जब देश ढल्दै जान्छ …शेष त केही रहन्न कि जस्तो हुदैजादोरहेछ ! आफ्नैं शरीर पनि त अर्काको हुने हो नि, किन बाँच्नु ? जस्तो हुनेरहेछ । आफ्नो माटो पनि आप्नो रहन्न भने किन दुःख गर्नुजस्तो हुने रहेछ ! यो वायुमण्डलबाट तानिएको अक्सिजन पनि आफ्नो नहुने हो भने केलाई साश फेर्नुजस्तो हुनेरहेछ ! जब देश ढल्दै जान्छ… शेष त केही रहन्नजस्तो हुनेरहेछ ! जोरजाम गरिएका सामाजिक चोइटाहरु, संस्कार, सभ्यता र निर्माणका जगहरु सबै बगेर जान्छ कि जस्तो हुदोरहेछ अनि निकै बलियो भनिएको इतिहासको जग, मौलिकताको गर्व, वर्तमानको श्वासप्रश्वास र भविष्यको टेको पनि केही रहदैन कि जस्तो हुदोरहेछ । जब एक सगोल मान्छेबाट नागरिक भएको प्राणी नै नागरिकच्यूत हुन्छ र उसको रक्तसमूह नै बदलिन्छ भने उसँग उसका रोगहरु पनि रहन्नन्, उसका भोगहरु र सुखसन्तुष्टि पनि निख्रिंदैजान्छजस्तो ! जब देश ढल्दै जान्छ … तर, देश ढलिसकेको छैन । ढल्दो छ । अनि देशको यस्तो हाल सम्झेर यतिवेला नागरिकहरु न रुन सकेका छन्, न उपहास गरेर गिल्लिन । जोश निकालेर भित्रैबाट यो सब फोहोरहरु फाँडिदिउँभन्दा पनि नसक्नेगरी थल्याइएको छ नागरिकलाई । र, अब त मृत्युको पनि कुनै मोल छैन, यो देशमा कोही मरेर वा मारेर पनि केही हुनेवाला छैन भएको छ । समयले आज यस्तो मोडमा पुर्याइदियो नेपालीलाई कि, त्यो खुनिलो स्वाभिमान पनि बेक्कारको थियोजस्तो भोग्न थालेका छन् । र, त्यतिवेलै अंगे्रजसँगको युद्धमा नेपालले हारेको भए हुन्थ्योजस्तो ओकल्न थालेका छन् ! योभन्दा चरम ग्लानिमा जल्नु आफ्नैं छातिमा बञ्चरो हान्नु पनि हुदैन होला ! तै पनि यथार्थ यस्तै छ, आज आएर देशलाई मर्ज र सबमर्ज गर्ने विषय चल्छ, देश एकीकरणकर्ताको सालिकमाथि पिशाव फेर्नेहरुको रजाईं चल्छ, खोल ओढाएसरी देशको काँचुली फेर्छु भन्नेहरु आफ्नैं काँचुलीमा रंगरोगन गरिरहेको देखिन्छ । र, सदा आशिर्वादको पर्खाइमा दक्षिणतिर शीर निहुराएको मात्र देखिन्छ । त्यो बीरता, त्यो इतिहासको बाहुवलमा नहारेको नेपाली, त्यो संसार जितेको कथा ! त्यो सब भ्रम थियो र नेपाली त पहिलेदेखि नै अरुको दयामा, अरुको तथास्तुमा चलेको प्राणी थियोजस्तो बनाएको छ वर्तमानले । नेपालको पछिल्लो समयले नागरिकमा इतिहासप्रति यस्तै ग्लानिबोध गराईदिएको छ अफसोच ! इतिहासमा जितेर वर्तमानमा हार्नुभन्दा इतिहासमा हारेर वर्तमानमा जित्नसकेको भए हुन्थ्योजस्तो लागेको छ । किनकी अचेल देश त झुक्नुझुकेर अब ढल्लाजस्तो भएको छ । जो पछिल्लो समय झन् टीठलाग्दोगरि देखियो । जब देश ढल्दै जान्छ …शेष त केही रहन्न कि जस्तो हुदैजादोरहेछ !
अब त यस्तोसम्म कथन चल्न थाल्यो नेपालमा कि, दिल्लीमा पानी पर्दा, काठमाण्डौले छाता ओढ्छ ! यो कथनको चलन झन्झन् बढ्नुको पछिल्लो दृश्यमा नेपालका नेताहरु लस्करै लम्पसार पर्न गए र आशिर्वाद थापेर आए अनि मात्र भन्न थाले – नेपाली जनता हो, अबचाही चुनाव हुन्छ ! यतिसम्मको परनिर्भरताले नागरिकको मुटुमा कति गहिरो घाउ पार्छ होला ? छिमेकका अगाडि आप्mनो देशप्रति औसत नागरिकले कसरी गौरब गर्न सक्छ होला ? अनि रुपडियातिर चिया पसल थाप्नेले छिमेकी नेपालीलाई विहान चिया खाएपछि भन्छ होला : यो गिलास माझेर जानू । अनि नागरिक मन किन हतोत्साही हुदैन ? जब आफुले हस्ताक्षर गरेर पठाएको विश्वास, गौरब र नेताले अर्को देशसामू झुकेको तथ्य पैmलिन्छ र पालै पालो शीर निहुरिन्छ भने किन रुदैन नागरिक नेपाली ? अनि पलपल यसरी आफ्नैं स्वाभिमानको पर्खाल ढलिरहदा आलाप मात्र कति गरिरहन सक्छ नेपाली ? र, यसका कारकहरु तिनीहरु नै हुन्, जोसँग देश सञ्चालनको क्षमतामा किरा परेको छ, परजीवि नेतृत्व, राष्ट्र र राष्ट्रियतामा गिरेका अनुहारहरु, जस्ले कहिल्यै पनि देश र जनहीतमा रगत बगाएनन् र तिनले अरुको इशारामा आफ्नाहरू अह््राइरहे मात्र, आपैmले केही गरेनन् । तिनीहरु आफ्नो विवेकले त यो देशमा एउटा कुलो खन्न पनि सक्दैनन् । लस्कर लागेर जान्छन् अनि –तुम् शरणम् ! एक छिमेकका रुपमा भ्रमणको सकारात्मक महत्व र परिणाम हुदाहुदै पनि पछिल्लो पटक एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालदेखि नेपाली काँग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवा, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको लस्करेलम्पसारले भारतलाई नेपालबारे सर्वपक्षीय सर्वांग सन्देश र सूचना मिलेको छ । यसबाट नेपालका नेताहरुको नियत, चाहना र फरकफरक स्वार्थमाथि भारतले एकमुष्ट चित्र कोर्ने छ र यिनको लम्पसारमाथि उसको तरबार चल्दा हामी सबै ढल्नेछौं, अहिले त ढल्दै मात्र गएका छौं । जब देश ढल्दै जान्छ …शेष त केही रहन्न कि जस्तो हुदैजादो रहेछ !!!
-प्रेम बाँनिया,पत्रकार
प्रतिक्रिया