ट्वेन्टी–ट्वेन्टी विश्वकप छनोट तयारीका लागि भारत भ्रमणमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा पनि हिमान्चल प्रदेशको टिमलाई पराजित गरेको छ । सोमबार भएको खेलमा नेपालले हिमान्चल प्रदेशको टिमलाई ६१ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १ सय २२ रन बनाएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले एक छक्का र दुई चौकाको मद्दतमा ४७ बलमा नटआउट ५२ रन बनाए । यस्तै सोमपाल कामीले तीन चौकाको मद्दतमा २१ बलमा २४ रन बनाए भने शरद भेषवाकरले ११ रनको योगदान दिए । हिमान्चलका गुरुविन्द्र सिंहले दुई विकेट लिए । १ सय २३ रनको लक्ष्य पछ्याएको हिमान्चल १४ ओभर ३ बलमा ६१ रनमा सिमित भयो । उसलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले ३ तथा जितेन्द्र मुखिया र शक्ति गौचनले समान २–२ विकेट लिए । नेपालले यसअघि आइतबार भएको खेलमा पनि हिमान्चललाई पराजित गरेको थियो ।
प्रतिक्रिया