अस्पतालमा म लडेँ गाउँमा घर लड्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ असार २०७२, मंगलवार १२:२१

काठमाडौं । १२ गते मध्याह्नतिर भुइँचालो जाँदा दोलखानिवासी कृष्णबहादुर श्रेष्ठ वीर अस्पतालको अपरेसन थिएटरछेउको कोठामा थिए । सात घन्टा लगाएर स्पाइनल कर्डको शल्यक्रिया गराएपछि उनी भर्खरै होसमा आएका थिए । ‘भुइँचालो जाँदा म भर्खरै होसमा आएको थिएँ । होस पूरै आइसकेको थियो । तर, शरीरमा बल थिएन । वरिपरि के भइरहेको छ भन्ने सबै थाहा भने पाउँथेँ ।
राम्रोसँग बोल्न सक्ने अवस्थामा भने थिइनँ,’ कृष्णबहादुरले भने । भूकम्पका कारण जमिन हल्लिन थाल्दा बेडमा लडेका उनको छेउमा श्रीमती शर्मिला श्रेष्ठ थिइन् । ‘वीर अस्पतालको दोस्रो तलामा थियौँ, हामी । कोठामा अरू केही बिरामी र सिस्टर (नर्स)हरू हुनुहुन्थ्यो । त्यतिकैमा अचानक बेड थरथर काम्न थाल्यो,’ भूकम्प जाँदाको क्षणबारे चर्चा गर्न लागे उनी, ‘वरिपरिको भित्ता मच–मच मच्चिन थाल्यो । ठूलै भूकम्प आयो भन्ने मैले चाल पाइहालेँ ।’
भूकम्प जाँदा छेउमा श्रीमती नभएको भए के हुने थियो भन्ने कल्पना गर्न पनि उनी डराउँछन् । भन्छन्, ‘सायद बाँच्दिनँ थिएँ होला । भुइँचालोले हल्लाउन थालेपछि (अक्सिजनका) सिलिन्डर खस्न थाले । ड्रेसिङका सामान यताउता हुत्तिन थाले । यी सबैबाट उनले मलाई बचाइन्,’ श्रीमतीको नाम लिँदै उनले भने, ‘उनले नबचाएको भए सिलिन्डरले लागेर म स्वाहा भइसकेको हुने थिएँजस्तो लाग्छ । त्यस्तो अप्ठ्यारो क्षणमा पनि उनले मलाई सम्हाल्न भ्याइन् । सिलिन्डरलाई ममाथि बजारिनबाट रोकिन् ।
भुइँचालोले गर्दा म सुतेको बेड छेउका अरू बेडसँग जुधेर जात्रा भएको थियो । उनले एउटा हातले छेउको ढोका समातिन् र अर्को हातले मेरो बेड समातेर बेडसँगै मलाई जथाभावी हुत्तिनबाट जोगाइन् ।’
भुइँचालो आउँदा कृष्णबहादुरलाई ‘अब मर्ने दिन आएछ’ भन्ने लागेको थियो । ‘ऋण काडेर उपचार गर्न आएको थिएँ । दुई–तीन लाख ऋण थाप्लोमा आइसकेको थियो । भुइँचालोले मर्ने भइयो, छोराछोरीको थाप्लोमा बित्थाको ऋण बोकाएर जाने परियो भन्ने लाग्यो,’ उनले सुनाए । शरीर पूरै कमजोर भएकाले हुन सक्छ, उनको मनस्थिति पनि त्यतिवेला निकै कमजोर थियो । ‘कोठाबाट भागेर जान पाए हुन्थ्यो भन्ने पनि लागेन । जीवन सिद्धियो, अब मर्ने पक्का भयो भन्ने लाग्यो । पूरै हरेस खाइसकेको थिएँ ।
gauफेरि भुइँचालो पनि रोकिँदै नरोकिने खालको थियो,’ उनले सम्झिए । कोठामा रहेका नर्सहरू भूकम्पनसँगै रुने, कराउने, चिच्याउने गर्न थालेपछि कृष्णबहादुर थप आत्तिएका थिए । ‘हामीलाई आत्मबल दिनेहरूकै बेहाल देखेपछि बाँचिन्छ भन्ने आस अझ हरायो । अस्पताल भत्किएर पुरिने भइयोजस्तो लाग्यो । भुइँचालो रोकिएपछि चाहिँ अब बाँचियोजस्तो लाग्यो,’ उनले सुनाए ।
