक दिन सबैको अस्तित्व यसरी नै हराउने छ ।
आफु आएको र भएको भ्रममा रमाउँदा रमाउँदै बिचमै हराउनेछन् ।

-निर्मल ज्ञवाली 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१