अंग्रेजी पढाउन थालेपछि विद्यार्थी ६ गुणा बढे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ असार २०७२, बुधबार ११:४९

बागलुङ, २ असार । यहाँको एक प्राथमिक विद्यालय शिक्षक दरबन्दी अभावले समस्यामा परेको छ । विसं २०६८ मा एकीकरणको सूचीमा परेर पनि बन्द हुनबाट जोगिएको मल्म–७ स्थित प्रगति प्राथमिक विद्यालय दरबन्दी अभावले समस्यामा परेको हो । दुई वटा मात्रै दरबन्दी रहेको विद्यालयलाई बाँकी सात जना निजी स्रोतका शिक्षकलाई तलब खुवाउनै धौ–धौ परेको छ । ‘बन्द हुने अवस्थामा पुगेको विद्यालयलाई यहाँसम्म त ल्यायौँ, तर अब कसरी धान्ने भन्ने समस्या छ’ प्रधानाध्यापक नगेन्द्र मल्ले बताए । कक्षा १–५ पढाइ हुने विद्यालयमा अहिले ६२ जना अध्ययनरत छन् । विद्यार्थी घटेर १३ जना पुगेपछि २०६८ मा विद्यालय बन्द हुने अवस्थामा पुगेको थियो । अङ्ग्रेजी माध्यमसँगै गुणस्तरीय शिक्षा दिन थालेपछि विद्यार्थीको आकर्षण बढेको प्रअ मल्लले बताए । विद्यार्थी सङ्ख्या, व्यवस्थापन, शैक्षिक वातावरण, सिकाइ उपलब्धिमा सुधार हुँदै आए पनि विद्यालय आर्थिक समस्या झेल्न बाध्य छ । निजी स्रोतका शिक्षकको तलबमा मात्रै वार्षिक रु छ लाखभन्दा बढी खर्च हुने गरेको विद्यालयले जनाएको छ । विद्यालयसँग नियमित आम्दानीको स्रोत नहुँदा तलब खुवाउनै गाह्रो भएको व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाले बताए ।

edu‘दुई शिक्षकको मात्र सरकारी दरबन्दी छ, सात शिक्षकको तलब सुविधा व्यवस्थापनमा कठिनाइ छ’ अध्यक्ष थापाले भने, ‘चन्दा सहयोग, अक्षयकोष, सामुदायिक वनबाट आउने केही रकले धानिएको छ ।’ भविष्यमा विद्यालयलाई कसरी चलाउने भन्ने चिन्ता छाएको अध्यक्ष थापाले बताए । विद्यालयले सहयोग, भैलो आदिबाट छ लाखको अक्षयकोष बनाएको छ । देश विदेशमा रहेको शुभेच्छुक तथा स्थानीयवासीले विद्यालयलाई सक्दो आर्थिक सहयोग गर्दै आएका छन् । ‘विद्यालयको दिगो व्यवस्थापन र शिक्षाको गुणस्तरीयता वृद्धिका लागि मेहनत गरिरहेका छौँ’ प्रअ मल्लले भने, ‘दरबन्दी थपको व्यवस्था भएमा धेरै सहज हुने थियो, कुरा उठाइरहेका छौँ तर सुनुवाइ हुन सकेको छैन ।’ गाउँकै प्राविमा अङ्ग्रेजी माध्यममा पढाइ भएपछि आफ्ना बालबालिकालाई संस्थागत विद्यालयमा पढाउन चाहने अभिभावकले पनि सोही विद्यालयमा भर्ना गर्न थालेका छन् ।

विद्यालयको शैक्षिक अवस्था सुदृढ हुँदाहुँदै पनि दरबन्दी अभावले समस्यामा पर्नु बिडम्वना रहेको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत खेम आचार्यले बताए । केही वर्षअघि दरबन्दी मिलान गरिएको भए पनि त्यसले जिल्लाभरको समस्या नसुल्झाएको उनको भनाइ छ । ‘सुगममा दरबन्दी थुप्रने, दुर्गममा दरबन्दी नै नहुने समस्या छ’ अधिकृत आचार्यले भने, ‘विद्यार्थी सङ्ख्या राम्रो भएका र गुणस्तर सुधारेका विद्यालयमा दरबन्दी थप्नु आवश्यक छ ।’ उनले जिल्लामै शिक्षक दरबन्दी कम रहेका कारण समस्या झन थपिएको उल्लेख गरे । अहिले पनि कतै दरबन्दी बढी हुने कतै हुँदै नहुने अवस्था विद्यमान छ । विद्यार्थी सङ्ख्या उल्लेख्य भएर पनि दरबन्दी नपाएका विद्यालय धेरै छन् । अधिकांश दुर्गम भेगका विद्यालयले दरबन्दीको समस्या झलिरहेका छन् । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१