भुइँचालोको पहिलो झड्का रोकिएपछि सबैजना दगुरेर बाहिर गएका थिए । तर, दगुर्ने अवस्थामा थिएनन्, कृष्णबहादुर । ‘मलाई पनि बाहिर जान पाए ज्यान बच्ने थियोजस्तो लाग्यो । श्रीमती र मैले सिस्टरहरूसँग बाहिर जान पाइन्छ ? भनी सोध्यौँ । तर, उहाँहरूले बाहिर जान दिनुभएन । डाक्टरले अनुमति नदिईकन कोठाबाहिर निस्किन पाइँदैन भन्नुभयो,’ उनले सुनाए,
‘सिस्टरहरूले ‘हामी पनि यहीँ बस्छौँ, तपाईं एक्लै मर्ने होइन क्यारे, नडराउनुस्’ भन्नुभयो । त्यसपछि म र श्रीमती भित्रै बस्यौँ ।’ कृष्णबहादुर वीर अस्पतालमा बस्न थालेको महिनौँ भइसक्यो । शल्यक्रिया गर्नुअघि उनको ढाड बेस्कन दुख्ने गथ्र्यो । ‘उपचारका लागि तीन–चारवटा अस्पताल धाएँ । डाक्टरले ‘ग्यास्ट्रिकले गर्दा ढाड दुखेको हो’ भनी औषधि दिनुभयो ।
दुई महिनाजति ग्यास्ट्रिकको औषधि खाएपछि पनि दुख्न कम भएन । फेरि जचाएँ । फेरि पनि ग्यास्ट्रिककै औषधि दिइयो । थप तीन महिनाजति ग्यास्ट्रिकको औषधि खाएर पनि निको नभएपछि म वीर अस्पताल आइपुगेँ,’ वीर अस्पताल आउनुपूर्वको कहानी सुनाए, कृष्णबहादुरले । वीर अस्पतालसम्म उनी ठमठमी हिँडेर आइपुगेका थिए । ‘अस्पताल आइपुगेपछि अलिक असजिलो भएजस्तो भयो । एकछिनपछि छातीमुनिको भाग ठ्याम्मै चल्न छोड्यो ।
छातीमुनि छोएको, चिमोटेको केही थाहा नहुने भयो,’ उनले सुनाए । त्यसपछि उनलाई भर्ना गरियो । शरीरका विभिन्न पाटपुर्जाको जाँच गरेपछि डाक्टरहरूले उनलाई टिबी लागेको छ भने । ‘टिबीले मेरो ढाडको हड्डी खाइसकेको रहेछ । हड्डी खिएको ठाउँमा स्टिल हाल्न मेरो अपरेसन गर्नुपर्ने भयो,’ उनले भने ।
१२ वैशाखको भुइँचालो रोकिएपछि उनले र श्रीमतीले घरको हालखबर बुझे । घर जीर्ण बनेको रहेछ । घरमा रहेका बालखा छोराछोरीलाई केही नभएको थाहा पाएपछि उनीहरूले सन्तोषको सास फेरे । अस्पतालमै बसेर उपचारलाई निरन्तरता दिइरहेको वेला २९ गते उनकै गृहजिल्ला दोलखालाई केन्द्र बनाएर ६.८ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गयो । त्यतिवेलासम्ममा उनी निकै तङ्ग्रिसकेका थिए । १२ गतेको भूकम्पले उनको घर पूरै भत्काएछ । ‘भुइँचालोले घर पूरै भत्काएछ । अन्नपात पुरिएछन् । घरमा एउटा राँगो र एउटा भैँसी थियो ।
ढुंगाले लागेर राँगाको खुट्टा भाँचिएछ । घरमा पालेका ६ वटा बाख्रालाई चाहिँ केही भएनछ,’ उनले भने । दोलखालाई केन्द्र बनाएर भूकम्प गएको थाहा पाएपछि उनलाई घरको भन्दा पनि घरमा रहेका १३ वर्षको छोरो र १६ वर्षकी छोरीलाई तलमाथि पो भयो कि भन्ने चिन्ताले खुब सतायो । ‘धन्न भुइँचालो गएको वेला उनीहरू घाँस काट्न गएका रहेछन् र बाँचेछन् । आमाबाबु घरमा नभएका वेला घर भत्किँदा बालखा छोराछोरीमाथि कत्रो आपत् आइलाग्यो होला भन्ने कुराले अहिलेसम्म झस्काउने गर्छ,’ उनी भन्छन् ।
घरबारविहीन भएपछि कृष्णबहादुरका छोराछोरी अहिले पालमा कष्टकर जीवन बिताइरहेका छन् । ‘त्रिपाल पनि ठूलाबडाले मात्र पाउँदा रहेछन् । एउटा त्रिपाललाई चार टुक्रा पारेर एउटा टुक्रा छोराछोरीको भागमा पारिदिएछन् । चिर्कटोजत्रो त्रिपालमा बिचराहरू कसरी बसेका होलान्,’ भावुक भए कृष्णबहादुर, ‘त्यति सानो त्रिपालले के गर्लान् बिचराहरू ? भँैसी, राँगो, बाख्रा, राहतमा पाएको अन्नपात ओताउलान् कि आफँै ओत लाग्लान् ?’ घरमा छोराछोरीको त्यत्रो बिजोग भइरहँदा उनी ह्विलचेयरमा बसेर वीर अस्पतालछेउको ट्रमा सेन्टरवरपर यताउता डुल्ने गर्छन् ।
‘केटाकेटीको उता बिजोग छ । यता म अस्पतालमा कुँजिएर बसेको छु । मनमा औडाहा छ । अहिल्यै घर पुग्न पाए हुन्थ्यो भन्ने लाग्छ । तर, जान सक्दिनँ,’ लामो सुस्केरा हाल्छन्, उनी । वेला–वेलामा उनी घर जान पाए हुन्थ्यो भन्ने सोच्ने गर्छन् । ‘डाक्टरहरूले पनि जान दिने थिए होलान् । तर, अलिकति रकमको जोहो हुन सकिरहेको छैन । ढाडमा ८२ हजार रुपैयाँको स्टिल हालिएको छ । ३५ हजार रुपैयाँजति तिर्न अझै बाँकी छ । यही कुराले पनि मलाई यहाँ अल्झाएर राखिरहेको छ,’ उनी भन्छन् । अस्पतालको बसाइ उनलाई जेलको बसाइभन्दा पनि निसास्सिँदो लाग्न थालेको धेरै भइसक्यो । फेरि अस्पतालको बसाइ पनि कठिन छ, कृष्णबहादुर र उनकी श्रीमतीलाई ।
‘अस्पतालले बिरामीलाई सित्तैमा खान दिने गर्छ । बिरामी कुरुवाले चाहिँ बाहिरतिर किनेर खानुपर्छ । भएको पैसा सिद्धिसक्यो । पैसा नभएका वेला मलाई दिएको खाना श्रीमती र मैले बाँडेर खाने गरेका छौँ । छोरीज्वाइँ र अरू आफन्तहरूबाट सापटी पाएका वेला उनले बाहिर गएर खाने गरेकी छिन्,’ कृष्णबहादुरले भने । ००० भरियाको काम गरेर प्रतिदिन एक–दुई सय रुपैयाँ बचाउने गरी जीविका चलाउने कृष्णबहादुरका लागि उनले ऋण काढेर जुटाएको उपचार खर्च ज्यादै ठूलो राशि हो ।
‘तीन महिनाका लागि पुग्ने उब्जनी हुने जग्गा छ । त्यही जग्गाको लालपुर्जा राखेर ऋण लिए । कतिपयले बोलेकै भरमा पैसा दिए । पैसाजति उपचारमै सिद्धियो । यत्तिकैमा घर भत्कियो । यो सब सम्झिएर ल्याउँदा कहिलेकाहीँ मर्न पाए पनि हुन्थ्योजस्तो लाग्छ,’ कृष्णबहादुरले दुखेसो पोखे । तर पनि उनले हरेस खाएको छैन । गरिखान सकिन्छ भन्ने आँट उनमा अझै छ । ‘यत्रो ठूलो आपत्बाट ज्यान बच्यो । छोराछोरीलाई पनि केही भएन । पैसा त बिस्तारै कमाइएला नि भन्ने लागेको छ,’ ह्विलचेयरलाई हल्का घुमाउँदै उनले भने, ‘गाउँमा बाँस जति पनि पाइहालिन्छ । बाँसको घर बनाई माटो लिपेर बस्न हुने घर बनाउन सकिहाल्छु भन्ने लागेको छ । भत्किएको घरको भन्दा पनि थाप्लोमा लागेको ऋणको मलाई बढी चिन्ता छ ।’

-सुजित मैनाली

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१