काठमाडौं,३२ जेठ । मधेसी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी र खस राष्ट्रिय समावेशी पार्टीबीच आज एकता हुँदै छ । तीन दल मिलेर बन्ने नयाँ पार्टीको नाम ‘संघीय समाजवादी फोरम’ राखिनेछ । एकीकृत पार्टीको अध्यक्षमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव रहनेछन् । संघीय समाजवादीका अध्यक्ष अशोक राई वरिष्ठ नेतासँगै संसदीय दलको नेता पनि हुनेछन् । एकीकृत पार्टी १५ सभासद्सहित संविधानसभाको पाँचौँ ठूलो दल बन्नेछ ।
अहिले विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पाँचौँ ठूलो दल छ । मधेसी जनअधिकार फोरम नेपालका नेता लालबाबु राउतले पार्टी एकताको सबै तयारी पूरा भएको र सोमबार घोषणा हुने बताए । नयाँ पार्टीको केन्द्रीय समिति एक सय ९६ सदस्यीय बनाइने गरी पद बाँडफाँड गरिएको छ । सहअध्यक्ष संघीय समाजवादीले पाउनेछ । त्यस्तै, पाँच उपाध्यक्षमा फोरम र संघीय समाजवादीबाट दुईरदुई र खस समावेशी राष्ट्रिय पार्टीबाट एक बनाइनेछ । महासचिव पद फोरमले लिनेछ । दुई उपमहासचिव पद फोरम र समाजवादीले एकरएक लिने भएका छन् । सहअध्यक्षमा संघीय समाजवादीले राजेन्द्र श्रेष्ठलाई पठाउने लगभग पक्का भएको छ । सहमतिअनुसार तीन सचिवमा फोरम, समाजवादी र खस समावेशीले एक एक राख्नेछन् ।
कोषाध्यक्ष फोरमको भागमा परेको छ । एकता घोषणापूर्व सबै पार्टीले आ–आफ्नो भागमा परेका पदका लागि नेताहरू सिफारिस गर्नेछन् । एक सय ९६ सदस्यीय केन्द्रीय समितिमा फोरमका ९१, समाजवादीका ९० र खस समावेशी पार्टीका १५ सदस्य हुनेछन् ।
प्रतिक्रिया