काठमाडौं,२ असार । उपत्यकामा जब चोरी बढ्न थाल्छ, प्रहरी अधिकारीहरु भर्खरै जेलबाट छुटेका कैदीको विवरण पल्टाउन थाल्छन् । चोरी तथा डाँका मुद्दामा जेल परेकाहरु छुटेलगत्तै फेरि चोरीमा लाग्ने भएकाले यस्तो समस्या प्रहरीले झेल्ने गरेको छ । कुनै स्थानमा चोरी हुँदा प्रहरीले पहिला पक्राउ परेकाहरुको विवरणका आधारमा अनुसन्धान थाल्ने गरेको छ । राजधानीका चोरीमा प्रायः पटके चोरहरु संलग्न हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् । धेरैलाई अदालतले धरौटीमा छाडिदिने र छुटेलगत्तै उनीहरु चोरीमा लाग्ने प्रवृत्ति देखिएकाले उपत्यकामा चोरी नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको उनीहरुको भनाइ छ । नुवाकोटका तेजबहादुर मगर डाँका मुद्दामा आठ वर्ष जेल परेका थिए । तीन दिनअघि प्रहरीले उनलाई पक्राउ गरेको छ । दुईवटा ठूला चोरीमा उनको संलग्नता भएको खुलिसकेको छ । थप घटनामा पनि उनको संलग्नता भएको आशंकामा अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ । श्रीमतीले काम गर्ने एजुकेसन सेन्टरमा पनि उनले चोरी गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया