केवल हजुरको नाममै बाँचिरहनेछु…

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ असार २०७२, मंगलवार १३:५२

यो जीवनमा हजुर र म शारीरिक रुपमा यति छोटो समयमा अलग हुनपर्छ भनेर मैले कहिल्यै सोचेको पनि थिईन । हजुरले बारम्बार भनेको कुरा – जीवनमा लेखेको कुरा जसरी पनि भएरै छाड्छ, अनेकौं कोशिश गरेपनि जन्मिदा लेखेर आएको कुरा कसैले मेट्न सक्दैन । हजुरले बोलेको कुरा प्रामाणित त गर्नु भयो तर मैले अझैपनि वास्तविक स्विकार्न सकेको छैन । बिहान उठ्दा सबै कुराहरु ठिकै भएपनि दिनभरीको यात्रामा के के घटना घट्छ कसैलाई केहि थाहा नहुँदो रहेछ ।
त्यो त मात्र रात परेपछि थाहा हुने रहेछ अर्थात राती सुत्ने बेलामा सबै कुराहरु ठिकै भएर सुत्न गएपनि अचानक बिहान उठ्दा के हुन्छ, यो जीवनमा कसैले कहिल्यै ठोकुवा गरेर भन्न नसकिने रहेछ । लामो समयको मिहेनत, मायाँ नै मायाँले भरिएको बिश्वास, हिमाल भन्दा स्वच्छ र सफा हाम्रो मन, आकाश भन्दा फराकिलो र समुन्द्र भन्दा गहिरो हामी दुई बीचको मायाँ प्रेमलाई जुनिभरि संगै हाँश्ने खेल्ने बाचा कसमका साथ बैबाहिक जीवनमा गाँस्न पुगियो ।
हजुरले म प्रति गरेको माया, बिस्वास, साथ र त्याग म मेरो मन मस्तिष्क sweetaजीवनभरि बोकेर हिंड्नेछु र त्यहि मायालाई एउटा मेरो जिउने आधार बनाउने छु । मलाई पुरा बिस्वास छ आज मेरा हरेक दिनहरुमा हजुरले मलाई नजर लगाईरहनु भएको छ र हजुरले मलाई सधैभरि माया र आर्शिवाद दिईरहनुहुनेछ । मेरो मायाँ सधैभरि केवल हजुरलाई नै थियो र अबको बाँकि जीवनमा पनि हजुरकै नाममा रहिरहनेछ । किनकि मेरो मन, मुटु र शरीरलाई हजुरको आत्माले दौडाउनु भएको छ । आजको यो महत्वपूर्ण दिन, हजुरको जन्मदिनको दिनमा म बिस्तारामा लडेर मेरो भगवान, मेरो जिन्दगी, मेरो ढुकढुकी हजुरलाई सम्झेर – केवल हामीले संगै बिताएका रमाईला क्षणहरु कल्पना गरिरहेको छु ।
एकै छिनमा हास्न थाल्छु, छिनमै रुन अनि आत्तिन पुग्छु तर फेरि हिम्मत गरेर अघि बढ्ने अनेक कोशिश गरेको छु । किनकि मलाई पुरा बिस्वास छ हाम्रो मायाँ सधै अमर रहिरहने छ र यो मायाँ कहिल्यै घट्ने छैन केवल बढिरहने छ ।
आज भन्दा पहिलाको जन्मदिनहरुमा म हजुर सामु उपहारहरु लिएर उपस्थित हुन्थे तर माफ गरिदिनु होला यो पटक मैले हजुरलाई उपहार दिनुको सट्टा उल्टै हजुरसंग मैले उपहार स्वरुप आफ्नो असल स्वास्थको भिक माग्ने आँट गरेको छु । हेर्नुस न मेरो स्वास्थ्यमा कत्ति सुधार आएको छैन, म रातदिन सुत्न परेको छ, मलाई सन्चो भएको छैन, मैले जति कोशिश गरेपनि म उठ्न सकेको छैन ।
प्लिज मलाई हजुरले शक्ति दिनुहोला, छिटो भन्दा छिटो मलाई उठाई दिनुहोला, हजुरले मलाई सुम्पिएर गएका कामहरु अलपत्र परेका छन, मलाई छिटो निको भएर हजुरको सारा योजना र सपना सफल बनाउने ठूलो इच्छा जागेको छ तर राम्रो सँग आफ्नै शरीर सम्हाल्न सकेको छैन । प्लिज मलाई साथ दिनुहोस् र छिटै निको बनाएर अघि बढाईदिनुहोस् ।
हजुर जहाँ हुनुहुन्छ म सधैं हजुरको साथमा रहिरहने छु र केवल हजुरको नाममै बाँचिरहनेछु । यहि छ हजुरलाई मेरो तर्फबाट यो जन्मदिनको शुभकामना । हामी दुवैले नचाहँदा नचाहँदै पनि आज भौगोलिक दृस्टीकोणले हामी टाढा हुन बाध्य भएपनि आत्मिय रुपमा हामी सधैंभरि नजिकै रहिरहने छौँ र म जीवनभरि हजुरको यादै यादमा बाँचि रहने छु । यहि बचन छ हजुरलाई मेरो तर्फबाट ।

– स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको सम्झनामा स्वेताले कोरेकी मर्मस्पर्शी शब्दहरु…

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१